|

रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नं–१ बलेरीस्थित बागमती नदीको बगर यतिवेला हराभरा देखिन्छ। बागमतीको बगरमा गहुँ र मकै खेती गरिएकाले हराभरा देखिएको हो।

बागमतीको बगरमा करिब ८५ बिघामा खेती गरिएको छ। बगरमा काँक्रा, फर्सी, तरबुजा, खुर्सानी, लौका, करेला, धान, गहुँ, मकैलगायतका बाली स्थानीयले उब्जाउने गरेका छन्। यतिवेला सो क्षेत्रमा किसानहरूले मकै र गहुँ बाली लगाएका छन्।

करिब १ बिघा मकै खेती गरेका वृन्दावन-१ का गौरीशंकर पटेलले भने, ‘शुरुमा खेती गर्न धेरै मेहनत गर्नु पर्‍यो। अहिले भने राम्रो उत्पादन भइरहेको छ।’ पटेलका अनुसार बगरमा प्रतिकठ्ठा ३ देखि ४ क्विन्टल र गहुँ डेढदेखि २ क्विन्टलसम्म उत्पादन हुने गरेको छ।

शुरुशुरुमा चासो नदिनेहरू पनि अहिले बगर खेतीमा आकर्षित भएका छन्। शुरुमा सिँचाइको सुविधा नहुँदा बगरमा खेती हडपेर मात्र छाडेकाहरूले पछिल्लो समय सिँचाइ हुने भएपछि बगर खेतीमा आकर्षित भएको वृन्दावन जल उपभोक्ता समितिका अध्यक्ष मौजेलाल पटेलले बताए।

सो जमिन ऐलानी भएकाले त्यहाँ गरिबमात्र नभएर धनीमानीहरूले पनि जग्गा हडपेर खेती किसानी गर्ने गरेको स्थानीय चुनचुन पटेलले बताए। बागमतीको बगर खेती फस्टाउँदै गएपछि अहिले जिल्लाका अधिकांश नदी र खोलाका बगरमा तरकारी खेती भइरहेको छ।

राम्रो आम्दानी हुने भएपछि किसानहरू बगर खेतीतर्फ आकर्षित भएको कृषि प्राविधिकहरू बताउँछन्। यता किसानले कात्तिक–मंसिरमा बगरमा लगाइने तरकारी फागुनदेखि बिक्री गर्न सकिने बताउँछन्।

सिँचाइ र मलखादमा ध्यान दिन सके बगरमा राम्रो तरकारी फलाउन सकिने बगरमा खेती गरिरहेका किसान रामदेव सहनीले बताए। असारसम्मै बगरमा तरकारी फलाउन सकिने उनले बताए। नदी, खोलानजिकै हुने भएकाले सिँचाइको पनि खासै समस्या नहुने उनको भनाइ छ।

नदी, खोलाका किनारामा वर्षामा बाढीले बगाएर ल्याएको मलिलो बलौटे माटो खरबुजा, काँक्रा, फर्सी, लौका, करेला, खुर्सानी, टमाटरलगायत विभिन्न किसिमका तरकारी उत्पादनका लागि उर्वर हुने कृषि प्राविधिकहरू बताउँछन्।

बगरमा उत्पादन भएको तरकारी स्थानीय बजारसँगै हेटौंडा, नारायणगढ, काठमाडौंलगायत शहरसम्म पठाइने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.