|

काठमाडौँ : नेपालमा  मानसिक अस्वस्थताले आत्महत्याको दर बढ्दो छ।

मानसिक अस्वस्थताको उपचार गलत तरिकाले भइरहेको छ। पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको छ। मानसिक अस्वस्थता र पागलपन भिन्न हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग उपस्थित नहुनु मात्र होइन‚ शारीरिक, मानसिक तथा सामाजिक समग्रमा स्वस्थ हुने अवस्था हो। हामी शारीरिक समस्या सानो भए पनि तत्काल अस्पताल लाग्छौँ।

मानसिक र सामाजिक रूपमा जति अस्वस्थ भए पनि त्यसको बेवास्ता गर्छौं। शरीर स्वस्थ रहन मन स्वस्थ हुनु आवश्यक छ, मानसिक स्वास्थ्यबिना स्वास्थ्यको परिकल्पना नै अधुरो हुन्छ। मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छ।

मानसिक अस्वस्थ हुनु भन्नाले पागल हुनु होइन, मनमा अन्तरद्वन्द्व, अनावश्यक डर, त्रास, उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहन सक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवनबीच सन्तुलन कायम राख्न नसक्नु, उत्पादनशीलता एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असामान्य परिवर्तन हुनु हो।

नेपाली समाजमा भने मानसिक समस्यालाई पागलपन ठानेर त्यसको उपचार गर्नै नजाने र आफैँले समस्या समाधान गर्न लागेको पाइन्छ। साथै नजिकका मानिसले थाहा नपाऊन् भन्ने हिसाबले लुकाइन्छ। मानसिक व्यथाको प्रवृत्ति शारीरिक पीडाभन्दा बिल्कुलै फरक हुन्छ। यही असह्य पीडाकै कारण विरामी आफू मर्न वा अरूलाई मार्न समेत पछि पर्दैनन्।

विश्वमा हुने आत्महत्याको प्रमुख कारण मानसिक अस्वस्थता रहेको अध्ययनले देखाउँछ। प्रायः हत्याकाण्ड पनि मानसिक वा सामाजिक विकृतिकै कारण हुने गरेको विज्ञहरूले बताउँदै आएका छन्।

त्यसैले पनि हामीले मानसिक रूपमा अस्वस्थ व्यक्तिको समयमै उपचार गरायौं भने विरामीलाई नयाँ जीवन प्रदान गर्न सक्छौं। यसै सन्दर्भमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले नसा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग कुराकानी गरेको छ। डा.पाण्डे अल्का अस्पतालमा नसा तथा मनोरोग विशेषज्ञको रूपमा कार्यरत छन्।

विशेषज्ञहरूले नसा र मनोरोग एकै ठाउँमा जोडेर हेर्ने गर्छन्। आम जनस्तरमा नसा र मनोरोगको समस्या अर्कै हो भन्ने बुझाइ छ। खासमा यो कस्तो खालको समस्या हो र कस्तो किसिमको लक्षण देखिँदा मेडिकल टर्ममा यो समस्या भएको बुझिन्छ ?

हामी यसलाई न्युरो साइक्याट्रिक भन्छौँ। यसमा खास किन न्युरो साइक्याट्रिक अथवा साइक्याट्रिकमा चाहिँ नसा कसरी जोडियो भन्ने कुरा आउँछ। न्युरो साइक्याट्रिक भनेकै मन सम्बन्धी विषय हो। मन भनेपछि हामी मुटुलाई हेर्छौं। खास मन भनेको चाहिँ माइण्ड र ब्रेनको बारेमा कुरा गर्छौं। ब्रेन जोडिनेबित्तिकै ब्रेनसँग हजारौँ न्युरोन्स जोडिन्छ। त्यहीँबाट मन, विचार उत्पादन भइरहेको छ। त्यही भएर हामीले न्युरो साइक्याट्रिक भनेका हौँ। यो नसासँग जोडिएकै विषयवस्तु हो।

