|

हुम्ला : हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ। 

पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम भएकाले लोडसेडिङको समय वृद्धि गर्नु परेको आयोजनाले जनाएको छ। 

सिमकोट बजारका ओबराज शाहीले बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ हुने भएकाले काममा बाधा परेको गुनासो गरे। राति ९ः३० बजेपछि भने विद्युत् आपूर्ति हुने गरेको छ। हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले हिउँदको समय भएकाले नदीको पानी प्रवाह कम हुने भएका कारण लोडसेडिङको समय वृद्धि भइरहेको बताए। 

नदीमा पानीको प्रवाहमा कमीका साथै भएको पानी पनि जमेर बरफ बन्ने भएकाले बिहानको समय त विद्युत् उत्पादन गर्न नसकिएको उनले बताए। 

यो आयोजनाले अन्य समयमा पनि मागअनुसार विद्युत् आपूर्ति गर्न सकेको छैन। हिल्दुम जलविद्युत् आयोजनाले हाल एक सय किलोवाट विद्युत् उत्पादन गर्ने गरेको छ। जब कि माग एक मेगावाट रहेको छ। 

विद्युत् उत्पादन क्षमता पाँच सय किलोवाट रहेको यो आयोजनाले सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार एक सयभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

यसैगरी सिमकोट गाउँपालिका–८, स्याँडा गाउँका बासिन्दा एक हप्तादेखि अन्धकारमा बस्न बाध्य छन्। गाउँमै उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् उत्पादन बन्द भएको हो। सो गाउँका वडाध्यक्ष कमल बुढाले विद्युत् उत्पादन नहुँदा करिब २७० घरधुरी प्रभावित भएको बताए।

गारघट्ट खोलामा सात वर्षअघि पावरहाउस निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको थियो। सो विद्युत् उत्पादन भएपछि यी गाउँमा हिल्दुम साना जलविद्युत् आयोजनाको बिजुली वितरण गरिएको छैन।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.