|

काठमाडौं : प्रहरीले नियन्त्रणमा लिएको गुणस्तरहीन कागज १८ दिनदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमै थन्किएको छ।

ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिले नयाँ पुस्तक छपाइका लागि ल्याएको कागज गुणस्तरहीन रहेको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरले पुस २८ गते ४ ट्रक कागज नियन्त्रण लिएको थियो। 

केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार उक्त कागज अहिले पनि केन्द्रमै ताल्चा लगाएर राखिएको छ। ‘अहिले पनि कागज यहीँ छ,’ उनले भने। ती गुणस्तरहीन कागज फिर्ता गरिने उनको भनाइ छ। 

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते १ हजार मेट्रिक टन कागज ३० दिनभित्र ल्याउन सम्झौता गरेको थियो।

थप ५ मेट्रिक टन गरी कूल १ हजार ५ मेट्रिक टन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो। सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएको थियो। 

तर ती ल्याएको कागज केन्द्रमा परीक्षण गर्दा गुणस्तरहीन प्रमाणित भएको केन्द्रका सूचना अधिकारी आचार्यले जानकारी दिए। उनले उक्त कागज केन्द्रले कात्तिक १७ गते नै फिर्ता गरेको बताए। ती कागज पुन: उक्त कम्पनीले ल्याएपछि प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए।

केन्द्रका अनुसार कक्षा ११ र १२ का पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भएको थियो तर असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएको १ सय ६४ टन कागज परीक्षण गर्दा गुणस्तरहीन रहेको र ६५ ग्रामको मात्र रहेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.