|

धनगढी  : नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता डा भीम रावल र सुदूरपश्चिम प्रदेश सरकारका  मुख्यमन्त्री राजेन्द्रसिंह रावलको जम्काभेट भएको छ। बिहीबार धनगढी विमानस्थलमा रावलद्वको जम्काभेट भएको हो।

भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे  जिज्ञाशा राखेका छन्। मुख्यमन्त्री रावल आज काठमाडौँबाट धनगढी आइपुगेका छन्। सोही क्रममा नेता रावलसँग धनगढी विमानस्थलको विशिष्ट कक्षमा उनीहरुबीच भेटघाट र बातचित पनि भएको छ।

 जम्काभेटमा रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिदैहुनुहुन्छ? भनेर प्रश्न गरेका थिए। त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताएका छन्।

यस्तै, उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको कुरा पनि प्रकट गरेका थिए। गृहजिल्ला अछाम पुगेर श्रीएयरलाइन्सको जहाजमार्फत काठमाडौँतर्फ फर्किरहेका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका छन्।

विशेषगरी बाढी पहिरो प्रभावितहरुका लागि राहतको विषयमा केन्द्रित भएर प्रदेश सरकारबाट गर्न सकिने कामका लागि अनुरोध गरेका थिए।

‘अघिल्लो वर्षको बाढीले अछाममा ठूलो क्षति भएको छ। त्यो क्षतिबारे जानकारी गराएर अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,’ रावलले भने, ‘तर अहिलेसम्म समस्या सामाधान गर्न खासै पहल भएको छैन। तपाई आउनुभएको छ। यो कुरालाई प्राथमिकता दिनुहोला।’

जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने बताएका थिए। नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत लिन बाँकी छ। उनले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

उनी निर्णायक नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने मुडमा छन्। सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित मुख्यमन्त्री रावल काठमाडौं गएका थिए।

त्यसक्रममा रावलले काठमाडौँमा सत्तरुढ गठबन्धनका शिर्ष नेताहरुबीच भेटघाट गरेका थिए। उनले नेकपा एमालेका अध्यक्षलगायत प्रधानमन्त्रीसँग भेट गरेको उनको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.