|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउन गएकी महिलाको निधन भएको छ।

आइतबार बिहान काहुँखोला स्थित संगीता सापकोटाको घरमा भाडामा बस्दै आएका ४५ वर्षीय कृष्ण क्षेत्रीले सोही घरमै रहेको बेलामा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। आफैंलाई आगो लगाएको देखेकी करिब ४० वर्षीया संगीताले तत्काल नै क्षेत्रीलाई बचाउने प्रयास गरिन्। तर क्षेत्रीको शरीरको आगो संगीताको शरीरमा पनि फैलियो र दुवै जना आगोमा जलिरहे।

आगोमा दुई जना जलिरहेको देखेपछि छिमेकीहरूले तत्कालै आगो नियन्त्रणमा  लिएर उनीहरूलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए। करिब ७० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थामा संगीतालाई आइसीयुमा राखेर उपचार गरिएको भए पनि सोमबार मध्यान्ह उनको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताए।

उनी बचाउन नै गएकी थिइन् वा दुवै जना एकै पटक जल्नुमा कुनै कारण थियो भन्ने बारेमा विभिन्न शङ्काहरू बाहिरिएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले भने घटनाका विषयमा अनुसन्धान चलिरहेको र प्रारम्भिक रूपमा महिला बचाउन गएको देखिएको बताएको छ।

आत्मदाह प्रयास गरेका कृष्णको अवस्थामा भने केही सुधार भएको  र अवस्था सामान्य रहेको प्रतिष्ठानले बताएको छ। उनले आफूले किन आत्मदाह प्रयास गरेको हुँ भन्ने कारण नबताए पनि आफ्नै इच्छा अनुसार मर्न प्रयास गरेको र आफूलाई बचाउन गएकी घरबेटी संगीताको कुनै दोष नभएको बताएका छन्। कृष्णले सोही घरमा स्टेशनरी व्यवसाय गर्दै आएका थिए।

शरीरमा पहिले आगो लागेका व्यक्तिभन्दा बचाउन गएकी संगीताको शरीर बढी जलेका कारण घटना शंकास्पद बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.