|

पर्वत : पुस माघको जाडोकै बीचमा वर्षा हुन्थ्यो। रातभरिको चिसोले बाक्लो हिमपात हुन्थ्यो। हिउँले पुरिएर सेताम्मे देखिन्थ्यो कुमारी हिमालको उपनामसमेत पाएको माछापुच्छ्रे हिमाल। ६ हजार ९ सय ९३ मिटर उचाइ रहेका माछापुच्छ्रेको छेउछाउमा रहेका हिमालहरू बिहान हेर्दा अझै पनि चाँदीजस्तै टल्किन्छन्।

घामको बिहानी साँझपखको झुल्को पर्दा आसपासका हिमशृङ्खलाहरू राता देखिँदा माछापुच्छ्रे भने निराशजस्तो देखिन्छ। क्रमिक रूपमा गुम्दै गएको आफ्नो सौन्दर्यको भान सायद माछापुच्छ्रेले पनि गरेको होला। त्यसैले त घामको झुल्को परेको बेलामा माछापुच्छ्रेको शरीर कालो चट्टानजस्तै देखिन थालेको छ।

२०७६ सालमा भएको बाक्लो हिमपातको बेला माछापुच्छ्रे हिमालको आधारशिविरमा मान्छे नै पुरिने गरी हिउँ परेको थियो। हिमपातकै कारण आधारशिविर हिँडेकाहरूको हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आएको थियो। तर आजको माछापुच्छ्रे यही अवस्थामा छैन।

जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रमका कारण हिमालमा जम्ने गरेको हिउँको तुलनामा पग्लिने गरेको हिउँको परिमाण धेरै हुँदै छ। यसैकारण हिउँले ढाकिएर हिमालको नाम पाएका हिमाल काला चट्टाने पहाडहरूमा परिणत हुँदै गरेको देखिन्छ।

शुक्रबार बिहान आकाश खुलेको थियो। विगतका केही दिनयताको तुलनामा तापक्रम पनि बढेको अनुभव हुन्थ्यो। खुलेको आकाशबीच हेर्दा कुनै बेलाको चाँदीको पहाडजस्तै लाग्ने माछापुच्छ्रे कालो पहाडजस्तै देखिन्थ्यो।

हिउँ धेरै भएको बेलामा पनि माछापुच्छ्रेमा दुई काला धर्सा देखिन्थे। हिउँ नभएको भागले बाघको अघिल्लो दुई खुट्टाको आकृतिसहित गजधम्म परेर बसिरहेको बाघको आकृति टाढैबाट चिनिन्थ्यो।

तर शुक्रबार बिहानको माछापुच्छ्रेमा त्यो आकृति थिएन। जलवायु परिवर्तनले हिउँ पग्लिनु, यस पटक माछापुच्छ्रेमा हिमपात नहुनु र हिमाल ठाडो भएका कारण पनि जमेको हिउँ खस्नुले माछापुच्छ्रे हिमाल कालो पहाड जस्तै देखिएको हो।

‘पहिले त हिमाल सेतै हुन्थ्यो। माछापुच्छ्रे हाम्रो गाउँबाट सीधा अगाडि पर्ने। यता गाउँतिर जाडो बढ्दा माछापुच्छ्रेमा हिउँ थुप्रिएछ होला भन्ने अनुमान गरिन्थ्यो। बिहान हेर्दा पूरै हिउँ परेको देखिन्थ्यो’, पर्वतको मोदी गाउँपालिका–२ देउपुर स्थित जननेत्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक लक्ष्मण गौतम भन्छन्, ‘यताको क्षेत्रका कास्की, पर्वतलगायतबाट हिमाल हेरेर आनन्द लिनेमध्येको प्रमुख हिमाल नै माछापुच्छ्रे हो। यसको शिर माछाकै पुछार जस्तो र नाम पनि उस्तै भएकाले सबैले चिन्छन्। तर आजभोलि त्यही हिमाल कालो बनेको छ।’

तस्वीरमा हिमालको केही उबडखाबड भागमा हिउँ अड्किएर बसेको देखिएको छ भने ठाडो भागमा हिउँ नभएको देखिन्छ। माछापुच्छ्रे हिमालकै पानीबाट सुरु भएको मोदी नदी कास्की हुँदै पर्वतमा आएर कालीगण्डकी नदीमा मिसिन्छ। यही खोलाको भरमा पर्वतमा धेरै जलविद्युत आयोजनाहरू सञ्चालनमा रहेका छन्।

माछापुच्छ्रेको हिउँको भरमा बग्ने गरेको पानीले विद्युत् निकाल्ने गरिएको छ। जलवायु परिवर्तनलगायतका कारण माछापुच्छ्रे र आसपासका हिम श्रृङ्खलाहरुमा हिउँको मात्रा घट्दै जाने हो भने मोदीको पानीमा आधारित रहेका जलविद्युत आयोजनाहरू समेत प्रभावित हुन सक्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.