यसका सयौँ लक्षण छन्। यसका खास लक्षण निद्रा नलाग्ने, टाउको दुख्ने, डर लाग्ने, ढुकढुक हुने, आत्तिने, मर्छु जस्तो लाग्ने, शंका लाग्ने, अरू कसैले मलाई बिगार्न लागे, मार्न लागे, मेरो बारेमा कुरा गरिरहेको छ कि भनेर शंका, उपशंका हुने। निराश हुने, दिक्क लाग्ने, कुरा खेल्ने, नरमाइलो लाग्ने, आत्महत्याको महसुस हुने। चुरोट, रक्सी, खैनी, गाँजा, ट्याब्लेट, इन्जेक्सन सेवन गर्ने, हातखुट्टा झमझम गर्‍यो‚ पोल्यो, ज्यान दुख्यो भन्ने हुन्छ।

त्यस्तै बेहोसीको समस्या। सास फेर्न गाह्रो हुने। यौन चाहना कम हुने। धेरै खालका समस्या हुन्छन्।​

तपाईंलाई अचम्म लाग्ला‚ पेटसम्बन्धी समस्या पनि मनको कारणले हुनसक्छ। ग्यास टाइटिक (ग्याष्ट्रिक)को औषधि खाँदाखाँदा सन्चो नभएपछि आजकाल पेटकै डाक्टरले पनि हामीकहाँ पठाउनुहुन्छ। ग्यास टाइटिक सन्चो भएन, उल्टी भयो। साइकोजेनिक बोमेटिङ भन्छौँ हामी। मनको कारणले गर्दा डाइरिया हुने, मुटु ढुकढुक हुने, छाती दुख्ने, मन भारी हुने हुन्छ। मान्छे गंगालाल गएर देखाउनुहुन्छ। त्यहाँ केही पनि छैन भनेर भनिदिनुहुन्छ। अन्त्यमा फेरि उहाँहरू मुटुको समस्या लिएर हामीकहाँ आउनुहुन्छ।​

हेर्दाखेरी मुटुको लक्षणजस्तो देखिन्छ तर वास्तवितामा मनको समस्या हुन्छ। सबै ब्रेनले गरिरहेको छ। कोही हात चलेन भन्दै आउनुहुन्छ। औँलाहरू लाटो भयो, हातखुट्टा दुख्यो, झमझम भयो भन्दै आउनुहुन्छ। कोही बेहोसीमा परेर आउनुहुन्छ, कोही टाउको दुखेर उल्टी भएर आउनुहुन्छ। विभिन्न लक्षण नसा र मनसँग जोडिएर आएको हुन्छ।​

कुन स्टेजमा तपाईंकहाँ बिरामी आइपुग्छन् ?

सामान्यतया मानसिक रोग भन्नेबित्तिकै नेपालीले आज म पागलको डाक्टरकोमा गएँ कि बौलाहाको डाक्टरकहाँ गएँ भन्ने सोच्छन्।

समस्या हुँदाहुँदै पनि उसले आत्महत्याको प्रयास गरिसकेपछि वा कुलतमा पनि एकदमै इन्जेक्सन हानेर खुट्टा काट्नुपर्ने अवस्था भइसकेपछि मात्रै घरका मान्छेलाई थाहा हुन्छ। कुनै घटना भइसकेपछि चाहे आफैँलाई असर परिसकेपछि अथवा अरू कसैलाई असर पारिसकेपछि मात्रै घरपरिवारका मान्छे आउने गर्नुहुन्छ।​

सामान्यतया हाम्रो समाजले के भन्छ भने आफैँ बलियो भएर बसे भइहाल्यो नि किन कुरा खेलाउने ? त्यहाँ मानसिक डाक्टरकोमा गयो भने बौलाहाको औषधि दिन्छ। दिमागले काम गर्दैन। त्यहाँ जानु हुँदैन। मलाई पनि डिप्रेशन भएको थियो आफैँ बलियो भएँ।

किन कुरा खेलाइरहने, राम्रो सोच्यो भने त सन्चो भइहाल्छ नि भनेर परिवारका मान्छेसँग सहयोग माग्दा उसलाई त्यहाँबाट पन्छाइदिने। त्यो आफैँ बलियो हुने भनेको के हो‚ त्यो कसैलाई पनि थाहा छैन।

परिवारबाट पनि साथ नपाउने‚ समाजबाट पनि त्यो चिजको साथ नपाउने, आत्महत्या जस्ता समस्या आउने गर्छन्। म अस्पतालमा दुई/तीनवटा आत्महत्याको प्रयास गरेर आउने बिरामी हरेक दिन हेर्छु। म एउटा डाक्टरले दिनमा दुई, तीनजना हेर्छु भन्दा महिनामा ६०, ७० जना बिरामी त म एक्लै हेर्छु। भनेपछि यस्ता कतिवटा अस्पताल होलान् ?​

कोभिडपछि, भूकम्पपछि मानसिक समस्या एकदमै विकराल छ। बेरोजगारी र आर्थिक समस्यालाई कसरी व्यवस्थापन गर्नसक्छ त ?

