एक वर्षमै १ सय ६३ जना रोगीको अंगभंग

|

काठमाडौं: यस वर्ष थप पाँच जिल्लामा कुष्ठरोग भेटिएको छ। हाल पहाडी जिल्ला अछामसहित तराईका विभिन्न १५ जिल्लामा कुष्ठरोगका संक्रमण रहेको इपिडिमियोलजी तथा रोग महाशाखाले जनाएको छ।

गत आव ०७७/७८ मा ११ जिल्लामा सीमित यो रोग भेटिएका ५ जिल्ला थपिएर यस वर्ष १६ जिल्लामा भेटिएको हो। अहिले अछामसहित तराईका जिल्लाहरू झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कुष्ठरोगका बिरामी छन्।

यस वर्ष ती जिल्लाका २ हजार २८५ जनामा रोग देखिएको महाशाखाअन्तर्गतको कुष्ठरोग शाखा प्रमुख तथा छाला तथा कुष्ठरोग विषेशज्ञ डा. प्रसन्न नापिकले जानकारी दिए।
उनका अनुसार संक्रमण भेटिएकामध्ये ७३ जना बालबालिका छन् भने १६३ जनाको कुष्ठरोगकै कारण अंगभंग भएको छ। अहिले नेपालमा प्रत्येक १० हजार व्यक्तिमध्ये १ जनामा कुष्ठरोग भेटिने गरेको छ। 

द लेप्रोसी मिसन नेपालले ललितपुरस्थित आनन्दवन अस्पतालमा शुक्रबार आयोजना गरेको कुष्ठरोगसम्बन्धी अन्तरक्रियामा डाक्टर नापिकले गत वर्षको तुलनामा केही संक्रमित बढे पनि रोग अझै पनि निवारणकै स्थितिमा रहेको बताए।

गत वर्षमा कोरोना महामारी र डेँगु संक्रमण रोकथाम तथा नियन्त्रणमा सम्पूर्ण शक्ति केन्द्रित हुँदा कुष्ठरोग ओझेलमा परेको जिकिर गर्दै अबका ५ वर्षभित्र कुष्ठरोगलाई निवारण गर्ने गरी परीक्षण तीव्र पार्दै बिरामीलाई उपचारको दायरामा ल्याइने उनको भनाई छ। 

सर्वाधिक प्रभावित तराई

कुष्ठरोग नेपालका अधिकांश तराईका जिल्लामा फैलिएको तथ्यांकले देखाएको छ। बस्ती संरचना तथा छिमेकी मुलुक भारतसँग खुला सिमानाका कारण तराईका जिल्लामा कुष्ठका बढी बिरामी भेटिएको डा.नापिकको तर्क छ।

‘१०/१५ घर एकै ठाउँमा हुने, एकै परिवारमा धेरै सदस्य हुनु र भारतसँग सीमा जोडिएकाले त्यस क्षेत्रमा संक्रमित बढी भएका हुन्‚’ कुष्ठरोग जुनसुकै व्यक्तिलाई पनि लाग्न सक्ने स्पष्ट पार्दै उनले भने, ‘नेपालमा वर्षेनि २ देखि ३ हजार नयाँ कुष्ठरोगी भेटिँदा भारतमा ७० हजारभन्दा बढीमा कुष्ठरोग हुने गरेको छ। सिमाना खुला छ त्यसैले तराई क्षेत्रमा बढी बिरामी भएको हुनसक्छ।’

परीक्षणको दायरा बढाइएकाले अर्को वर्ष रोगीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। उनले भविष्यमा कुष्ठरोग निवारणका लागि अहिल्यैदेखि स्कुले बालबालिकालाई यसबारे सचेत गराउनुपर्नेमा जोड दिए।

यो रोग लागेमा मानिसको अंगभंग नै हुनसक्ने भएकाले त्यसको जटिलतालाई ध्यान राखेर शंका लागेमा तुरुन्तै नजिकैको अस्पतालमा परीक्षण गराउन पनि चिकित्सकले सुझाव दिएका छन्।

आगामी आइतबार देशभर ७० औं विश्व कुष्ठरोग दिवस मनाईँदैछ। यस वर्ष सरकारले “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं" नारा तय गरेको छ।

यसै सन्दर्भमा लेप्रोसी मिसनको आयोजना तथा ललितपुरको गोदावरी नगरपालिकाको सह-आयोजनामा शुक्रबार शान्तिपूर्ण वाकाथनसमेत गरेको छ। 

