|

काठमाडौं : नेपालमा कोरोना महामारीका समयमा खरिद गरिएका कतिपय मेडिकल उपकरणहरु अझै उपयोगमा नल्याउँदा त्यसै थन्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका अनुसार विशेषगरी कोभिड महामारीमा पनि डेल्टा भेरिएन्टको संक्रमणका वेला धेरै मेडिकल उपकरण खरिद गरिएको थियो।

कोभिड संक्रमण उच्च रहेको र अस्पतालमा बिरामी भर्ना हुने दर धेरै रहेको समयमा भए उक्त उपकरणहरूको काम धेरै नै भए पनि हाल कतिपय उपकरण प्रयोगविहीन भएका हुन्।

प्रयोगमा आएका उपकरणहरू पनि आक्कलझुक्कल मात्र प्रयोग भइरहेको व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माको भनाइ छ। ‘अस्पतालहरूमा कतिपय उपकरणको प्रयोग एकदमै न्यून भइरहेका छन् भने कतिपय सञ्चालनको तयारीमा रहेका छन्‚’ उनले भने।

कुन उपकरण कति आए र कति प्रयोगमा छन

आपूर्ति शाखाका अनुसार २०७७ साउनयता हालसम्म १ सय ९५ वटा भेन्टिलेटर आएका छन्। यसमध्ये १२२ वटा हाल प्रयोग नभए पनि जुनसुकै वेला प्रयोगका लागि तयारी अवस्थामा रहेका छन्।

नवजात शिशुदेखि वयस्कमा प्रयोग हुने भेन्टिलेटर १५१ वटा किनिएकोमा हाल ९१ वटा प्रयोगमा छैनन्। यही समयमा प्यासेन्ट मोनिटर ५०३ वटा आएकोमा २६ वटा प्रयोगमा आएका छैनन् भने मोबाइल थर्मोकोगुलेटर ४० वटा आएकोमा हाल ३१ वटा प्रयोगविहीन रहेका भए पनि प्रयोगका लागि तयारी अवस्थामा रहेका छन्।

३८ हेमोडाइलासिस मेसिन र ११६ भिडियो एक्स-रे मेसिन पनि प्रयोगविहीन

आपूर्ति शाखाका अनुसार यही समयमा खरिद र अन्य विभिन्न तवरबाट पाएका ९५ वटा हेमोडाइलासिस मेसिनमध्ये ३८ वटा अहिले प्रयोगविहीन भएका छन्।

११६ वटा भिडियो एक्सरे मेसिन पनि त्यसै थन्किएका छन् तर यी सबै मेसिन सञ्चालनको तयारीमा रहेको बताइएको छ। यसै वेला आएका ८० वटा इसिजी मेसिनमध्ये २० वटा प्रयोगमा आएका छैनन्।

सबै मेसिन आवश्यकताका आधारमा वितरण हुन्छ

महाशाखाका आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार सबै मेसिन आवश्यकताको आधारमा सबै ठाँउमा वितरण गरिने बताए।

इसिजी मेसिन, भेन्टिलेटर, भिडियो एक्सरे मेसिनहरू आवश्यकता र मागअनुसार संघीय अस्पताल, शिक्षण अस्पताल, प्रादेशिक अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला अस्पताल र दुर्गम स्थानमा रहेका पालिकास्तरीय अस्पताललाई समेत वितरण गरिने उनको भनाइ छ।

‘कतिपय मेसिन अस्पताल, स्थानीय तह तथा अन्य निकायले पनि खरिद गर्ने गर्छन् तर हामीसँग पनि उपकरण माग हुने गर्छ। माग भएपछि हामीले आवश्यकताका आधारमा उपकरणहरू वितरण गर्ने गर्छौं‚’ डा चौरासियाले भने।

एनालाइजर मेसिनहरू भने बिरामीको बढी चाप हुने अस्पताललाई दिने गरेको उनले बताए।

वितरण भएका कतिपय मेसिन प्रयोगविहीन जस्तै रहेकाले अब भने आवश्यकताका आधारमा मात्रै वितरण गरिने बताउँछन् व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्मा।

‘कोभिडको वेला वितरण गरिएका आइसियू र भेन्टिलेटरहरू अहिले पनि कतिपय अस्पतालमा एकदमै न्यून प्रयोग भएका छन् हुन त अहिले कोभिड महामारीको समयमा जस्तो बिरामी नभएर पनि हुनसक्छ तर अब वितरण गर्दा उपकरण नभएका संस्था र आवश्यकता हेरेर वितरण गरिन्छ‚’ डा शर्माले भने।

भेन्टिलेटरभन्दा पनि स्थानीय तहहरूबाट भिडियो एक्सरे जस्ता मेसिनको माग पछिल्लो समय धेरै आएकाले अब मेसिन खरिद गर्दा यस्ता खालका मेसिन किन्नुपर्ने अवस्था आएको समेत डा शर्माले बताए।  

देशमा तीन तहको सरकारको संरचना लागू हुँदा खरिद गर्ने निकायहरू संघमा स्वास्थ्य सेवा विभाग, केन्द्रीय आपूर्ति केन्द्र, केन्द्रीय अस्पताल, बीमा बोर्ड तथा शिक्षण अस्पतालहरूबाट खरिद हुने गर्छ भने प्रदेशबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, अस्पतालहरू र स्वास्थ्य कार्यालयहरूले खरिद गर्न सक्छन्।

स्थानीय तहका महानगर, उपमहानगर, नगर र गाउँपालिकाले पनि स्वास्थ्य सामग्री खरिद गर्ने व्यवस्था रहेको छ। उपकरण खरिद गर्न नसकेका स्थानीय तहले महाशाखासँग नै उपकरण माग्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.