|

विराटनगर : कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटनामा चिकित्सक र स्वास्थ्यकर्मी दोषी नदेखिएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको थियो। अस्पताल प्रशासनलाई छानबिन समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरू ‘गम्भीर दोषी’ नदेखिएको समितिको निष्कर्ष छ।

अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानबिन समिति जीवित शिशुलाई मृत घोषणा गरिएको सम्बन्धमा छानबिन समिति गठन गरिएको थियो। सोही समितिले अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलाई प्रतिवेदन बुझाएका हुन्।

श्वासप्रश्वासमा समस्या भएर अस्पताल उपचार गराइरहेकी १७ दिनको शिशुलाई जीवितै रहेको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले गत बिहीबार बिहान मृत घोषणा गरेका थिए।

जीवित शिशुलाई मृत घोषणा गरेर गम्भीर लापरबाही गरेको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपातसमेत गरेका थिए।

घटनालगत्तै डा. प्रवीण झाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो। सो समितिले जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रतिवदेन नआउन्जेलसम्म कामकाजमा रोकसमेत लगाइएको  थियो।

अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै काममा रोक लगाइएको थियो ।

प्रतिवेदनको काम सकेर अस्पताललाई बुझाएका छौं

प्रतिवेदन बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले बताए। उनले मन्त्रालयले प्रतिवेदन हेरेपछि थप प्रक्रिया त्यहाँको निर्देशनअनुसार अगाडि बढ्ने बताए।

आकस्मिक शाखा खटिएका डा. यादव, पारामेडिक्स अफिसर अधिकारी र माझीको लापरवाही नदेखिएपछि शुक्रबारदेखि कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए।

प्रतिवेदनमा के छ?

‘शिशुलाई इमर्जेन्सी वार्डमा परीक्षण गर्दा अक्सिजनको लेभल एकदमै न्यून रहेकाले बच्चीको मुटुको चाल अन्त्यन्त कमजोर भएको उपचारमा संलग्न चिकित्सकले भनेको रहेछ। र चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाह संस्कारका लागि घर लगेको रहेछ‚’  प्रतिवेदनमा उल्लेख छ।

‘चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन्। अत्तालिएका आफन्तले बच्चाको मृत्यु भएको ठानेर तत्काल लिएर गएको’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत सबै पक्षको भनाइ समेटिएको छ। शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानबिन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी नेपालले जानकारी दिए।

चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाह संस्कार गर्न घर पुर्‍याएका थिए। घर पुगेको ५ मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले प्रतिवेदन तयार पार्दा गोल्डेन अस्पतालका बालरोग विशेषज्ञ डा.सतिश यादवको भनाइ पनि समावेश गरेको कोशी अस्पतालका सूचना अधिकारी नेपालले बताए।

उनका अनुसार गोल्डेन अस्पतालका चिकित्सकले शिशुको ढुकढुकी मात्र बाँकी रहेको बताएका थिए। सबैको धारणाअनुसार पनि उपचारमा संलग्न कोशीका चिकित्सकको गम्भीर दोष नदेखिएको स्पष्ट  देखिएको उनले बताए।

शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायत समस्या देखिएका थिए। आगामी दिनमा भने चिकित्सकले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।

उपचारको क्रममा रहेका ती शिशुको एक सातापछि मंगलबार बिहान साढे १० बजे मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.