|

काठमाडौं :  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। 

गत बिहीबार र शुक्रबार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डामा छलफल गर्न आज केन्द्रीय पदाधिकारी बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कोषाध्यक्ष एवम् पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। 

यसअघि दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको थियो। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले पनि आफूलाई विश्वासको मत दिएको भन्दै राष्ट्रपति निर्वाचनमा उसलाई विश्वासमा लिएर कसरी अघि बढ्न सकिन्छ भन्ने प्रश्न राखेका थिए। स्थायी कमिटी सदस्यहरुले कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्न राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्नुपर्ने सुझाव दिएका थिए। 

यस्तै पदाधिकारी बैठकमा नेपाल समाजवादी पार्टीलगायतसँग भइरहेको एकताको तयारीका विषयमा पनि छलफल हुने भएको छ। माओवादीको पुस २३ गते बसेको केन्द्रीय कार्यालय बैठकले वृहत्त वाम एकताका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल बनाएको थियो। 

कार्यदलले एकताका विषयमा भएको प्रगतिबारे पदाधिकारीलाई जानकारी गराउने भएको छ। आज पदाधिकारी बैठकमा छलफल भएपछि भोलि पुनः स्थायी कमिटी बैठक बस्ने मुख्यसचिव ढकालले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.