|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकेसँगै दलहरूबीच आफ्नो उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन रस्साकस्सी शुरु भएको छ। आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको कार्यतालिका तय गरेसँगै कुन दलले राष्ट्रपति पाउने भन्ने विषय पेचिलो बनेको हो। 

सत्ता साझेदारमध्येको प्रमुख घटक नेकपा एमालेले पुस १० गतेको सहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने अडान लिइरहँदा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने राष्ट्रिय सहमतिको बखेडा झिकेको छ।

एमाले र कांग्रेस दुवैले आ–आफ्नो दलले राष्ट्रपति पाउने दावी गरिरहेका छन् तर दुवै दलसँग राष्ट्रपति निर्वाचित गराउन पुग्ने पर्याप्त मतभार छैन।

१६ हजार मतभार रहेको एमाले माओवादी केन्द्रको ढुलमुले नीतिले सकसमा परेको छ। माओवादीले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्टपति बनाउनुपर्ने झमेला निकालिरहेको छ। माओवादीले एमालेसहितको राष्ट्रिय सहमतिको विषय उठाइरहेको छ। 

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एमालेसहित राष्ट्रिय सहमति गरेर साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। 

‘राष्ट्रपतिको २५ गतेको निर्वाचनका लागि हाम्रो पार्टीले राष्ट्रिय सहमति कायम गर्छ। एमालेसँगको सहमति बिग्रिँदैन। एमालेसहितको राष्ट्रियसहमति कायम हुन्छ,’ प्रवक्ता महराले भने। 

माअ‍ोवादी केन्द्रका सचिव गणेश शाहले पनि राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताएका छन्। उनले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टी क्रियाशील भएको स्पष्ट पारे। उनको भनाइले पनि माओवादीले सकेसम्म एमालेइतर व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्ने चाहना राखेको संकेत गरेको छ।

उनले भने, ‘राष्ट्रपति संविधानको मर्म र भावनालाई पूरा गर्ने, विश्वसनीय व्यक्ति जसलाई राष्ट्रले पत्याएको होस्‚ त्यस्तो राष्ट्रिय सहमतिको व्यक्तित्व खोजेर उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नेकपा (माओवादी केन्द्र) ले आफ्नो अग्रसरता र क्रियाशीलता अगाडि बढाएको छ।’

माओवादीसँग सशंकित एमाले

एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिका लागि आफ्नो निर्देशनअनुसार चल्ने उम्मेदवारको खोजीमा छन्। अध्यक्ष ओलीले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने व्यक्तिको सुइँको आफूनिकटका नेताहरूलाई समेत नदिए पनि उनले विगतमा राष्ट्रपतिलाई दोहोर्‍याएको र सभामुखको चयनमार्फत नै त्यसको छनक दिइसकेका छन्। 

अध्यक्ष ओलीले सभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाउँदा पनि पार्टीभित्र छलफल नै नगरी टुंगो लगाएका थिए।

अध्यक्ष ओलीले राष्ट्रपतिमा अघि सार्ने व्यक्ति दलगत स्वार्थभन्दा माथि उठ्न नसक्ने आँकलन स्वयं प्रधानमन्त्री प्रचण्डले नै गरेका छन्। उनले एमालेले बनाउने राष्ट्रपतिसँग काम गर्न सहज नहुने अहिलेबाटै महसुस गरेपछि राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिको टुंगो लगाउनुपर्ने रटान लगाइरहेका हुन्। 

माओवादी केन्द्रले अघि सारेको राष्ट्रिय सहमतिमा एमालेको उम्मेदवार कि कांग्रेसको भन्ने टुंगो लाग्न सकेको छैन। एमाले नेताहरूले राष्ट्रपति एमालेको भागमा परेको बताइरहँदा माओवादीले भनिरहेको ‘राष्ट्रिय सहमतिको राष्ट्रपति’मा एमालेको उम्मेदवार पर्न सक्छ कि सक्दैन ? भन्ने प्रश्नमा उपाध्यक्ष महरा भन्छन्, ‘कसको साझा व्यक्ति राष्ट्रपति हुन्छ भन्ने कुरा तय हुन बाँकी छ।’

