एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार

|

पर्वत : पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेलको उपाधि गण्डकी प्रदेशले जितेको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा खेलाइएका पाँच सेटमध्ये तीन सेटमा विजयी गण्डकी प्रदेशले उपाधि हात पारेको हो। भलिबलका प्रायः खेलमा विभागीय टोलीको दबदबा रहँदै आएको भए पनि गण्डकी प्रदेशको टोलीले घरेलु मैदानमा विभागीय टोलीलाई पाखा लगाएको हो।

सशस्त्रले टाइगर कपको पहिलो संस्करणको खेलको विजेता रहेको गण्डकीलाई पहिलो सेटमा २५-१६ को अन्तरले आफ्नो पक्षमा पारेको थियो। पहिलो सर्भिस गरेको गण्डकीले सर्भिस नै बिगार्दा एपीएफले खाता खोल्न पाएको थियो। पहिलो सेटमा शुरुबाट नै एपीएफले अग्रता कायम गरेको थियो।

दोस्रो सेटमा भने गण्डकीले एपीएफलाई २५-१८ को अन्तरमा पराजित गरेको थियो। पहिलो खेलमा एपीएफको दबाबमा परेको गण्डकी लयमा फर्किँदै एपीएफलाई लगातार दबाबमा राखेको थियो। पहिलो खेलमा निकै सम्हालिएर खेलेको एपीएफ दोस्रो खेलमा भने केही हतोत्साहित देखिन्थ्यो।

खेलको तेस्रो सेट पनि गण्डकी प्रदेशकै पक्षमा पुगेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकी २५-१९ अङ्कका साथ एपीएफलाई पराजित गरेको हो। तेस्रो खेलमा पनि एपीएफ मनोबल कमजोर भएको अवस्थामा देखिएको थियो। चौथो खेलमा भने एपीएफले २८-२६ अन्तरले गण्डकीलाई पराजित गरेको थियो।

आधा खेलसम्म गण्डकीले एपीएफलाई दबाबमा राखेको भए पनि आधा भागपछि भने एपीएफ लयमा फर्किँदै लिड गरेको थियो। अन्ततः म्याच प्वाइन्टमा केही बेरको घम्साघम्सीपछि सेट भने एपीएफकै पक्षमा पुग्यो।

वेस्ट अफ फाइभमा भएको खेलमा दुवै समूह दुई/दुई सेटको बराबरीमा पुगेपछि १५ अङ्कको पाँचौँ सेट पनि खेलाइएको थियो। पाँचौँ खेलमा गण्डकीले एपीएफलाई गण्डकी १५-८ को अन्तरमा पराजित गरेको हो। एपीएफका राम्रा स्पाइकहरूलाई पनि गण्डकीले ब्लक गरिदिएपछि शुरुवाती अग्रतामा अङ्कको अन्तर बढाउँदै लगेको थियो।

हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यही मैदानमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरेर एपीएफले स्वर्ण पदक जितेको थियो। तर आज टाइगर कपमा आर्मी शुरुमा नै बाहिरियो भने स्वर्ण जितेको एपीएफले उपविजेतामा चित्त बुझाउनु परेको छ। यो संस्करणमा एपीएफको टोलीलाई कुनै पनि खेलमा अन्य टोलीले पराजित गर्न सकेका थिएनन् तर फाइनलमा भने एपीएफले उपाधि चुम्न पाएन।

राउन्ड रोबिनको आधारमा सञ्चालन भएको प्रतियोगितामा आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि यो वर्ष दोब्बर बनाएको थियो। उपाधि जितेको गण्डकीले नगद पाँच लाख रुपैयाँ सहित ट्रफी पाएको छ भने उपविजेता बनेको एपीएफले दुई लाख ५० हजार रुपैयाँ सहित ट्रफी पाएको छ। प्रतियोगितामा तेस्रो बनेको बनेको नेपाल पुलिस क्लबले एक लाख २५ हजार र सान्त्वना बनेको आर्मीले नगद ६५ हजार रुपैयाँ सहित ट्रफी पाएका छन्।

‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ मा महिलातर्फको फाइनल खेल पनि शनिवार नै सम्पन्न भएको छ। उक्त खेलमा आर्मीलाई पन्छाउँदै एपीएफले उपाधि चुमेको छ।​


एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार

खेल चलिरहेकै वेला खेल दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि प्यारापिटमा बसेका दर्शकले एपीएफका खेलाडीमाथि बोतल प्रहार गरेका हुन्।

पहिलोपटक केही तनावग्रस्त भए पनि सुरक्षाकर्मीले दर्शकलाई संयमित हुन अनुरोध गर्दै अवस्था शान्त पारेका थिए। दोस्रोपटकमा भने गण्डकीले १७ र एपीएफले १४ अङ्क ल्याएका वेला गण्डकी प्रदेशका समर्थकले एपीएफका खेलाडीमाथि एकाएक पानीका बोतल प्रहार गरेका हुन्।

आफूले समर्थन गरेको समूह नै अगाडि रहेका वेला पनि उनीहरूले सशस्त्रका खेलाडीलाई बोतल प्रहार गरेका हुन्।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफका खेलाडीलाई होतोत्साही बनाएर खेल आफूले समर्थन गरेको गण्डकी प्रदेशको टोलीलाई विजयी गराउन बल दिने गरी समर्थकले बोतल प्रहार गरेका हुन्।

एपीएफको कोर्टमा बोतल पुग्दासाथ कोर्टमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलाडीहरूलाई कोर्टमा सुरक्षित राखेर अवस्थालाई नियन्त्रणमा लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.