वाकाथनमा सहभागीले ‘हामीप्रतिको आदर र सम्मान सभ्य समाजको पहिचान, कुष्ठ प्रभावितलाई आत्मसम्मान सामुदायिक विकासको पहिचान, कुष्ठ प्रभावितलाई माया होइन अवसर प्रदान गरौं जस्ता नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो। विभिन्न विद्यालयका विद्यार्थी‚ शिक्षक, जनप्रतिनिधि, स्वयमसेविका तथा समाजसेवीहरूको सहभागिता वाकाथनमा थियो।

गोदावरी नगरपालिका वडा नम्बर ५ को प्राङ्गणबाट शुरु भएको वाकाथन आनन्दवन अस्पताल परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै लेप्रोसी मिसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले कुष्ठरोगलाई घृणाको रुपमा हेर्ने समयमा पनि अस्पताल निर्माणमा स्थान दिएको ललितपुरलाई धन्यवाद ज्ञापन गरे।

उनले अस्पताल निर्माणका लागि कुनै पनि जिल्लामा ठाउँ नदिएको अवस्थामा ललितपुर जिल्ला र गोदावरी नगरपालिकाले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। 

आनन्दवन अस्पताल विशेषतः कुष्ठ रोगका बिरामीको उपचार गरिने अस्पताल हो। अस्पतालले थप सेवा पनि दिइरहेको र सेवा विस्तारका लागि ट्रमा सेन्टरसमेत निर्माणको क्रममा रहेको अस्पतालले जनाएको छ।

हाल अस्पतालमा, छाला, हाडजोर्नीसम्बन्धी उपचारसमेत हुँदै आएको छ। ट्रमा सेन्टरमा मातृशिशु‚ बालबालिका, दन्तचिकित्सा, आइसियू भवन विस्तार गरिनेछ।

के हो कुष्ठरोग?

कुष्ठरोग मानिसको छाला र स्नायु (नशा) मा प्रभाव पार्ने वैदिककालदेखिकै पुरानो रोग हो। यो रोग ढिलो गरी लाग्ने र विस्तारै निको हुने रोग भए पनि यो रोगले मानिस मरिहाल्देन। कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो।

समयमा नै यो रोग पत्ता लगाई नियमित उपचार गरे पूरै निको हुन्छ र अङ्गभङ्ग पनि हुँदैन तर समयमा उपचार नगराए अङ्गभङ्ग र विकलाङ्ग हुन्छ। यस रोगलाई कुष्ठि, कोढ, महारोग, सुनबैरि आदि नामले पनि चिनिन्छ र मानिसहरू यस रोगदेखि डराउँछन्। डराउनुको मुख्य कारण अङ्गभङ्ग र विकलाङ्ग हुनु हो। 

कुष्ठरोग लाग्नुको कारण

यो रोग किटाणुबाट हुने अरु सरुवा रोगजस्तै हाम्रो आँखाले देख्न नसकिने स–साना किटाणुको कारणले गर्दा लाग्छ। स्वस्थ्य मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि त्यस मानिसको शरीरको रोग निरोधक शक्तिले ती किटाणु मार्न सकेन भने यो रोग लाग्छ।

कुष्ठरोग पूर्वजन्मको फलको परिणाम, देवताको श्राप, नाग लागेर लाग्ने रोग वा वंशानुगत रोग होइन। यो रोग खानपानको कारण (जस्तैः माछा/मासु र दूधसँग खानाले वा मासुमा आलु मिसाएर खानाले) पनि लाग्दैन।

कुष्ठरोग सर्ने तरीका

हरेक मानिसको शरीरमा कुनै पनि सरुवा रोगविरुद्ध लड्ने शक्ति हुन्छ। त्यस्तो शक्तिले शरीरभित्र पसेका रोगका किटाणु नष्ट पारी रोग लाग्नबाट बचाउँछ। अध्ययन अनुसन्धानबाट के थाहा पाइएको छ भने संसारका ९९ प्रतिशत मान्छेमा कुष्ठरोगसँग लड्ने शक्ति बलियो हुन्छ।

अर्थात् १०० जना मानिसको शरीरमा कुष्ठरोगका किटाणु प्रवेश गरेमा १ जनालाई मात्र यो रोग लाग्न सक्छ। यो रोग हातखुट्टामा भएको घाउको पीपबाट, रोगीको दिशा—पिसाबबाट र रोगीले प्रयोग गरेको भाँडाकुँडा वा कपडाको पुनः प्रयोग गर्दा सर्दैन।

