|

काठमाडौं : सन् २००९ मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १६ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ।

हाल रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी, बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली र बारामा कुष्ठरोगका बिरामी भेटिने गरेका छन्। यी जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी कृष्ठरोगका बिरामी देखिएको सरकारी तथ्यांकले देखाउँछ।

कुष्ठरोग निवारणका लागि अब समयमा नै लागि नपरे बाँकी जिल्लामा समेत कुष्ठरोगका बिरामी भेटिने जोखिम बढ्दै गएको बताउँछन् इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमानलाल दास।

विश्व कुष्ठरोग निवारण दिवसका अवसरमा आयोजित राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८-२०८२) सार्वजनिक कार्यक्रममा डा दासले भने‚ ‘थप जिल्लामा पनि कुष्ठरोगका बिरामी बढ्ने जोखिम बढ्दै गएको छ त्यसैले समयमा नै ध्यान दिनुपर्ने अवस्था रहेको छ। यसका लागि सरकारमात्रै होइन सबैको भूमिका महत्वपूर्ण हुन्छ।’

कार्यक्रममा महाशाखाका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापितले ०७८/७९ मा २२ सय ८५ बिरामी भेटिएकोमा उक्त संख्या मधेश प्रदेश र लुम्बिनी प्रदेशमा देखिएको र सबैभन्दा बढी बारा जिल्लामा रहेको बताए। समयमै उपचार गरे पूर्ण निको हुने यो रोगका बिरामी विश्वमा हरेक वर्ष करिब २ लाख भेटिने गरेका छन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अहिले पनि विशेष गरी तराई र सुदूरपश्चिम क्षेत्रमा कुष्ठरोग लुकाएर बस्ने गरेको देखिएकाले यो रोग फैलिएर गएको बताए।

कुष्ठरोग निको भइसकेकाहरू पनि हाल समाजमा पुनर्स्थापना चुनौतीपूर्ण रहेको र यो समस्या हटाउन मिडिया, सामाजिक संस्था, व्यक्तिको सहयोग आवश्यक रहेको उनले बताए। ‘कुष्ठरोगबाट मुक्त भइसकेकाहरूलाई अझै पनि हाम्रो समाजमा पुनर्स्थापना हुन समस्या रहेको छ‚ यो समस्या समाधानका लागि  हामी सबै मिलेर अघि बढ्नु पर्छ‚’ मन्त्री गिरीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.