|

दाङ : दाङको टरिगाउँ विमानस्थलमा सीता एयरले शुक्रबार दिउँसो परीक्षण उडान गर्ने भनेपछि एयरपोर्टमा तुलसीपुर उपमहानगरका जनप्रतिनिधि, तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवाला हातमा खाँदा र माला लिएर स्वागतका लागि उभिएका थिए।

दिउँसो १:१८ बजे नाइन एन-एजेएच कल साइनको सीता एयरको जहाज एयरपोर्टमा अवतरण गरेका थियो। दाङबाट काठमाडौँ नेपाल एयरलाइन्सले सेवा दिँदै आए पनि त्यो सेवा नियमित छैन।

दाङ-काठमाडौँ नेपाल एयरलाइन्सले हवाई सेवा दिँदै आए पनि नियमित र हवाई भाडा महँगो हुँदा यहाँका बासिन्दाले सेवा लिन नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ। शुक्रबार निजी हवाई कम्पनी सीता एयरले परीक्षण उडान गरेपछि यो सेवा नियमित हुने र हवाई भाडामा पनि कमी हुने विश्वास रहेको स्थानीय डिल्लीबहादुर रावतले बताए।

उनले भने, ‘तुलसीपुरमा विमानस्थल छ तर यहाँ जहाज नहुँदा हामीलाई नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ। यहाँबाट नियमित हवाई सेवा भए पनि सबैलाई यात्रामा सहज हुन्छ तर हवाई भाडामा पनि कमी हुनुपर्छ। नेपालगञ्ज, भैरहवाको भन्दा भाडा महँगो भएपछि यात्रुहरू उतै जान्छन्। उताको भन्दा केही बढी भए पनि हाल भएको भाडामा कमी भए यहाँ यात्रुहरू खोज्नुपर्ने अवस्था आउँदैन। दैनिक २ उडानसम्म हुनसक्छ।’

उनका अनुसार तुलसीपुरबाट नेपालगन्ज बसको भाडा ४ सय छ। नेपालगन्ज एयरपोर्टबाट काठमाडौँ ६ हजारसम्म पुगिन्छ तर यहाँबाट जाँदा ९-१० हजार लाग्छ। त्यसैले नेपालगन्ज र दाङको हवाइ दूरी लगभग उस्तै रहेको छ। उता ठूला जहाजले सेवा दिँदा भाडा सस्तो भए पनि यहाँबाट साना जहाजले सेवा दिँदा त्यहाँको भन्दा केही कम हुनुपर्ने उनको भनाइ थियो।

दाङमा हवाई सेवा नियमित नहुँदा दाङवासीहरू भैरहवा र नेपालगन्जबाट गइरहेको अवस्थामा सीता एयरले दाङबाट सेवा दिन तयार भएपछि सबैलाई सहज हुने अर्का स्थानीय एकराज आचार्यले बताए। उनले शुक्रबार परीक्षण उडान गरेको सीता एयरले नियमित उडान गर्नेमा आफूले विश्वास गरेको पनि बताए।

उनले भने, ‘म पनि सीता एयरको जहाजले परीक्षण गर्न लागेको सुनेर हेर्न आएको थिएँ। यहाँ भएको कुरा सुन्दा नियमित सेवा पाइन्छ जस्तो लागेको छ। भाडामा पनि कमी हुन्छ जस्तो लागेको छ। अरूभन्दा पनि हामीले हाम्रो ठाउँबाट नियमित जहाज चढेर काठमाडौँ जान पाउनुपर्छ भन्ने नै हो।’

उनले यहाँबाट नियमित हवाई सेवा नहुँदा आफू धेरै पटक नेपालसँग भैरहवाबाट सेवा लिएको पनि बताए। यसैगरी उनले यो एयरपोर्टमा साना जहाज मात्र नभई ठूला जहाज बस्न मिल्ने गरी विमानस्थलको विस्तार गर्नुपर्ने पनि बताए। पटक-पटक विमानस्थल विस्तारको कुरा उठे पनि अहिलेसम्म काम नहुँदा आफूहरू दुःखी भएको पनि बताए।

उनले भने, ‘दुनियाँमा कस्ता कस्ता ठाउँमा एयरपोर्ट सञ्चालनमा आएका छन् तर हाम्रो ठाउँमा अहिलेसम्म ठूलो एयरपोर्ट बन्न सकेको छैन। अब दाङबाट नेतृत्व गर्ने नेताहरूले ध्यान दिनुपर्छ।’

तुलसीपुरमा रहेको एयरपोर्टको स्तरोन्नति र नियमित उडानका लागि तुलसीपुर उद्योग वाणिज्य संघले लामो समयदेखि निरन्तर रूपमा लागिपरेको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले बताए।

उनले आफूहरूले केही समयअघि निजी हवाई सेवा समिट एयरसँग सम्झौता गरेर ९ महिनासम्म नियमित हवाई सेवा दिएको भन्दै अब पनि सीता एयरले नियमित उडान गरेमा यात्रुहरू नपाएको खण्डमा आफूहरूले भाडा बेहोर्ने समेत बताए।

उनले भने, ‘हाम्रो प्रमुख उद्देश्य भनेको यहाँ भएका संरचना प्रयोग गरौँ भन्ने मात्र हो। पहिला इन्धन डिपो नहुँदा समस्या थियो। अब इन्धन डिपो पनि यही हुँदा भाडामा केही समायोजन हुनुपर्छ। भाडा महँगो हुँदा हवाई सेवामा सबैको पहुँच पुग्दैन। यो हवाई सेवालाई नियमित गरौँ। हामी विमानलाई खाली उडाउन दिँदैनौँ। यात्रु नपाएर खाली उडेको दिन हामी त्यो हर्जाना तिर्न तयार छौँ।’

