|

सर्लाही : पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धनको नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ।

मधेश प्रदेशकै ठूलो धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगिता बागमती नगरपालिका–११ कर्मैयास्थित स्वर्गीय संतोष स्मृति खेल मैदानमा यही माघ २५ गते प्रतियोगिता शुरु हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

प्रतियोगितामा आयोजक बागमती युवा क्लबसमेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन्। जसमा एक विदेशी क्लबसमेत रहेका क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबको एउटा टिमसँगै युनाइटेड किंगडम फुटबल क्लब दार्जिलिङ, संकटा क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, एपिएफ काठमाडौं, जावलाखेल युवा क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड ललितपुर, सुदूरपश्चिम–११ धनगढी, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, धरान युवा क्लब धरान, जन जागृति युवा क्लब सिमरा र पिप्ले युथ क्लब हेटौंडाले सहभागिता जनाउँदै छन्।

९८ लाख रूपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताअन्तर्गत खेलको विजेताले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख हात पार्नेछन्। हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रूपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही बागमती निवासी एक खेलाडीलाई बागमती राइजिङ अफ दि इयर प्लेयर्स घोषणासहित एउटा मोटरसाइकल प्रदान गरिने जानकारी पनि उनले दिएका छन्।

प्रतियोगिताका लागि बागमती नगरपालिकासहित स्थानीय तहहरू, विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी व्यापारीसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक घरानाको प्रायोजन रहने क्लबका महासचिव सागर मैनालीले जानकारी दिएका छन्।

उनले पत्रकार सम्मेलनमा मधेश प्रदेशकै ठूलो धनराशीको प्रतियोगिता भए पनि अहिलेसम्म मधेश सरकारले प्रतियोगिताको उपेक्षा गर्दै आइरहेको गुनासो गरे। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण पूर्वाधार तयार भइसकेको आयोजकले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.