|

विराटनगर : नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा माघ १९ देखि २८ गतेसम्म हुने सिएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको छ।

चौतर्फी आर्थिक मन्दी छाएको वेलामा यसले औद्योगिक तथा व्यापारिक क्षेत्रमा केही सहयोग पुग्ने अपेक्षासहित एक्स्पो आयोजना गरिएको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए।

एक्स्पोमा वृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टल रहने जानकारी आयोजकले सोमबार गरेको पत्रकार सम्मेलनमा दिएको हो। 

आफ्ना उत्पादन प्रवर्द्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको उनको भनाई छ।

ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषि उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ। त्यसरी स्टल राख्ने उद्यमीका लागि सम्बन्धित स्थानीय तहले एक्स्पोको प्रवर्द्धनमा सहयोग गर्ने आयोजकले जनाएको छ।

एक्स्पोमा बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रूपैयाँ प्रवेश शुल्क र विद्यार्थीका लागि भने ५० रूपैयाँ तोकिएको र साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रूपैयाँ तोकिएको आयोजकले जनाएको छ।

मेलामा करिब ३ करोड रूपैयाँ खर्च हुने र करिब त्यति नै आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए। मेलामा देश तथा विदेशका मानिसले अवलोकन गर्ने अनुमान आयोजकको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.