|

काठमाडौं : भक्तपुरको दरबार क्षेत्रमा रहेको पाँचतले मन्दिर (न्यातपोल)को जगलाई असर पर्नेगरी खन्ने कार्य भइरहेको छ। संरक्षित स्मारक क्षेत्रभित्र त्यसरी खन्दा पुरातत्त्व विभागबाट स्वीकृति लिनुपर्नेमा त्यो पनि नभएको पाइएको छ ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भक्तपुर नगरपालिका–५, तौमडी क्षेत्रमा पाइपलाइन विस्तार गर्ने क्रममा ऐतिहासिक पाँचतले मन्दिर नै धरापमा पर्ने गरी पाइपलाइनका लागि खोल्सा खनिएको हो। त्यसरी खन्दा मन्दिरको जगका रूपमा रहेको ठूलो ढुंगा फुटाउन थालिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईले पाइपलाइन विस्तार गर्ने क्रममा देखिएको ढुंगा के हो भन्ने विस्तृत जानकारी केयूकेएललाई नभएको बताए। अब भने केयूकेएलले पुरातत्व र नगरपालिकासँग समन्वय गरेर काम गर्ने उनले बताए। ‘मन्दिरको जग नै हो भने हामी पाइपलाइनको वैकल्पिक उपाय खोजी गर्छौँ, उनले भने, ‘सम्पदा नासिने गरी खानेपानीको पाइपलाइन विस्तार हुँदैन।’ 

भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्का प्रमुख अरुणा नकर्मीले प्राचीन स्मारक संरक्षण ऐनमा पुरातात्त्विक  सम्पदा क्षेत्रमा कुनै संरचना बनाउँदा, उत्खनन गर्दा पुरातत्त्व विभागको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख भए पनि अहिले भइरहेको पाइपलाइन विस्तारका लागि स्वीकृति लिएको जानकारी आफूलाई नभएको बताए। 

स्मारक संरक्षित ऐनबमोजिम संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलका लागि जमिन खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्रको सुटिङ गर्न, मेलापर्व नाचगान वा सवारीसाधनको पार्किङ वा पोस्टर टाँस्नसमेत पुरातत्त्व विभागबाट स्वीकृति लिनुपर्छ। 

प्रमुख नकर्मीले पुरातात्त्विक  सम्पदा वरिपरि उत्खनन गर्दा ठूला ढुंगा भेटिन्छन् भने ती ढुङ्गा मन्दिरकै जग हुनसक्ने अनुमान गरे। ‘दरबार हेरचार कार्यालय, नगरपालिकाका जनप्रतिनिधि र केयूकेएलबीच समन्वय गरेर पाइपलाइन खन्ने काम  रोक्न निर्देशन दिनेछौँ।’

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले आफू केही दिनदेखि बाहिर रहेकाले विस्तृत जानकारी नभएको र मन्दिरलाई नै अप्ठ्यारो पर्ने गरी पाइपलाइन खन्न नदिने बताए। नेपालको अनुपम सम्पदाको नमुनाका रूपमा रहेको पाँचतले मन्दिर तत्कालीन राजा भूपतिन्द्र मल्लको समयमा वि‍सं १७०१–१७०२ ताका निर्माण भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.