साँस्कृतिक कार्यक्रम स्थगित

|

धनकुटा : धनकुटामा सञ्चालित प्रादेशिक व्यापार मेला कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौँ धनकुटा महोत्सवमा साँस्कृतिक कार्यक्रम बाहेक निरन्तर सञ्चालन हुने भएको छ।​

आइतवार दिउँसो आयोजक र प्रशासनबीच भएको छलफलमा साँझ ६ बजेसम्म महोत्सव सञ्चालन हुने सर्वपक्षीय निर्णय भएको आयोजक धनकुटा उद्योग वाणिज्य संघका सचिव श्रीराम रायमाझीले बताए।​

शनिवार राति धनकुटा महोत्सवस्थलको प्रवेशद्वारमा भएको अत्यधिक भीडमा ठेलमठेल हुँदा कन्सर्ट हेर्न गएका ३० जना घाइते भएका थिए।

घटनापछि स्थानीय प्रशासनले महोत्सवका सबै कार्यक्रम स्थगित गरेको थियो। रायमाझीका अनुसार महोत्सव भोलिसम्म हुनेछ। सुरक्षाको कारण देखाउँदै बेलुका ६ बजेपछिको साँस्कृतिक कार्यक्रम र हाउजी बिंगो कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरिएको हो।

निर्णयसँगै राष्ट्रिय कलाकारको सबै साँगीतिक कार्यक्रम स्थगित गरिएको छ। महोत्सवको सोमवार औपचारिक समापन उनले बताए।

माघ १६ गतेसम्म हुने प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप १८ गतेसम्म गर्ने आयोजकको तयारी थियो तर शनिवारको घटनापछि सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक राखेको थियो।

महोत्सवका कारण सुरक्षा चुनौती बढेकाले स्थगित गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता सुवेदीले जानकारी दिइन्।

को को भए घाइते ?

धनकुटामा सञ्चालित प्रादेशिक व्यापार मेला कृषि प्रदर्शनी एभोकाडो एवं पाँचौँ धनकुटा महोत्सवमा शनिवार साँझ हुने सांस्कृतिक कार्यक्रममा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ भने १६ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बाँकी १२ जनाको धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।​

गोल्डेन अस्पताल विराटनगरमा उपचार हुनेमा ६ वर्षका अविहाङ लिम्बू र वर्ष ४ का सोनम लिम्बू रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। उनीहरू खतरामुक्त रहेको उनको भनाइ छ।​​

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकामा विष्णु राई, गोमा कार्की, अनिशा राई, नारायण राई, प्रकट श्रेष्ठ, बुद्धिमाया लिम्बू, सविन पौडेल र सन्दीप साह रहेका छन्।

यस्तै प्रवेश राई, श्रेया कटुवाल, हीरा राना, अनुषा राई, विनिता लिम्बू, सविन लिम्बू, सुनिल लिम्बू र प्रकाश प्रधान रहेको प्रहरीले जनाएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकामा प्रकट श्रेष्ठ, प्रवेश राई, श्रेया कटुवाल, सविन लिम्बू र सुनिल लिम्बू बालबालिका हुन्।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि कुनै कसुर बाँकी नराखिएको महोत्सव संयोजक विजयसन्तोषी राईले बताए।

कसरी भयो घटना ?

गत माघ ६ गतेदेखि भएको धनकुटा महोत्सवमा दैनिक राष्ट्रियस्तरका कलाकार आएर साँझमा सांस्कृतिक कार्यक्रम हुने गरेको थियो। सांस्कृतिक कार्यक्रमसँगै हरेक दिन हाउजी बिंगो हुने गरेको थियो।

शनिबार बेलुका हुने कार्यक्रममा गायक चर्चित गायक तथा भ्वाइस अफ नेपालका जज प्रमोद खरेल आउने कार्यक्रम थियो। धेरै धनकुटेली केही दिनदेखि नै प्रतीक्षामा रहेका थिए। कार्यक्रम शुरु हुनै लाग्दा महोत्सव प्रवेशस्थलमा अत्यधिक मात्रामा दर्शक आएका थिए। महोत्सवस्थल प्रवेश गर्न तोकिएको दस्तुर लिएर टिकट लिएपछि मात्र प्रवेश गर्न कडाइ गरिएको थियो।

दर्शकको चाप अत्यधिक भएपछि भीड नियन्त्रण गर्न सुरक्षाकर्मी, खटिएका सुरक्षाकर्मी र आयोजकलाई हम्मेहम्मे परेको थियो। प्रवेशद्वारमा टिकट नलिई प्रवेश गर्नेको संख्या अत्यधिक रहेका कारण धेरै भीड थियो। उनीहरू टिकट लिएकासँग मौकामा छिर्ने दाउमा रहेको आयोजकको भनाइ छ।

त्यसपछि प्रवेशद्वारमा छेक्न नसकेपछि सुरक्षाकर्मीले ठूलो गेट खोलेपछि एकैपटक प्रवेश गर्ने क्रममा अगाडि रहेका मानिस लडेर पछाडिका मानिसले किचेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटना भएपछि प्रमोद खरेल स्टेजमा आउन नपाउँदै कार्यक्रम स्थगित भएको थियो। त्यसपछि महोत्सव अनिश्चितकालका लागि स्थगित गरियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.