|

काठमाडौं : सितापाइला डाँडापौवामा आयोजित निःशुल्क आँखा शिविरमा नेत्र परीक्षणका साथै मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ।

नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित सिताराम माध्यमिक विद्यालयमा राखिएको शिविरमा २ सय ३० जनाभन्दा बढीको नेत्र परीक्षण गरिनुका साथै चश्मा र औषधीसमेत वितरण गरिएको छ।

विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको शिविरमा त्रिपुरेश्वरस्थित ‍नेपाल आँखा अस्पतालका २ जना नेत्र चिकित्सक र प्राविधिकसहित ७ जना नर्सहरू बिरामीको परीक्षण तथा उपचार गरेका थिए।

लायन्स क्लब अफ काठमाडौं सितापाइलाले आयोजना गरेको शिविरमा ५ जनाको मोतियाविन्दु सफल शल्यक्रिया गरिएको आयोजक लायन्स क्लबका अध्यक्ष राजन खनालले जानकारी दिए।

६० वर्षभन्दा माथिका ३ जना महिला र २ जना पुरुषको मोतियाविन्दुको शनिबार शल्यक्रिया गरिएको खनालले बताए। उनका अनुसार नेत्र परीक्षणका लागि ८० वर्षभन्दा माथिका स्थानीयसमेत आएका थिए।

परीक्षण शिविरको प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले उदघाटन गरेका थिए। यसैगरि नागार्जुन नगरपालिका वडा नम्बर ५ र ६ का अध्यक्षद्वय क्रमशः महेश रिमाल र देवेन्द्रराज गिरी लायन्स क्लबका डिस्ट्रिक्ट रिजन उत्तम गिरीसमेत शिविरमा सहभागी थिए।

यही माघको अन्त्यतिर विद्यार्थी तथा बालबालिका लागि पनि निःशुल्क आँखा शिविर राखिने लायन्स क्लब अफ काठमाडौं सितापाइलाका सचिव भरत अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.