|

काठमाडौं : ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा खेल्न नेपाली महिला यू–२० टोली बुधबार बंगलादेश जाने भएको छ। टोलीलाई मंगलबार बिदाई गरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मुख्यालयमा कार्यक्रम गरेर महिला टोलीको बिदाई गरेको हो। फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा ४ राष्ट्रले प्रतिष्पर्धा गर्दै छन्। उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधि जित्ने लक्ष्य लिएको छ।

नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी राम्रो भएको बताए। उनले तयारीको सम्बन्धमा अवधि छोटो भए पनि अभ्यासका क्रममा खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार भएकाले प्रतियोगितामा सुखद् नतिजा निकाल्नेमा आशावादी रहेको प्रतिक्रिया दिए।

अघिल्ला संस्करणमा उपविजेतासम्म बनेको टोलीले यसपटक राम्रो गर्न दबाब भएको उनले बताए। 

दक्षिण एशियाली राष्ट्रहरूको प्रतिष्ठित प्रतियोगिता साफ फुटबलअन्तर्गतको महिला यू–२० को चौथो संस्करण बंगलादेशको ढाकामा शुरु हुँदै छ। फेब्रुअरी पहिलो साता हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदै छन्।

नेपाली टोलीकी कप्तान प्रिती राईले पनि छोटो समयमै पनि तयारी राम्रो भएको र अभ्यासअनुसार खेल्न सके नेपाली टोलीले अपेक्षाअनुसारको नतिजा निकाल्ने दावी गरिन्। प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको र राम्रो गर्नेमा आफू आशावादी भएको बताइन्। 

प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवी र यू–१७ विश्वकप खेलेका खेलाडी भए पनि नेपाली टोलीले स्वाभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य लिएको राईले बताइन्। 

अघिल्ला संस्करणका साफ यू–१८, साफ यू–१९ नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता अहिले भने यू–२० बाट हुन लागेको हो। अघिल्लो इतिहास हेर्दा उपविजेतामा सीमित रहेको नेपाली महिला टोलीले ढाकामा हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ।

च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ। मुख्य प्रशिक्षक गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरेका थिए। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ। त्यसको २ दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.