|

बागलुङ : दैनिक हजारौँ मानिसहरुको आवतजावत हुने गलकोट बजारमा बसपार्कको अभाव खड्केको छ। बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ। बिस्तारै विकासले गति दिँदै गएको यस बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ।

भौगोलिक हिसाबले पछाडि रहे पनि गलकोट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीचबाट गएपछि विकासका संभावनाका धेरै ढोका खुलेका छन्। राजमार्गका कारण छोटो समयमै अनपेक्षित रुपमा विकास भएपछि यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने देखिएको छ। दैनिकी सयौँ साना तथा ठूला सवारीसाधन व्यवस्थापन गर्न निकै चुनौती छ।

दिनदिनै अव्यवस्थित रुपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ। सबैभन्दा बढी चुनौती त पार्किङमा छ। मध्यपहाडी लोकमार्गले जोडिएपछि शहरका रुपमा विकास भएका गलकोटमा ठूला–ठूला घर भवन निर्माण भइरहेका छन्।

गलकोटमा तीव्र रुपमा बजार बिस्तार हुँदा बसपार्कको अति आवश्यक परेको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए।

बजार क्षेत्रमा भएको खाली जग्गामा पनि तीव्र रुपमा बस्ती निर्माण भएपछि बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न समस्या भएको भण्डारीको भनाई छ। बस पार्कका लागि जग्गा खोजी भइरहेको उनले बताए। जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थापन गरिएको भण्डारी बताउँछन्।

‘पछिल्लो दशक गलकोटको जनघनत्व बढी भयो, सवारीसाधन पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खास्सै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ‚’ प्रवक्ता भण्डारीले भने।

बजार व्यवस्थित गराउन बसपार्कका लागि जग्गा व्यवस्थापन गर्ने प्रदेश र संघ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गर्ने भण्डारीले बताए। बजार साँघुरो र त्यहीमाथि सवारीसाधनको चाप बढ्दा व्यवस्थापनमा समस्या थपिएको उनी बताउँछन्।

प्रवक्ता भण्डारी भन्छन्‚ ‘गलकोट बजार पहिलेदेखि नै साँघुरो थियो, लोकमार्गले जोडिएपछि झन् घर, भवन थपिए। व्यापार व्यवसाय बढ्यो, सवारी तथा मालवाहक गाडीहरु पनि थपिए। त्यसले गर्दा अहिले बजारमा पार्किङ व्यवस्थापनमा चुनौती थपिएको छ, सानो बजारमा ठूला गाडी भित्रिएपछि व्यवस्थापनमा समस्या भयो।’

दैनिक गलकोट बजार भएर लोकमार्गमा सयौँ सवारीसाधन गुड्ने र गाउँबाट बजारमा आउने गाडीहरुले दुर्घटना जोखिम बढाएको भन्दै अहिले बजार क्षेत्रको सडकलाई एकतर्फी संचालन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए।

भण्डारीले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारीसाधनलाई खुल्ला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताए।

गलकोट बजार पनि एक दशकअगाडि सुनसान रहेकोमा अहिले भिडभाड बढेको स्थानीय बताउँछन्। दरमखोलाको तीरमा रहेको गलकोट बजार निकै साँघुरो हुँदा व्यापार व्यवसाय गर्न समस्या भएको स्थानीय व्यवसायी छविलाल शर्माले गुनासो पोखे। उनले दिन प्रतिदिन गाडी र मान्छेको चाप बढ्दै गएको र बजार अस्तव्यस्त बनेको बताए।

शर्मा भन्छन्‚ ‘गलकोट बजारमा व्यवसाय गर्न समस्या हुँदै गएको छ, बजार व्यवस्थापन पनि राम्रोसँग हुन सकेको छैन। लोकमार्गमा चल्ने र यहाँबाट पोखरा, काठमाडौँ, बुटवल जाने गाडीको भिड उस्तै हुन्छ, अझ गाउँबाट दिनदिनै मान्छे ल्याउने र सामान बोक्ने गाडीहरुले बजार भद्रगोल भएको छ। गाडी आएर पसल अगाडि रोकिन्छ, गाडीले पसलै छेकेपछि कसरी व्यापार हुन्थ्यो र?’

शर्माले सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा एउटा बसपार्क आवश्यक रहेको बताए। गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले बजार भरिएको उनको भनाई छ।

बढदो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौं चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको उनी बताउँछन्।

‘आजभन्दा ८ वर्षपछाडि फर्केर हेर्दा गलकोटको अवस्था यस्तो थिएन, सुनसान थियो। सामान्य पसल र केही घरहरु मात्रै थिए, अहिले तीव्र बजारीकरण भएको छ। गाउँबाट मान्छेहरु बसाइँसराइ गरेर यहीँ आउन थाले, विकासले गर्दा यहाँ जनसंख्या बढ्यो। त्यसकारण गलकोटमा बसपार्कको अति आवश्यक छ,’ शर्मा भन्छन्‚ ‘सानो ठाउँ छ, धेरै मान्छे र सवारीसाधन छन्, बजारको जता हेरे पनि गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ।’

गाडीचालक हरिबहादुर खड्काले बजारमा पार्किङको व्यवस्था नहुँदा यात्रु र चालकले सास्ती खेप्नु परेको बताए। उनले बजार सानो भए पनि गाडीको चापले गर्दा सामान अनलोड गर्न र यात्रु खोज्न समस्या भइरहेको बताए। बजारको निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्ने खड्काको भनाई छ।

उनी भन्छन्‚ ‘यो बजारमा गाडी कहाँ पार्किङ गर्ने भन्ने चिन्ता हुन्छ, बजारमा धेरै गाडी हुन्छन्। कसैको पसल अगाडि लगेर राख्यो गाली दिन्छन्, वरपर राख्ने ठाउँ छैन। सरकारले यहाँ एउटा बसपार्क बनाईइदिए हामीजस्ता चालकलाई सजिलो हुन्थ्यो, अहिले एकातिर प्यासेन्जर, अर्कातिर गाडी र सामान हुन्छन्, निकै समस्या छ यहाँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.