रोगीलाइ लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ्य मानिसलाई टोक्दा वा पतिपत्नीबीच हुने शारीरिक सम्पर्कबाट पनि यो रोग सर्दैन। यदि गर्भवती आमालाई रोग लागेको भए तापनि बच्चा पेटमा हुन्जेल यो रोग सर्दैन अर्थात् रोगी आमाबाट पनि बच्चा जन्मदा स्वस्थ्य नै हुन्छ। 

सबै कुष्ठरोग लागेका व्यक्तिबाट अरुलाई यो रोग सर्दैन। यो रोग धेरै किटाणु भएका र उपचार शुरु नगरेका कुष्ठरोगी व्यक्तिहरूबाट मात्र अरुलाई सर्न सक्छ। यो रोग सर्ने तरिका भनेको श्वास प्रश्वासबाट सर्छ।

तसर्थ त्यस्ता धेरै किटाणु भएको कुष्ठरोग लागेको र उपचार नलिएको रोगीले स्वास फेर्दा वा हाछ्युँ गर्दा कुष्ठरोगका किटाणु रोगीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले स्वास लिँदा उसको शरीरमा प्रवेश गर्छन्। यस तरिकाबाट मात्र यो रोग सर्छ।

कुष्ठरोगको चिह्न र लक्षण

कुष्ठरोग लाग्दा मान्छेको शरीरमा रोगका केही लक्षण तथा चिह्न देखा पर्छन्। तर एउटै व्यक्तिमा ती सबै चिह्न तथा लक्षण देखा नपर्न पनि सक्छ। तसर्थ तल उल्लेख भएका चिह्न तथा लक्षणमध्ये कुनै पनि एक चिह्न तथा लक्षण देखिए कुष्ठरोग पो हो कि भनी शंका गर्नुपर्छ र उपचारका लागि (कुष्ठ हो कि होइन छुट्याउन)  नजिकको स्वास्थ्य संस्था (हेल्थपोष्ट वा अस्पताल) मा पठाउनुपर्छ।

कुष्ठरोग पो हो कि भनेर कसरी शंका गर्ने?

 छालामा रातोे वा फुस्रो रंगको दाग आएमा
 अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा
 अनुहार वा शरीरको अन्य भागमा गिर्खा देखा परेमा
 आँखीभौं झरेमा वा पातलो भएमा
 हातखुट्टाका औंलाहरू बाङ्गो (खुम्चिएको) भएमा
 हात वा खुट्टा लत्रिएमा
 हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा 
 हत्केलाको मांशपेसीहरु सुकेर गएमा
 नाक थेप्चो भएर गएमा
 लगातार हातगोडाहरु झमझम गरिरहेमा
 हातगोडा पोल्ने र निदाएको जस्तो भएमा
 अनुहारतिर कमिला हिँडेको जस्तो रगरग गरेमा
 हातका औंलाहरू विस्तारै कमजोर हुँदै गएमा (साधारण काम जस्तैः लेख्दा कलम नसमातिने‚ टाँक लगाउन, 
चौबन्दीको तुना बाँध्न नसकिने)
 खुट्टा कमजोर हुँदै गएमा (हिँडदा चप्पल खुट्टामा नअडिनु)

कुष्ठरोगको प्रकार र उपचार

उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ। रोगको वर्गीकरणको कारण उपचारको निश्चितत्ता गर्न र रोगीहरूमा भविष्यमा देखा पर्ने समस्याहरुको अनुमान तथा योजना बनाउनु हो।

कुष्ठरोगको वर्गीकरण रोगीको शरीरभित्र भएको किटाणुको संख्याको आधारमा गरिन्छ। धेरै किटाणुको संख्या भएमा शरीरभरि यसको चिह्न तथा लक्षण देखिन्छ र किटाणुको संख्या थोरै भएमा निश्चित एक वा दुई भागमा मात्र चिह्न र लक्षण देखा पर्छन्।

धेरै सर्ने प्रकारको कुष्ठरोग 

सर्ने प्रकारको कुष्ठरोग भन्नासाथ छुट्टै प्रकारका किटाणु लाग्ने रोग होइन। कुनै कुनै मानिसमा कुष्टरोगसँग लड्न सक्ने शक्तिको कमी हुनाको कारणले कुष्ठरोगको किटाणुको संख्या अत्यधिक हुने भएकाले शरीरको सबै भागमा किटाणु फैलिन्छन् र शरीरभरि यसका चिह्न तथा लक्षण देखिन्छन् (जसमा, कानको लोती मोटो हुने, अनुहार फुल्ने र चिल्लो तथा चम्किलो थेप्चिएको नाकसमेत हुन्छ)।

