काठमाडौं : ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बिएण्डबि अस्पतालनजिकै गएराति कार र ट्याक्सी आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
ट्याक्सीमा सवार ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबि अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। ग्वार्कोबाट सातदोबाटोतर्फ गइरहेको बा२ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा४च १ नम्बरको कार गएराति करिब साढे १२ बजेतिर आपसमा ठोकिएका थिए।
कार चालक बिकले मदिरा पिएको पाइएको प्रहरीले जनाएको छ। यस्तै, काठमाण्डौको गौशालामा हिजो दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगरको गएराति मृत्यु भएको छ।
चावहिलबाट गौशाला आउँदै गरेको प्रदेश ३ ०१ ००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई हिजो दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।