|

पर्वत : जलजला गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको जटिलतालाई हरेर टोलमा नै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने भएको छ। वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूलाई पालो र तालिकाअनुसार टोलमा पठाउने गरी निर्णय भएको छ।

निश्चित टोलका ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला पारेर सबैलाई एकै ठाउँबाट सेवा दिँदा उनीहरूले लामो दूरी हिँड्नु नपर्ने गरी टोल टोलमा नै स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।

‘एउटै वडाका भए पनि एउटा गाउँका वृद्ध बुबालाई अर्को गाउँमा रहेको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य परीक्षण गरेर आउँदा दिन नै जान्छ। स्वस्थ भए त हिँड्न सक्नुहोला। बुढेसकालमा घुँडा दुख्ने, दम हुने, आँखा नदेख्ने, ढाडका समस्या धेरैमा हुन्छन्’, उनले भने, ‘यस्ता समस्या भएका उहाँहरू स्वास्थ्य संस्थासम्म हिँडेर जान सक्ने अवस्था रहँदैन। गाउँमा वडाबाट वडा जोड्ने गरी सवारीहरू चल्दैनन्। सबैका घरमा सवारी पनि छैनन्। ग्रामीण क्षेत्रका जिपहरू सदरमुकाम आउजाउ गर्दा एउटा गाउँबाट अर्को गाउँमा जाने सवारी छैनन्।’

शिविरमा ६० वर्ष उमेर पार गरेका सबै ज्येष्ठ नागरिकको निःशुल्क र अनिवार्य रूपमा स्वास्थ्य जाँच गरिनेछ। नागरिकमा सर्ने रोगसँग बढी डराउने र नसर्ने रोगको बारेमा बेवास्ता गर्ने प्रवृत्ति रहेको छ।

भित्रभित्रै मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग लगायतका रोगले गालिसकेको अवस्थामा मात्रै थाहा पाउँदा बचाउन नसकिने अवस्था पनि आउने भएकाले नसर्ने रोगमा बढी केन्द्रित गरिएको हो।

गाउँपालिकाका प्रवक्ता तथा यो अभियान शुरु गरिएको वडा नाग्लीवाङका वडाध्यक्ष हरि विकास जी.सी.ले नसर्ने रोगले भित्रभित्रै कमजोर पारिरहेकोबारे व्यक्ति बेखबर रहँदा जटिल स्वास्थ्य समस्याहरू अचानक देखा पर्ने बताउँछन्। यो अभियानका लागि स्वास्थ्यकर्मीहरूलाई कामको चाप बढी हुने भए पनि उनीहरू पनि तयार रहेको उनको भनाई छ।

‘सर्ने रोगसँग मान्छे डराएको छ तर नसर्ने रोगले भित्रभित्रै सिद्ध्याउन लागेकोमा बेखबर छ। ज्येष्ठ नागरिक त के तपाईँ हामी पनि बिरामी नपरेसम्म स्वास्थ्य परीक्षण गर्दैनौँ। यसका लागि एउटै गाउँमा स्वास्थ्यकर्मीका ५ देखि ७ वटा समूहहरू रहन्छन्। उनीहरूले निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गर्ने छन्’, जी.सी. भन्छन्, ‘स्वास्थ्यकर्मीहरूमाथि चाप बढेको महसुस गरेका छौँ। महिनामा एक पटक विद्यालयमा गएर पढाएको हुनुपर्छ। यता टोलमा पुगेर शिविर चलाएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण पनि गरेको हुनुपर्ने। स्वास्थ्य नै मानिसको पहिलो सम्पत्ति भएकाले उहाँहरूलाई चाप परेको महसुस गरेको भए पनि काम गर्नैपर्ने अवस्था रहेको छ।’

स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण‚ परामर्श सेवा, सामान्य उपचार सेवा र प्रेषण सेवा प्रदान हुने छ। शिविरबाट टोल टोलमा आधारभूत स्वास्थ्य सेवा पनि प्रदान गरिनेछ।

नसर्ने रोगसम्बन्धी प्रारम्भिक पहिचानमा केन्द्रित हुने शिविरहरू गाउँपालिकाका ९ वटा वडामा रहेका ५० भन्दा बढी टोलमा केन्द्रित हुनेछन्। एउटा टोलमा कम्तिमा पनि ३ महिनामा एक पटक स्वास्थ्यकर्मीहरूको टोली पुग्नेछ।

आइतबार नाग्लीवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूबाट यो शिविरको शुभारम्भ भएको छ। शिविरमा आएका ज्येष्ठ नागरिकले स्वास्थ्यकर्मीहरू टोलमा आएर आफ्नो जाँच गरिँदा आफूहरूको दुःख हटेको बताउँछन्।

लौरीको सहारामा पूरै दिन खर्च गरेर सकी नसकी स्वास्थ्य चौकीमा जानु नपर्ने कुराले आफूहरूलाई ठूलो राहत भएको उनीहरूको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.