|

पाटन : सरोकारवालाले मानसिक समस्या (डिप्रेसन) भयो भनेर लज्जित नहुन र सकारात्मक विषयमा ध्यान दिन सुझाव दिएका छन्।

ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्राडा सूर्यप्रसाद ढुंगेलले मानसिक समस्या पनि एक प्रकारको रोग भएकाले सचेत भई समयमै उपचार गर्नुपर्ने बताए।

‘मानसिक समस्या भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन । हरेक मान्छेमा समस्या हुन्छ । कति प्रतिशत भन्नेमात्रै हो । पाँच–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ । धेरै प्रतिशत हुँदा समस्या हुने हो”, उनले भने, ‘आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो। बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो। एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ।’

कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरकफरक हुने बताए। ‘असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो । त्यसलाई वेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ’, उनले भने।

अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले आत्महत्या गरेर मर्नेको मलामी जानु पनि महापाप हुन्छ भन्ने कुरा मनुस्मृतिको पाँचौँ अध्यायमा उल्लेख भएको बताए। ‘सबै धर्मग्रन्थले आत्महत्या गर्नुलाई पापको रूपमा व्याख्या गरेका छन्’, उनले भने। 
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण मानसिक समस्या बढ्दै आत्महत्यासम्म पुग्ने गरेको तर्क गरे।

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्रा डा नन्दिता शर्माले मानिसमा असीमित  चाहनाहुँदा महत्वकांक्षाले नकारात्मकतातिर लैजाने र परिपूर्ति नहुँदा आत्महत्यासम्म पुग्ने गरेको बताए। ९९ प्रतिशत आत्महत्या जनचेतना, समन्वय र सहयोगमार्फत रोक्न सकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.