|

धनकुटा : धनकुटा महोत्सवमा आयोजकले टिकट नकाटी दर्शकलाई कार्यक्रम स्थलभित्र छिर्न नदिँदा भएको झडपपछि भागाभाग हुँदा दर्जनभन्दा बढी घाइते भएका छन्।

घाइते भएकामध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

अत्यधिक मात्रामा आएका दर्शकलाई आयोजकले टिकट नकाटी भित्र पस्न नदिएपछि गेटमा भीड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन्। अहिलेसम्म महोत्सवमा भएको घटनामा कसैको पनि मृत्यु भएको सूचना नआएको प्रहरीले जनाएको छ। च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना आएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विवरण आइनसकेको बताइन्। उनले दर्जनभन्दा बढी घाइते भएको भन्ने सूचना आएको बताइन्।

सांगीतिक कार्यक्रम सकिएपछि हाउजी खेलमा भने निःशुल्क रूपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भीड भएको हो। भीड बढी भएपछि पनि महोत्सव आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको थियो।

झडपपछि भागाभाग मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन्। धनकुटा महोत्सवको आजको कार्यक्रममा गायक प्रमोद खरेल आउने कार्यक्रम थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.