|

सुर्खेत  : कर्णाली प्रदेशको जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीले कार्यालयमै नटेकी तलब भत्ता बुझ्ने गरेको खुलासा भएको छ।

अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलब भत्ता बुझ्ने गरेको पाइएको हो। जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गएको मंसिर २९ गतेदेखि कार्यालयमा छैनन्।

उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौंमा छन्। काठमाडौं बसे पनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलब भत्ता खाँदै आएका छन्।

गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन्। पछिल्लोपटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएको उनी हाजिर गरेर गएको स्वास्थ्यकर्मीहरू नै बताउँछन्।

 मंसिरपछि उनी कार्यालयमा फर्किएका छैनन्। हाजिरी रजिष्टरमा २०७९ साल मंसिर २९ गतेसम्म हाजिर गरेका छन्। तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलब भत्ता बुझाएको छ।

कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ। स्थानीयहरूका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिले लिन्छन्। कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौँमा बसेको र गाउँपालिकाबाट सेवा सुविधा लिँदै आएको जनप्रतिनिधिहरू बताउँछन्।

जुनीचाँदे गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा छन्। दुवैजना अध्ययनका लागि सुर्खेत झरेका हुन्। उनीहरूलाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो।

उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिर गरेका छैनन्। हाजिर नगरेपनि नियमित रुपमा सेवा सुविधा लिँदै आएका छन्।

सोही गाउँपालिका डाँडाकोट स्वास्थ्य शाखाका डाक्टर हरिबहादुर शाही पनि सुर्खेत पुगेका छन्। उनलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको हो। सुर्खेत बसेर पढे पनि स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित रुपमा तलब भत्ता खाँदै आएको गाउँपालिकाको उच्च स्रोतले जनाएको छ।

उल्लेखित घटना केही प्रतिनिधि पात्र मात्रै हुन्। जुनीचाँदेका पावरवाला अधिकांश कर्मचारीहरू सुर्खेत, काठमाडौँ लगायतका सहरमा छन्। अध्ययनका लागि सहर पसेका कर्मचारीहरूले भने गाउँपालिकाबाट नियमित तलब भत्ता लिँदै आएको गाउँपालिकाको स्रोतले बताएको छ।

जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारीहरू अध्ययनका लागि सुर्खेत, काठमाडौं पुगेका हुन्।

पावरवाला कर्मचारीहरू वर्षको दुइदेखि चारपटक मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरू पोख्छन्।

पालिकाका विभिन्न २२ वटा स्वास्थ्य संस्थाहरूमा करार स्वास्थ्यकर्मी ६६ जना कर्मचारीहरू कार्यरत छन्। ती कर्मचारीमध्ये दर्जनौँ कर्मचारीहरूले काम नै नगरी गाउँपालिकाबाट तलब र भत्ता बुझ्ने गरेका हुन्।

गाउँमै भएका केही कर्मचारी कार्यालय नियमित जाँदैनन्, केही कर्मचारी भने सुर्खेत, काठमाडौँमा बसेर अध्ययन गर्दै आएका छन्। नियमित कार्यालयमा नजाने कार्मचारीहरूलाई भने गाउँपालिकाले नियमित रुपमा सेवा सुविधा दिने गरेका जनप्रतिनिधिहरूनै स्वीकार गर्छन्।

यता, स्वास्थ्य संस्थाहरूलाई चुस्तदुस्त बनाउनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनैपनि कर्मचारीले बिदामा वा अध्ययनमा नगएको दाबी गरेका छन्। केही कर्मचारीहरू काजमा अन्यत्र गएपनि अध्ययन र विदामा कुनै कर्मचारी नगएको बताउँछन्।

उनी आफैँ गाउँपालिकाको कामको लागि भन्दै काठमाडौंमा छन्।

 स्वास्थ्य संस्थाको समग्र नेतृत्व स्वास्थ्य शाखा सह–संयोजक योज्ञेश्वर बस्नेतले हेर्दै आएका छन्। बस्नेत आफैँले सबै स्वास्थ्य संस्थामा पुगेर कर्मचारीको अवस्था अध्ययन, अनुगमन गरेका थिए। उनी अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए।

सोही समयमा कर्मचारीहरूले एकैपटक महिनादिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधिहरू बताउँछन्। कर्मचारीहरू उपस्थित भए-नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधिहरू बताउँछन्।

जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेत, वडा ३ का वडाध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताए।

जानकारी नदिएर आफूखुसी कर्मचारीहरु जहाँ मन लागे त्यही जाने गरेको उनीहरुको गुनासो छ।

बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी

गाउँपालिकाले सञ्चालन गर्दै आएको बा१४च ८९७२ नम्बरको एम्बुलेन्स सात महिनदेखि बन्द भएको छ। एम्बुलेन्समा समस्या आएपछि सात महिनादेखि काम नगर्ने भएको हो। 

सरकारी नम्बर प्लेटसमेत राखिएको उक्त एम्बुलेन्स बिग्रिएको सात महिना सम्मा सरोकारवाला निकाय मौन रहेको बताएको छ।

गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले भने पुरानो एम्बुलेन्स खरिद गरेका कारण पटक–पटक बिग्रने गरेको बताए।

एम्बुलेन्स खरिदमै घोटाला भएकोले तत्काल छानबिन गर्न पहल गर्ने उनले बताए। एम्बुलेन्स निकै पुरानो भएका कारण अब कवाडमा बिक्री गर्ने तयारी गरेको छ।  यस्तै ४ वर्ष पहिला जिल्ला समन्वय समितिबाट गाउँपालिकाले ल्याएको गाडी पनि बिग्रेर थन्काइएको छ। सो गाडी सुर्खेतमा थन्काएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.