|

काठमाडौं : ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ नारासहित ७० औँ विश्व कुष्ठरोग दिवस मनाइँदैछ। हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ। आइतबार स्वास्थ्य सेवा विभागमा कार्यक्रमको आयोजना गरिँदैछ।  

आर्थिक वर्ष २०७८/७९को मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५  रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ। ‘अघिल्लो वर्ष २१ सय हाराहारीमा नयाँ बिरामी थपिएका थिए’, शाखाका प्रमुख डा.प्रसन्न नापितले भने, ‘२०७६/७७ मा एक हजार ८५३ बिरामी थपिएका थिए।’ यो वर्ष थपिएका नयाँ बिरामीमा ७३ जना बालबालिका रहेको उनी बताउँछन्।  

कोभिडका कारण विभिन्न क्रियाकलापमा प्रभाव पर्दा नयाँ कुष्ठरोगका बिरामीको संख्या घटेको देखिएको हो। उनले भने, ‘हामी यसको पहिचानका लागि गरिने परीक्षणमा भन्दा बढी कोभिडमा केन्द्रित हुँदा वास्तविक तथ्यांक आउन सकेको थिएन।’

नापितका अनुसार यो आर्थिक वर्षमा औषधी खाने कुष्ठ प्रभावित करिब २३ सय छन्। अघिल्लो आर्थिक वर्षमा ०.७३ प्रतिशतबाट बढेर यो आर्थिक वर्षमा ०.८१ प्रतिशतले कुष्ठरोगका बिरामीको वृृद्धि भएको डा. नापितले बताए । 

१६ जिल्ला कुष्ठरोग प्रभावित 

अघिल्लो आर्थिक वर्षमा ११ जनामा कुष्ठरोग निवारण हुन बाँकी रहेकोमा यो आर्थिक वर्षमा थप पाँच जिल्लामा पनि निवारण हुन बाँकी जिल्ला भएको उनले बताए । निवारण हुन बाँकी रहेका १६ मध्ये एक मात्र पहाडी जिल्ला छ। अछाम बाहेक सबै तराईका जिल्ला हुन् ।

झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही , रौतहट, बारा, पर्सा, परासी, रूपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कुष्ठरोगका बिरामी छन्।

विश्वमा रहेका कुष्ठ प्रभावितमध्ये १ प्रतिशत बढि कुष्ठरोगी नेपालमा रहेको तथ्यांक छ। १३ वर्ष पहिले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.