|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमले आफूविरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाएकी छन्।

शुक्रवार स्वास्थ्य पत्रकार मञ्चले मन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आशय व्यक्त गरेकी हुन्।

दुईजना मन्त्रीहरूले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरू, सेवा विकेन्द्रीकरणका कुरा, दरबन्दीकाका जस्ता धेरै कुरा उठे पनि नराम्रो कामको मात्रै प्रकाशन गरेको भन्दै आक्रोश व्यक्त गरिन्।

राज्यमन्त्री कार्कीले सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका आफूले कुरा उठाए पनि त्यसको समाचार नबनेको तर रिबन काटेको समाचारलाई प्राथमिकता दिएको बताइन्।

उनले सत्य र सही सूचना प्रवाह गरेको खण्डमा मात्रै देशमा सुशासन कायम हुने बताइन्। माघको पहिलो साता वीर अस्पतालले शुरु गरेको ल्याब सेवा उद्घाटन कार्यक्रममा एउटै कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले सँगसँगै गरेका थिए। मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुईवटा अलग अलग रिबन काटेसँगै सामाजिक सञ्जालमा त्यसको विरोध भएको थियो।

उनले भनिन्‚ ‘वीर अस्पतालको क्याथ ल्याबको उद्घाटन थियो। हामीले त्यहाँ बसेर जानकारी लियौँ। सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका बारेमा हामीलाई जानकारी गराउनु भयो। त्यो बारेमा समाचारमा आएन त।’

उनले त्यो समाचारको महत्त्व बुझ्न आग्रह गरिन्। उनले भनिन्‚ ‘जनताले थाहा पाउनुपर्ने, बुझ्नुपर्ने स्वास्थ्य स्थितिको बारेमा र त्यो अस्पतालमा के पुगेको छ, छैन भन्ने विषयमा कुरा थियो। त्यसैले सत्य र सही सूचना प्रवाह गर्नुभयो भने हामीले चाहेको जस्तो सुशासन कायम हुन्छ।’

मन्त्री कार्कीले गत मंगलवार संसद् भवनबाहिर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयुमा भेट्न जाँदा आफूले स्वास्थ्यको प्रोटोकल नमिचेको बताइन्। मंगलवार साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पताल आचार्यको स्वास्थ्यस्थिति बुझ्न पुगेकी थिइन्। आचार्यलाई भेट्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मन्त्री कार्कीले स्वास्थ्यका प्रोटोकलको पूर्ण पालना नगरेको भन्दै विरोध भएको थियो।

उनले भनिन्‚ ‘प्रेम आचार्य एक व्यक्ति होइन, प्रतिनिधि पात्र हुनुहुन्छ, जसले देशलाई नै एउटा प्रश्न तेर्स्याएर आत्मदाह गर्नुभएको छ। उहाँलाई हामीले चाहेर पनि बचाउन सकेनौँ। उहाँ अस्पतालको आईसियु कक्षको शय्यामा रहिरहँदा हामी भित्रको मानवताले हामीलाई रोक्न सकेन। उहाँलाई त्यो स्थितिमा पुग्नबाट रोक्न नसके पनि अन्तिम घडीमा छटपटाइरहेको नागरिकलाई किन यसो गर्नुभयो भन्न सकेँ। म एउटा मानव, स्वास्थ्यकर्मी र सरकारको अंगको हैसियतले पुगेँ, त्यहाँ पुग्नु आवश्यक थियो। मानवताको प्रोटोकललाई टेकेर म त्यहाँ पुगेकी हुँ। अस्पतालमा अपनाउनुपर्ने कुनै प्रोटोकल हामीले मिचेका छैनौँ।’

राज्यमन्त्री कार्कीले कुनै पनि नागरिकले आर्थिक स्थिति कमजोर भएकै कारणले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुनपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले बीमालाई वैज्ञानिक ढंगबाट बिस्तार र लक्षित वर्गमा पुर्‍याउने गरी काम गरिरहेको बताइन्। स्वास्थ्य सेवालाई चुस्त बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइरहेको पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.