|

विराटनगर : पछिल्लो समय अधिकांश ऊर्जाशील नेपाली युवा रहर र बाध्यताका पोको बोकेर विदेशिएका छन्।

अभाव र अशिक्षाको रापले पिल्सिएका केही युवा सस्तो मूल्यमा श्रम बेचिरहेका छन् भने पढेलेखेका युवा अमेरिका, अष्ट्रेलिया र युरोपमा सुनौलो सपना बोकेर पलायन भएका छन्।

स्वदेशमा केही गरौँ भन्ने युवाहरू यहाँको प्रशासन प्रणालीप्रति वाक्क छन् त कोही राजनीतिसँग दिक्क बनेका छन्।

यस्तै परिस्थितिमा हातमा शैक्षिक प्रमाणपत्र भए पनि भनेजस्तो रोजगार नपाएको भन्दै गुनासो पोख्ने युवाहरूको एउटै लक्ष्य हुन्छ विदेश पुग्ने। उतै बसोवास गर्ने।

नेपालमा अवसर नदेख्ने र परदेशमा भविष्य खोज्दै आर्थिक व्यवस्थापनको सपना बोकेर देश छोड्ने युवाको भीडमा केही गर्छु भन्ने हुटहुटीले व्यावसायिक यात्रा आरम्भ गरेका २२ वर्षे ठिटा यति वेला संघर्षको दौडमा छन्।

युरोपको सपना तुहाएर विराटनगरको माटोमा अर्गानिक व्यवसायको वीउ रोप्ने बेलबारीका अभिषेक गौतमले दश महिना अगाडिदेखि अर्गानिक घर सञ्चालनमा ल्याएका हुन्।

त्यसो त उनलाई पनि सहपाठी साथीहरू झैँ सुखद जीवनशैली जिउने र युरोप, अमेरिकामै बसोवास गर्ने सपनाले नपिरोलेको पनि होइन। तर नेपालमै अवसरको बाटो खोज्दै केही गरौँ भन्ने उद्देश्यले परदेशी सपना त्यागेको उनी सुनाउँछन्।

उनले नेपाली बजार त्यसमा पनि शहरी क्षेत्रका बजारमा सहजै पाउन नसकिने कृषि उत्पादनलाई उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले व्यवसाय यात्रा आरम्भ गरेका  गौतमले नेपालका विभिन्न जिल्लाबाट खाद्यान्न सामग्री निर्यात गरेर विक्री वितरण गर्दै आइरहेका छन्।

उनले प्रदेश १ का विभिन्न जिल्ला संखुवासभाको जडिबुटी, सक्खर, सोलुखुम्बु, इलामको ग्रिन टी, धनकुटाको घ्यू, खोटाङको राजमादेखि लिएर मुस्ताङ, जुम्ला, कास्कीको चामल, दाल, कोदोफापर विराटनगरका उपभोक्तामाझ पुर्‍याउने गरेका छन्।

‘यो खालको व्यावसायिक धारणा नेपाली ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक खाद्यान्नलाई प्रवर्धन गरौँ भन्ने उद्देश्यले ल्याएको हो’, उनले भने, ‘प्रदेश १ का विभिन्न पहाडी जिल्ला र नेपालको सुदूरपश्चिमका हिमाली जिल्लाबाट डाइरेक्ट कृषकसम्म पुगेर सामान निर्यात गर्ने गरेको छु।’

धेरैजसो युवाले क्याफे सञ्चालनमा ल्याउने भएकाले आफूले केही फरक गरौँ र स्वास्थ्यका लागि पनि लाभदायक हुने भएकाले पनि यो व्यवसाय सुरु गरेको उनी सुनाउँछन्।

त्यसो त उनी दुई वर्षसम्म अनलाइनमार्फत नै व्यवसाय गर्दै आइरहेका थिए तर जब ब्याचलरसम्मको अध्ययन सके त्यसपछि व्यावसायिक हिसाबले अघि बढेका उनी पढाइकै सिलसिलामा विराटनगर आएका रहेछन्।

व्यवसाय गर्दै पढाइलाई निरन्तरता दिएका उनले दश महिनाको अन्तरालमा एकजनालाई रोजगार समेत दिएका छन्।

सुरुवातका दिनमा निकै अप्ठ्यारो झेल्नु परेको उनीसँग थुप्रै अनुभव छन्। यद्यपि निरन्तरता र मेहनतले सहज वातावरण बनाउँदै अघि बढेको बताउने उनी अहिले पनि सोचे जस्तो सहज भने नभएको सुनाउँछन्।

आफूले विक्री गर्न पसलसम्म ल्याउने सामग्री दुर्गमका गाउँबाट सामान संकलन गरेर ल्याइपुर्‍याउन हप्ता दिनसम्म लाग्ने उनले बताए।

‘नेपालको अवस्था हेर्ने हो भने ग्रामीण क्षेत्रबाट खाद्यान्न सामग्री संकलन गरेर यहाँसम्म ल्याउन सवारीसाधनको समस्या छ’, उनले भने, ‘त्यसो त कानुनी हिसाबले पनि धेरै संघर्ष गर्नुपर्ने हुन्छ, के गर्नु अप्ठ्यारोमा नै सजिलो पनि खोज्नुपर्ने रहेछ।’

उनले व्यवसाय सञ्चालनका पहिलो वर्ष पार गरेलगत्तै खाद्य विभाग गुण नियन्त्रणबाट घरेलुमा दर्ता गरेर घ्यूलाई ब्राण्ड बनाउने तयारी रहेको समेत बताए। उनले भने, ‘अन्य सामग्रीलाई पनि ब्राण्ड बनाउने तयारी रहेको छ।’

किसानबाट उत्पादित बस्तु बजारीकरण गर्न पाउँदा सन्तुष्टि मिल्ने भए पनि विविध समस्या झेल्नुपर्दा उनलाई असहज महसुस नभएको पनि होइन। काम गर्दै जाँदा कहिलेकाहीँ खुद्रा व्यवसायबाट कहिले सफलता प्राप्त गर्ने भन्ने विषयले उनलाई नपिरोलेको पनि होइन तर गुन्द्रुक नै बेचे पनि नेपाली उत्पादनलाई बजारीकरण गर्नु पाउँदा धेरै आत्मसन्तुष्टि मिल्ने गरेको उनी सुनाउँछन्।

‘कहिलेकाहीँ आइपर्ने असहज परिस्थितिसँग दिक्क पनि लाग्छ, साथीभाइ विदेशमा गएर महिना दिनमा लाखौँ कमाउँदा आफूलाई यो खुद्रा व्यापारबाट कहिले उभो लाग्ने भन्ने पनि हुन्छ’, उनी हाँस्दै सुनाउँछन्, ‘तर गुन्द्रुक नै भए पनि नेपाली बजारमै बेच्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.