यी सबै समस्यालाई मान्छेले व्यवस्थापन गर्न नसक्दासम्म उसलाई इमोशन, फिलिङ्स, थट प्रोसेस र बिहेभियरमा समस्या आउँछ। उसको विचार फरक बनिदिन्छ। सोच फरक बनिदिन्छ। अनुहारको हाउभाउ फरक बनिदिन्छ। हाउभाउ फरक भइदिन्छ। रिसाउने भइदिन्छ। चिटचिटापन भइदिन्छ।

अहिले त नयाँ समस्या के देखिएको छ भने सात वर्षदेखिका बच्चाहरू मानसिक समस्या लिएर आइराख्नुभएको छ। सातआठ वर्षका बच्चाहरू मोबाइल चलाउने। मोबाइल नपाए‚ टाउको फुटाएर आउने। पब्जी खेल्न पाएन भने झगडा गर्ने। स्कुल नजाने। कति बच्चाहरू चौबिस घण्टा हिन्दी सिनेमा हेर्दाहेर्दा नेपाली र अंग्रेजी भाषा नै बिर्सिएर पागल जस्तो भएर आइदिने। यस्ता चिज ११, १२ वर्षका बच्चाले आत्महत्या गरेका‚ निद्रा नपरेका‚ टाउको दुख्यो भन्दै आउने। हामीले यो विषयमा छलफल गर्नुपर्ने हो तर छलफल भएन। हामीले छलफल गरे पनि नगरे पनि यो समस्याले हामीलाई छोड्दैन।​

तपाईंले बालबालिकाको कुरा गर्नुभयो। यति प्रतिशत बालबालिका प्रभावित भइराखेका छन् अथवा बढ्दै गइरहेको छ भन्ने कुनै तथ्यांक छ?
हामीसँग राष्ट्रिय सर्भे त छैन। मेरो अनुभव भने यस्तो छ। मैले दश वर्ष पहिला अभ्यास शुरु गर्दा एउटा पनि विरामी हेर्दिनथेँ। अहिले उस्तै परे ६ वर्षदेखि १४/१५ वर्षका ३-४ जना विरामी मैले दैनिक हेर्नु पर्छ। यस्तो हरेक ठाउँमा स्थानमा भइराखेको होला।

यो समस्या यही लेभलमा बढिराखेको होला। बच्चाहरू हावा चले पनि डराउने, एक्लै बस्न नसक्ने, समाजमा गएर कुरा गर्न नसक्ने। समाजबाट एक्लिँदै छौँ भन्ने सोच्ने, बच्चाले बोल्न नपाउँदा आवाज नै नफुटेको। ढिलो बोल्ने। नयाँ मान्छेहरूसँग गफ गर्न नसक्ने। बच्चाहरूका यी समस्या एकदमै धेरै छन्।

उपचारपछि बिरामीमा आएको परिवर्तन कस्तो छ ? के पाउनुभएको छ ?

त्यो एकदमै राम्रो छ। ९५ प्रतिशत विरामी सामान्य अवस्थामा फर्कन्छन्। केही विरामीमा हामीले औषधि पनि बन्द गरिदिन्छौँ। विरामी र समाजलाई के लाग्छ भने मानसिक रोग भनेको पागलपन हो। मानसिक रोग हेर्ने डाक्टर पनि पागल हुन्छ। रोग पनि पागलपनको रोग हो। त्यो कारणले गर्दाखेरी हामी सकेसम्म पागलपनको डाक्टरकहाँ जाने होइन। आफैं कोसिस गर्नुपर्छ।

योग, ध्यान गरी, मनमा कुरा नखेलाएर, सकारात्मक सोच्यो भने आफैँ सन्चो हुन्छ भनेर हामी आफ्नै समस्यालाई लम्ब्याउँदै जान्छौँ र एकैचोटी सुसाइड गरेर आइसियुमा आइपुग्ने अवस्था हुन्छ। यो खालको परिस्थितिमा विरामी बसिराख्नुभएको छ। यही परिस्थितिमा हाम्रा छोराछोरी, दाजुभाइ र समाजलाई कहिलेसम्म यो समस्याबाट ग्रसित गराइराख्ने ? अथवा यसको बारेमा कसले बोल्ने त ?​

विगत एक वर्षको समयको विश्लेषण गर्दा कस्तो खालका समस्या लिएर आउने र उमेर समूह पनि कस्तो खालका बढेका छन् ?

