|

विराटनगर : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषय अब बन्द भइसकेको बताएका छन्।

कोइरालाले आज (बुधबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानीमा यस्तो बताएका हुन्।

उनले पत्रकारले नभएको कुरा लेखेर बिगार्न खोजेको आरोप समेत लगाए। उनले विश्वासको मतसम्बन्धी समाचारमा आए जसरी कुरा नउठेको उनले दावी गरे। ‘जसरी अखबारमा समाचार आयो, त्यसरी कुरा उठेको होइन। मैले बोलेकै थिइनँ। त्यो दिन अर्को दिन बोल्ने भनेर बैठक स्थगित भएको हो।

उनले भने, ‘अरू साथीहरूले पनि बोल्नु भएन र गगनजीले पनि बोल्नु भएको थिएन’, उनले पत्रकारतर्फ इंगित गर्दै मिर्च मसला बनाउन खोजेको आरोप लगाए।

‘एउटा कुरा के बुझ्नुहोस् भने तपाईंहरू मिर्च मसला बनाएर बिगार्दै हुनुहुन्छ।’ उनले पत्रकारतर्फ इसारा गर्दै भने, ‘मैले बुझेको त्यही हो। बैठकमा साथीहरूले आफ्ना कुरा र विचार राख्नु भयो। शेखरले गगनले भने भनेर मिडियामा लेखेको छ। त्यो गलत हो।’

उनले राष्ट्रपतिको चुनाव सहमतिबाट जाने सम्भावना कम देखिएको बताउँदै नेपाली काँग्रेसले उम्मेदवार नतोकेको भए पनि बाहिर चर्चामा दुईजना साथीहरूको आएको बताए। उनले भने, ‘अब हेरौं, यसमा अरू दलहरूसँग पनि हामी छलफल गर्दै छौं।’

उनले बजारमा आएको हल्ला जस्तो आएजस्तो डाक्टर बाबुराम भट्टराईलाई राष्ट्रपतिमा काँग्रेसले सहयोग नगर्ने बताउँदै नेपाली काँग्रेसले आफ्नो उम्मेदवार उठाउने दाबी गरे। काँग्रेसले बाबुरामलाई किन समर्थन गर्ने भन्ने कुरा आफूले नबुझेको बताए।

उनले वामपन्थीको प्रधानमन्त्री, वामपन्थीको उच्चस्तरीय संयन्त्रको अध्यक्ष अनि वामपन्थी राष्ट्रपति दिने हो र काँग्रेसले स्वीकार गर्ने हो भने देशलाई कस्तो बनाउन खोजेको? भन्दै उनले प्रश्न गरे। उनले नेपाली काँग्रेसले राष्ट्रपति उम्मेदवार दिने बताउँदै भने, ‘त्यसलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्छौं। होइन भने चुनाव लड्छौं।’

उनले आफूहरू प्रतिपक्षमा रहेको बताउँदै प्रतिपक्षकै भूमिका खेल्ने र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ रहेको बताए। उनले प्रतिपक्षले कुनै पनि वेला सरकार गिराउने क्षमता राख्नुपर्ने बताउँदै भने, ‘हामीले सरकार बनाउनुपर्छ, त्यही हो नि! विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको।’

उनले मंगलबार संसद् भवनसामु आत्मदाह गरेको विषयलाई गम्भीर भएर लिनुपर्ने समेत बताए।

व्यक्तिगत घटनाजस्तो लिएर अगाडि बढ्दा झनै खतरनाक संकेत देखिरहेको बताउँदै कोइरालाले राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था कुनै पनि विषयमा आफूहरू ठिक ठाउँबाट नहिँडेको बताए।

उनले भने, ‘त्यसकारण यो जुन घटना भयो अत्यन्त दुःखदायी घटना हो। देख्दा व्यक्तिगत जस्तो लाग्ला तर यसले देश कता जाँदै छ भन्ने कुरा देखाउँछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.