|

रौतहट : पछिल्लो समय बचत तथा ऋण सहकारी संस्था खोलेर सर्वसाधारण ठग्ने प्रवृत्ति बढ्दै जान थालेको छ। बचत तथा ऋण सहकारी संस्था खोलेर स्थानीय व्यापारी र सर्वसाधारणलाई बचत गर्न लगाउने र केही समयपछि टाप हुने सहकारीको संख्या बढ्दै गएको छ।

करिब दुई वर्षअघि रौतहटको चन्द्रनिगाहपुर खुलेको एमएस इन्भेष्टमेन्ट प्रालि खुल्यो। उक्त संस्थाका कर्मचारी राखेर चन्द्रनिगाहपुर, सन्तपुर, डुमरिया, बालचनपुर लगायतका व्यापारी तथा सर्वसाधारणको घर वा पसलमा पुगेर बचत गर्न प्रोत्साहन गरे।

व्यापारी तथा सर्वसाधारणले बचत गर्न थालेको ६ महिनामै उक्त संस्था फरार भएपछि बचतकर्ताहरू बिचल्लीमा परे। उक्त संस्थाका सञ्चालकलाई खोज्न बचतकर्ताहरूले विभिन्न निकायमा उजुरी दिए पनि हालसम्म पत्ता लाग्न सकेन।

उनले सर्वसाधारणको करिब ५ लाखभन्दा बढी बचत लिएर फरार भएको चन्द्रनिगाहपुरका बचतकर्ता शेख रहिमले जनाकारी दिए।

यस्तै रौतहटको सदरमुकाम गौरमा रहेको धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सयभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएपछि बचतकर्ताको बिल्लीबाठ भएको छ।

गौर नगरपालिकाको बीपी चौकमा रहेका धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा व्यापारी तथा सर्वसाधारणले जम्मा पारेको रकम लिएर सञ्चालक सहितका कर्मचारी फरार भएपछि अहिले उनीहरु घर न घाटका भएका हुन्।

उक्त सहकारी संस्थामा विभिन्न क्षेत्रका व्यक्ति दिनभरको मेहनतबाट कमाएको रकम जम्मा पर्दै आएका थिए।

गौर नगरपालिका वडा नं ७ की गायत्री देवी पासवानले दैनिक ज्यालादारी गरेर दुई छोरी अंशु कुमारी र वर्षा कुमारीको नाममा जम्मा गरेको १ लाख २६ हजार सावा रकम लिएर सञ्चालक मनोज गिरी यतिवेला सम्पर्कविहीन भएको दुखेसो सुनाइन्।

करिब ८ महिनाअघि फरार गिरी अहिलेसम्म सम्पर्कमा आउन नसकेको पासवानले बताइन्।

मलाई ब्याज चाहिँदैन, सावा दिए पुग्छ, धेरै मेहनत गरेर, आफ्नो र बालबच्चाको पेट काटेर जम्मा गरेको रकम लिएर भाग्दा अहिले अकाशबाट खसे झैँ भएको उनले बताइन्।

गायत्री मात्रै पीडित होइनन् धनलक्ष्मीले धेरै सर्वसाधारणलाई पीडा दिएको छ। सोही वडाका शेख सदाको १ लाख ८ हजार, शेख जाजुको २ लाख ५० हजार, फेकन दर्जीको १ लाख ७० हजार, मोबारक दर्जीको १ लाख ३५ हजार, सुरेन्द्र साह तेलीको ३२ लाख गरी सयौं बचतकर्ताको करोडौं रकम लिएर सञ्चालक गिरी फरार भएको पीडितले बताए।

यस विषयमा धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। सर्वसाधारणको करोडौं रकम लिएर फरार सञ्चालक गिरी सहित कर्मचारीहरू भारतमा हुन सक्ने बचतकर्ताको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.