स्थायी कमिटी सदस्य दिनानाथ शर्मा पनि महराले भनेकै कुरा दोहोर्‍याउँछन्। उनले भने, ‘हामीले राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छौं तर एमालेको हुन्छ कि हुँदैन भन्न सकिँदैन।’ 

गत पुस १० गते भएको एमाले-माओवादी सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले अघि सारेको राष्ट्रिय सहमतिको विषयले सत्ता साझेदारीको प्रमुख दल एमाले सशंकित हुन थालेको छ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पुस १० गतेको सहमति तलमाथि नहुने दाबी गर्छन्। 

‘हामीले पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन मुख्य रोल खेलेको होइन? उक्त वेला प्रचण्डले सरकारको नेतृत्व गर्ने र राष्ट्रपति तथा सभामुख एमालेले पाउने सहमति भएको थियो। अहिले पनि सोही कायम रहन्छ। राष्ट्रपति एमालेका उम्मेदवार हुन्छन्। यसमा सत्तारुढ दल सबैको सहयोग रहने विश्वास एमालेको छ,’ उपाध्यक्ष पाण्डेले भने। 

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपतिमा एमालेको उम्मेदवार कायम हुने बताए। विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्रबाटै राष्ट्रपति होस् भन्ने चाहेको बताए। 

‘प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन,’ उनले भने, ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन, प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ।’

राष्ट्रिय सहमतिको रटान, छलफल शून्य

माओवादी केन्द्रका नेताहरूले राष्ट्रिय सहमतिबाट राष्ट्रपति टुंगो लाग्ने रटान दोहोर्‍याउँदै आइरहेका छन्। सञ्चारमाध्यमहरूमा माओवादी नेताहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउने अभिव्यक्ति दिए पनि माओवादीभित्रै अहिलेसम्म यसबारे छलफल नै भएको छैन। 

स्वयं प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको टुंगो लाग्ने निरन्तर भट्याइरहेका भए पनि दलहरूसँग कुनै छलफल भने गरेका छैनन्। सार्वजनिक कार्यक्रममा राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गराउन कोशिस जारी राख्ने बताएका प्रचण्डले यसबारे न त सर्वदलीय बैठक बोलाउन सकेका छन् न दलहरूसँग नै छलफल अगाडि बढाएका छन्। 

राष्ट्रपति र सभामुख नै एमालेलाई दिँदा सरकारलाई काम गर्न असहज हुने डर प्रचण्डलाई छ। राष्ट्रपति र सभामुख दुवै पद दिँदा आफू संकटमा पर्ने डर प्रधानमन्त्री प्रचण्डमा रहेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

‘केपी ओलीजीले सिफारिश गरेका व्यक्तिसँग काम गर्न प्रधानमन्त्रीज्यूलाई सहज छैन। त्यसमाथि राष्ट्रपति र सभामुख दुवै पद दिँदा सरकारबाट बर्हिगमित हुनुपर्ने डरसमेत सम्माननीय प्रधानमन्त्रीज्यूमा छ,’ स्थायी कमिटीका ती सदस्यले भने। 

सत्ता साझेदार दलकै भोट तान्ने कांग्रेसको रणनीति

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताउँदै आएको छ। कांग्रेसले माओवादी केन्द्रसहितका सत्ता साझेदारीमा रहेका दलको भोट तान्ने रणनीति लिएको छ। यसका लागि कांग्रेसले सत्तारुढ दलले स्वीकार गर्न सक्ने व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहेको छ।

सांसद प्रदीप पौडेलले कांग्रेसले उम्मेदवार बनाउने व्यक्ति संविधानलाई टेकेर काम गर्ने भएकाले सबै दलहरूको समर्थन पाउनेमा आफूहरू विश्वस्त रहेको बताए। सांसद पौडेलले सबै दलहरूले स्वीकार गर्न सक्ने व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउने बताए।

‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ह्वीप लाग्दैन। यो स्वविवेकको कुरा हो। हिजोका राष्ट्रपतिको मर्यादाबारे विचार गरेर कांग्रेसले उठाउने व्यक्ति संविधानको रक्षा र संविधानलाई टेकेर काम गर्ने हुन्छ। त्यसकारण सबैले भोट हाल्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने। 