अहिले सबभन्दा कमन देखिएको एन्जाइटी। डर, ढुकढुक हुने, आत्तिने, सास फेर्न गाह्रो हुने, अनिद्रा, युवा पुस्तामा चाहिँ अनिद्राको समस्या। मोबाइल, टेक्नोलोजी, सोसल मिडियाको प्रयोगको कारणले गर्दा अधिक मान्छेहरू यसको शिकार भइराखेका छन्। सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक कुरा पनि आउँछन्।

त्यसको सेलेक्सन कसरी गर्ने ? फिल्टर कसरी गर्ने ? नकारात्मक सोच र नकारात्मक जानकारीको प्रभाव हाम्रो मनमा कसरी परिरहेको छ ? आफैँले रोग पत्ता लगाएर आफैँले उपचार गर्न खोज्ने प्रवृत्तिको कारणले गर्दा मानिसहरूमा यावत् समस्या देखिएको छ।

मिडियाको प्रयोगले गर्दा मान्छे १-२ बजे सुत्ने। मोबाइल चलाउने, टिकटक चलाउने, पब्जी लगायतका गेम खेल्ने। यसरी मानिसहरू अल्मलिइरहनुभएको छ। त्यसो हुँदा युवापुस्ताको ब्रेन, क्रियटिभिटी सबै हट्दै गइरहेको छ।​

मानिसहरूलाईं तपाईंको सुझाव के छ, के-के भयो भने नडराईकन न्युरो साइक्याट्रिककोमा आउनुस् भन्नुहुन्छ ?

नसा तथा मानसिक रोग भनेको कुनै ठूलो समस्या होइन। एकदमै सामान्य समस्या हो। ग्यास टाइटिक (ग्याष्ट्रिक) को समस्यामा औषधि खाएर सन्चो भएको जस्तै मनको पनि समस्या भयो भने औषधि खाएर सन्चो हुन्छ। यसका सयौँ प्रकृतिका रोग छन्। एउटै मात्र प्रकृतिको रोग छैन।

जानेबित्तिकै डाक्टरले दिमागले काम नगर्ने औषधि दिन्छ भनेर कल्पना गर्नुपर्दैन।  हामी सामान्य गफ गरेर, काउन्सिलिङ गरेर पठाउन सक्छौँ। कति पटक हामी साइको थेरापी सेसन प्लान गर्नसक्छौँ। त्यति धेरै डराउनुपर्ने आवश्यकता छैन। औषधि खाँदा पनि कति समयसम्म खानुपर्छ भनेर डाक्टरलाई सोध्दा हुन्छ। डाक्टरले प्रष्ट रूपमा भन्नसक्छ, १ वर्षजति खायो भने मजाले पुग्छ।

केही रोगमा चाहिँ औषधि अलि लामो समय खानुपर्ने हुन्छ। त्यो कुरा विरामीलाई राम्रोसँग भनिएको हुन्छ। विरामीलाई रोगका बारेमा भनिएको हुँदैन भने विरामीका आफन्तलाई भनिएको हुन्छ। यो चिजबाट रोक्न तपाईं आफैँले नै आफूबाट शुरु गर्नुपर्छ। आफ्नो घरबाट शुरु गर्नुपर्छ।

निष्कर्षमा यो न्युरो साइक्याट्रिक समस्या पछिल्लो समय बढ्दै गइरहेको छ भन्नसक्छौँ ? बालबालिकाको उमेर समूहमा पनि बढेको छ ?

मजाले भन्नसक्छौँ। कोभिडपछि बालबालिकाको उमेर समूहमा पनि बढेको छ। युवा, किशोरमा पनि बढेको छ। कोभिडको कुरा मात्र रहेन। आर्थिक समस्याको कुरा मात्र रहेन। बुबाआमाले समय दिन नसक्नु। यसमा विभिन्न तत्त्व छन्। धेरै तत्त्वको भूमिका छ। आमाबुबाको दोष अथवा पैसाको कमी यो कुनै एउटा चिज छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.