|

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिघास्थित रंगभूमि मैदानमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ। हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार १६ वर्षमुनिको (यू–१६) प्रतियोगिता शुरु भएको हो।

खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रुपमा गरे। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपमेयर साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए।

उपमेयर साहले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकेट संघलाई सुझाव पनि दिए। ‘पहिला खेलसँग लगाव थियो। दैनिक खेल खेल्थेँ,’ साहले स्कुले जीवन सम्झिँदै भने, ‘अब खेलमा लगानी गर्ने ठाउँमा छु। खाका लिएर आउनुस्, सक्दो सहयोग गर्छौं।’

अन्य वक्ताले खेल मैदान अभाव रहेको गुनासो गरेका थिए। धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षाअनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए।

‘वर्षौंदेखि खेलको समस्या जहाँको त्यँही छ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले एउटा भएको मैदानलाई नै व्यवस्थित बनाउन सकेको छैन। नेता र जनप्रतिनिधिहरू चुनावको वेलामात्रै ठूला ठूला भाषण गर्छन्।’

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादनमा सघाउन आयोजित प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन्। ३ समूहमा विभाजन गरी लिग प्रणालीमा क्रिकेट प्रतियोगिता भइरहेको छ।

प्रतियोगिता सकिएपछि प्रतिभावान खेलाडीको समूह बनाएर नियमित प्रशिक्षण दिने आयोजक संस्थाको तयारी छ। उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक सेकेण्डरी इंग्लिश बोर्डिङ स्कुल र सिद्धार्थ शिशु सदन माविबीच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.