एमाले अध्यक्ष ओलीले तय गरेको राष्ट्रपतिको उम्मेदवारलाई गठबन्धन दलले सहयोग नगर्नेमा सांसद पौडेल ढुक्क छन्। 

‘सत्तारुढ दलभित्र साझा अवधारणा बन्न सकेको छैन। केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारमा उठाउने व्यक्ति उहाँको निर्देशनअनुसार चल्ने खालको हुन्छ। उहाँले उम्मेदवार बनाउने व्यक्तिलाई सत्तारुढ दलहरूले स्वीकार गर्दैनन,’ उनले भने। 

महामन्त्री विश्वप्रकाश शर्माले पनि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति निर्वाचित हुनेमा ढुक्क रहेको बताए।

‘हामीले नै छलफल गरेर टुङ्ग्याउन गणित पुग्दैन। २५/२६ हजार मतभार चाहिन्छ‚ हामीसँग केवल १६ हजार मतभार छ। १६ हजार मतभारमा अरु दलको पनि मतभार गाँसेर जाँदै गर्दा छलफल र विमर्शपछि उम्मेदवार टुङ्ग्याउनु उचित हुन्छ। कांग्रेसले समर्थन गरेर अघि सार्ने उम्मेदवार नै देशको राष्ट्रपति बन्नुहुन्छ,’ उनले दावी गरे।

कांग्रेसले राष्ट्रपतिका लागि उम्मेदवार उठाउने दावी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गरे। कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नेमा आफूहरू विश्वस्त रहेको उनको दावी छ। 

‘कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्छ। हामीले उठाएको व्यक्ति राष्ट्रपति बन्नेमा विश्वस्त छौं,’ उनले भने। प्रवक्ता महतले माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन पाएको दावीसमेत गरे। 

‘सरकारको नेतृत्व गरिरहेको दलबाट राष्ट्रपतिमा सहयोगको आश्वासन पाएका छौं। यद्यपि यो विषय अझै टुंगो लागिसकेको भने छैन। अझै संवाद र छलफलबाट हामी अन्तिम निष्कर्षमा पुग्छौं,’ उनले भने। 

जसपा पनि साझा व्यक्तिको पक्षमा

सत्ता सहयात्री दल जनता समाजवादी पार्टी पनि राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउँछ। जसपा सांसद् राजकिशोर यादवले विगतका घटनाहरूबाट पाठ सिकेर साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताए।

‘राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनु उपयुक्त हुन्छ। राष्ट्रपति सेरेमोनियल हुनुपर्छ। संविधानले पनि यसलाई दलभन्दा बाहिर परिकल्पना गरेको छ। साझा र स्वीर्कायता भएको व्यक्तित्व विगतमा राष्ट्रिय जीवनमा योगदान गरेको, संविधानप्रति जवाफदेही र समावेशी व्यक्तिलाई राष्ट्रपति बनाउन सकियो भने राष्ट्रपति पदको गरिमालाई उँचो गर्छ र सबैलाई स्वीकार्य हुन्छ,’ उनले भने। 

सांसद यादवले विगतका घटनाबाट दलहरू दुई ध्रुवमा विभाजित भएको बताए। उनले आफ्नो दलको राष्ट्रपति भए स्वार्थअनुकूल काम गराउन सकिन्छ र अर्को आफूभन्दा फरक भयो भने अफ्ठ्यारोमा पार्छ कि भन्ने चिन्ताको विषय देखा परेको बताएका हुन्। 

‘राष्ट्रपतिलाई राष्ट्रको अभिभावकको रुपमा लिएका छौं तर विगतमा संविधान मिचेर कार्यकारी जसरी काम गरेको पाइयो। अहिले दलहरूबीच दुई विषय देखा परेको छ। एक आफ्नो अनुकूलको मान्छे भयो भने स्वार्थ अनुकूलको काम गराउन सकिन्छ र अर्को आफूभन्दा फरक भयो भने अफ्ठ्यारोमा पार्छ कि भन्ने चिन्ताको विषय देखियो,’ सांसद यादवले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.