यस्ता कुष्ठरोगीले श्वास फेर्दा मुख तथा नाकबाट कुष्ठरोगका किटाणु सजिलै बाहिर निस्कन सक्छन्, यिनै बाहिर निस्किएका किटाणु अर्को स्वस्थ्य मानिसले श्वास लिँदा शरीरमा प्रवेश गर्छन् र कुष्ठरोग सर्छ।

धेरै किटाणु भएको व्यक्तिलाई जतिसक्दो छिटो उपचारमा ल्याउन आवश्यक हुन्छ, अन्यथा समाजमा धेरै स्वस्थ्य व्यक्तिलाई रोग सारिदिन सक्छन्। यदि यस्तो धेरै सर्ने खालको कुष्ठ लागेको बिरामीले बहुऔषधी उपचारको एक मात्रा खानासाथ सो व्यक्तिबाट अरुलाई रोग सर्दैन।

यस्ता रोगी पूर्ण निको हुन १२ महिनासम्म लगातार बहुऔषधी उपचार प्रयोग गर्नुपर्ने हुन्छ। 

कम सर्ने कुष्ठरोग

धेरै सर्ने र कम सर्ने दुवै प्रकारको कुष्ठरोगका किटाणु एकै प्रकारका हुन्छन् । तर जुन व्यक्तिहरुलाई कम सर्ने प्रकारको रोग लागेको हुन्छ, तिनीहरुको शरीरमा कुष्ठरोगका किटाणुसँग लड्नसक्ने शक्ति धेरै हुन्छ।

यसै कारणले किटाणुको संख्या अत्यधिक हुन पाउँदैन र शरीरको सबै भागमा रोग फैलिन पाउँदैन निश्चित एक वा दुई भागमा मात्र फैलिने हुँदा रोगका चिह्न लक्षण पनि निश्चितमात्र देखा पर्छन्।

नाक, मुखबाट किटाणु बाहिर निस्कन नसक्ने हुँदा यस्ता बिरामीहरु समाजका निम्ति कम खतरा हुन्छन्, तर बिरामीका निम्ति भने अङ्गभङ्ग हुन सक्ने खतरा हुन्छ।
यस्ता थोरै किटाणु भएको व्यक्तिले जति सक्यो छिटो उपचार गराउनुपर्ने हुन्छ अन्यथा उसको अङ्गभङ्ग हुनसक्ने जोखिम रहन्छ। यस्तो कम सर्ने प्रकारको कुष्ठरोगीले लगातार ६ महिनासम्म उपचार गराउनुपर्ने हुन्छ। 

कुष्ठरोगीमा अङ्गभङ्ग हुने कारण

कुष्ठरोगको किटाणुले हाम्रो शरीरको प्रमुख दुई अङ्गमा असर गर्छ, त्यसमा पहिलो छाला हो।

जब छालामा असर गर्छ तब छालामा विभिन्न आकार र प्रकारका दाग, गिर्खा तथा चिल्लो र चम्किलो छाला देखापर्छ।

त्यस्तै गरेर दोश्रो अङ्ग स्नायु (नशा) हो। स्नायुमा कुष्ठरोगको किटाणुले असर गर्दा स्नायुबाट प्रभावित भाग झम्झम गर्न थाल्छ र किटाणुले स्नायु नै बिगारी दिन्छ (काम नलाग्ने बनाउँछ)। यस्तो भएपछि हाम्रो शरीरमा त्यो स्नायुको प्रभावित भागमा निम्न ३ क्षमता गुम्छ (हराउँछ)। 

(क) स्नायुमार्फत दिनुपर्ने स्पर्श शक्ति हराउँछ।

(ख) स्नायुमार्फत हातगोडालगायत चलाउनु पर्ने अङ्गहरु कमजोर, चल्न नसक्ने र बाङ्गो हुने हुन्छ।

(ग)  स्नायुको आफ्नो प्रभावित क्षेत्रमा पसिना निकाल्ने र हाम्रो छालालाई ओसिलो राख्ने काम बन्द हुन्छ। 

अङ्गभङ्गबाट बच्न र बचाउन सुरुको अवस्थामा कुष्ठरोगको किटाणुले असर गर्नासाथ प्रभावित हातखुट्टामा स्वयं हेरचाह गर्दा अङ्गभङ्ग हुनबाट जोगिन सकिन्छ। त्यसैगरि सुरु अवस्थामा रोग पत्ता लगाई नियमित उपचार गर्न सके अङ्गभङ्ग नभई सजिलै रोग निको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.