यसैगरी तुलसीपुर उपमहानगरका प्रमुख टीकाराम खड्काले सीता एयरले मात्रै यात्रु खोजेर सेवा दिन नसक्ने भन्दै उपमहानगर र वाणिज्य संघले त्यसमा सहयोग गर्ने बताए। उनले भने, ‘पहिला पनि उपमहानगर र उद्योग वाणिज्य संघ मिलेर यात्रुहरूको व्यवस्था गर्ने गरेका थियौँ। अहिले पनि यात्रु खोज्न कार्यमा हाम्रो पहल हुनेछ। हामीले जहाजलाई खाली जान दिने छैनौँ।’

उनले दाङबाट नियमित हवाई सेवा नहुँदा अहिले पनि हवाई सेवाका लागि कहिले नेपालगन्ज र कहिले भैरहवा कुद्नुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले दाङको भूगोलमा आउँदा हवाई सेवा नहुँदा अर्को भूमिबाट आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्न आफूहरूले सहयोग गर्ने बताए।

यसैगरी उनले नेपाल एयरलाइन्सले दाङबाट सेवा दिँदै आए पनि त्यो नियमित नभएको पनि बताए। उनले भने, ‘पहिला हप्ताको ५ पटक हुन्थ्यो। त्यसपछि घटाएर ४ पटक हुँदै अहिले २ पटक हुन्छ। त्यो पनि नियमित छैन। जसले गर्दा अहिले यात्रुलाई आज तुलसीपुरबाट हवाई टिकट पाइन्छ? भन्ने प्रश्न उठेको छ। सीता एयरले दाङ-काठमाडौँ नियमित हवाई सेवा गरेमा यहाँबाट बाहिर जान बन्द हुन सक्छ।’​

शुरुमा सीता एयरले हप्तामा एकपटक उडान भर्ने

दाङको टरिगाउँ एयरपोर्टमा सीता एयरले हप्तामा एक पटक उडान भर्ने भएको छ। शुक्रबार टरिगाउँ एयरपोर्टमा परीक्षण उडान भरेको सीता एयरले पहिलो चरणमा हप्तामा एकपटक दाङ-काठमाडौँ उडान भर्ने सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।

उनले भने, ‘सीता एयरले दाङलाई काठमाडौँसँग सधैँ जोड्ने हिजोदेखि नै चाहना राखेको थियो। आज त्यसैलाई कार्यान्वयन गरौँ भनेर पाएको पहिलो मौकामा हामी उफ्रिदै आएका हौँ। हामीलाई दाङबाट सबैले साथ सहयोग गरेमा हामी सानोतिनो घाटा भए पनि सेवा दिन तयार छौँ।’

उनका अनुसार परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर अबको हप्ता १० दिनपछि नियमित उडान भर्नेछ। उनले यात्रुको मागलाई मद्देनजर गर्दै उडानको तालिका र समय थप्दै जाने पनि उल्लेख गरे। उनले काठमाडौँबाट तराईका एयरपोर्टमा ठूला जहाजलाई सेवा दिए झैँ आफूहरूले पनि भित्री मधेश र पहाडका जिल्लाहरूलाई हवाई सेवाबाट काठमाडौँसँग सिधै जोड्ने योजना बनाएको पनि बताए।

उनले भने, ‘हामी दुर्गम क्षेत्रका हवाई सेवाप्रदायक हौँ। हाम्रा हरेक उडान घाटामा भइरहेका छन्। त्यसैले हामीलाई भाडा समायोजनका कुरा गर्दा मन चसक्क हुन्छ तर हामीलाई त्यहाँ घाटा भएर दाङमा नाफा गर्न आएका होइनौँ। हामीलाई नाफा हुने क्षेत्र अर्कै छ। हामीले वर्षमा ४ महिना त्यहाँ काम गर्छौँ। हाम्रो उद्देश्य भनेको आन्तरिक हवाई क्षेत्रमा नियमित सेवा दिऔँ भन्ने हो।’

जुम्ला-हुम्ला एयरपोर्टमा अवतरण गरेको महसुस : पाइलट डंगोल

परीक्षणका क्रममा दाङको टरिगाउँ एयरपोर्टमा २ पटक अवतरण गरेका सीता एयरका पाइलट रवीन्द्र डङ्गोलले धावनमार्गलाई विस्तार गर्नुपर्ने बताउँदै आकाशमा उड्ने चराको नियन्त्रण र एयरपोर्टको उत्तरतर्फ रहेका घरमा राखिएका टङ्की, पोल हटाउनुपर्ने बताए।

उनले यहाँ एयरपोर्ट विस्तारका लागि जग्गा प्रशस्त भए पनि धावनमार्ग कम हुँदा जुम्ला‚ हुम्ला एयरपोर्टमा अवतरण गरेको महसुस भएको पनि बताए। ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग छ।

यस्तै अहिलेकै अवस्थामा रहेको धावनमार्गमा जहाजले ५ हजार ७ सय किलो मात्रै बोक्न सक्ने बताए। ६ हजार ४ सय किलो बोक्न सक्ने क्षमता भएको जहाज भए पनि धावनमार्गको दूरी छोटो हुँदा ५ हजार ७ सय किलो मात्र बोक्ने मिल्ने बताए।

उनले सीताको १९ सिटे चार-डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको पनि बताए। उनले एयरपोर्टको दक्षिण तर्फबाट (थ्री-फोर) अवतरण गर्दा केही रूख भएको बताउँदै केही रूख काटे सहज हुने बताए।

हाल दाङदेखि काठमाडौंको न्यूनतम ८ हजार ८१० रुपैयाँ र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारभन्दा बढी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.