|

म्याग्दी : गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले पर्यटनको विकास गरी समृद्धिको ढोका खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेकपा माओवादी केन्द्र म्याग्दीले मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘गण्डकी प्रदेश पर्यटनको हब बन्न सक्छ, अघिल्लो सरकारले समेत समृद्धिको पहिलो आधार पर्यटनलाई नै मानेको थियो तर बजेट विनियोजनमा पर्यटन क्षेत्र ओझेलमा पर्‍यो, अहिले मैले नेतृत्व गरेको मन्त्रालयमा कुल बजेटको जम्मा ४ प्रतिशत मात्रै बजेट छ, अन्य क्षेत्र प्राथमिकतामा पर्दा पर्यटन र उद्योगको क्षेत्र उपेक्षामा परेको छ। यसको सन्दर्भमा आगामी बजेट निर्माणको चरणमा घनीभूत छलफल हुन्छ‚’ मन्त्री जुग्जालीले भने।

म्याग्दीमा धौलागिरि र अन्नपूर्ण चक्रीय पदमार्गसँगै अन्य आधा दर्जनभन्दा बढी हिमालका आधारशिविर पुग्ने पदमार्गमा पूर्वाधार निर्माण गरी अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसारको आवश्यकता रहेको र उनले गण्डकी प्रदेश सरकारले यसको उचित सम्बोधन गर्ने बताए।

विकासमा स्थानीय तहका प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर पूर्वाधारमा सडक र समृद्धिमा पर्यटनलाई जोड दिन सके नागरिकले विकासको अनुभूति गर्ने र जीवनस्तर सुधारमा सघाउने मन्त्री जुग्जालीको भनाई थियो।

शुक्रबार महारानीथानस्थित पाटी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितमा नवनियुक्त मन्त्रीलाई सम्मान कार्यक्रम गरिएको हो। 

जिल्ला इन्चार्ज गोविन्द पौडेलले राजनीतिज्ञसँग परामर्श लिएर जनताको काम गर्न मन्त्री जुग्जालीलाई आग्रह गरेका थिए। प्रदेशसभा सदस्य हरि भण्डारीले म्याग्दीको विकास र सशासनका लागि प्रदेशका मुख्यमन्त्री, मन्त्री, जिल्लाका अग्रज नेता तथा कर्मचारीहरूसँग समन्वय तथा छलफल गरेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.