|

दाङ : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछाने प्राध्यापकको गुणस्तर दैनिक खस्कँदै गएको स्विकारेका छन्।

मंगलबार बेलझुण्डी क्षेत्र विकास समितिको ९ औं वार्षिक साधारणसभामा बोल्दै उनले अघिल्लो पुस्ताका खारिएका प्राध्यापक जस्तो पछिल्लो पुस्ताको प्राध्यापक नभएको पनि बताए।

उनले भने, ‘मैले यहाँका मात्र भन्ने खोजेको होइन। अघिल्लो पुस्ता खारिएको हुँदा उनीहरूले दोस्रो पुस्तालाई पनि खारिएर अगाडि बढाए। अहिलेको पुस्तामा राजनीतिको रंग लाग्दा बिग्रिदै गए।’

उनले राजनीतिको रंगले शिक्षकले आफ्नो मर्यादा भुलेको पनि बताए। उनले भने, ‘कक्षामा पस्दैनन्, पसे पनि पढाउँदैनन्। संस्कृत विश्वविद्यालयबाट उत्पादित जनशक्ति एकदमै राम्रो छ। विद्यार्थीलाई कक्षामा गएर राम्रो पढाएपछि विद्यार्थीले राम्रो शिक्षक खोज्छन् तर अहिले शिक्षकले मर्यादा भुलेका कारण गुणस्तर पनि खस्कँदै गएको छ। हाजिर गरेर गए पनि वा नआए पनि हुने भयो। उनीहरूलाई जागिरबाट निकाल्ने अधिकार कसैको छैन।’

उनले विश्वविद्यालयमा सक्षम कर्मचारी ल्याउन खोज्दा तालाबन्दी गरेको आरोप लगाए। विश्वविद्यालयका पदाधिकारी नियुक्त भएको करिब २० महिनापछि तालाबन्दी भएको भन्दै उनले यहाँका बासिन्दाले मानो काटेर जग्गा दिएर स्थापना गरेको विश्वविद्यालयमा तालाबन्दी हुँदा स्थानीय सरकार र बासिन्दाले साथ नदिएको गुनासो गरे।

उनले भने, ‘तपाईँहरूले आफ्नो मानो काटेर विश्वविद्यालय स्थापना गर्नका लागि सहयोग गर्नुभयो। विश्वविद्यालय स्थापना भएपछि यस क्षेत्रको उन्नति हुन्छ। आफ्ना सन्तानले पनि पढ्न पाउँछन् भन्ने उद्देश्य थियो होला। म आएको २० महिनापछि यहाँ तालाबन्दी भयो तर तपाईँहरूले चासो दिनु भएन।’

उनले स्थापना गर्दा रहे जस्तो सक्रियता अहिले विश्वविद्याल सञ्चालनमा पनि साथ दिन आग्रह गरे। उनले गलतलाई गलत र सहीलाई सही भनेर साथ दिन पनि आग्रह गरे। उनले विश्वविद्यालमा समय समयमा तालाबन्दी गरेर पढाइ प्रभावित पारेको पनि बताए। संस्कृत विश्वविद्यालयको बारेमा उपकुलपति भएर आएपछि मात्र नभई २०५२ सालदेखि नै यसका गतिविधिको जानकार रहेको पनि बताए।

आफू त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएको बताउँदै यहाँ पठनपाठनका लागि नआएको पनि बताए। उनले भने, ‘म यहाँ प्रशासनिक संयोजन गर्न आएको हुँ। म पढाउन आएको होइन। संस्कृतमा मेरो ज्ञान छैन। संस्कृतमा ज्ञान भएको शिक्षाध्यक्ष हुनुहुन्छ। सरकारले नियुक्त गर्दा सन्तुलन मिलाएर राखेको छ।’

उनले अब आउने दक्ष जनशक्ति स्वच्छ र खुला प्रतिस्पर्धाबाट छानियोस् भन्ने मूल उद्देश्यका साथ २०७८ चैत १६ गते उपप्राध्यापकका लागि खुला विज्ञापन गरिए पनि चैत १९ गतेदेखि तालाबन्दी गरेपछि त्यो विज्ञापन तत्कालीन प्रधानमन्त्रीले अनिश्चितकालीन बन्द गर्दा अहिलेसम्म बन्द रहेको छ।

उनले भने, ‘केही साथीले अब खेलेर सेवा आयोग पास गर्न सकिन्न भनेर नै करारमा राख्नुपर्छ भनेर धम्क्याउनु भयो। त्यसैले अब हामी यो बाटो जानु हुँदैन। करारमा राख्दा दक्षताको विषयमा सम्झौता गरेको हुन्छ। विद्यार्थीलाई अन्याय गरेको हुन्छ। अभिभावकलाई पनि अन्याय हुन्छ भनेर करारको बाटो बन्द गर्दा तालाबन्दी भयो।’

उनका अनुसार विश्वविद्यालयमा करारमा राख्दा पछि दरबन्दीअनुसार विशेष आन्तरिक प्रक्रिया भनेर सभाबाट पास गरेर विज्ञापन गर्ने र विषयगत भन्दा टाउको गनेर हुन्छ। त्यसैले त्यसलाई रोक्न सक्षम र विषयगत हुनुपर्छ भनेर खुला विज्ञापन गरे पनि तालाबन्दी भएको बताए।

उनले विश्वविद्यालयमा तालाबन्दी भएपछि समाधान गर्न कर्मचारीहरूसँग छलफल गर्दा समेत कुनै सहयोग नपाएको बताए। उनले तालाबन्दीका बारेमा आफ्नो क्वाटरमा बोलाएर छलफल गर्दा कसैले सहयोग नगरेको गुनासो गरे।

उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली हुँदा उपकुलपति नियुक्त भए पनि आग्रह, पूर्वाग्रह नराखेको दाबी गरे। उनले भने, ‘व्यक्तिगत रूपमा को कसले नियुक्त गरेर आयो भन्दा पनि उसको व्यवहारमा परिवर्तन छ कि छैन भन्ने हुन्छ। मैले राजनीतिक आग्रह वा पूर्वाग्रह राखेर कुनै पनि कर्मचारी र शिक्षकलाई भेद गरेको छैन।’

उनले यही गतिमा विश्वविद्यालय जानुभन्दा यसलाई अध्ययन संस्थानका रूपमा बिउँझाउनुपर्ने पनि बताए। उनले भने, ‘म पछाडि अब एकदुईजना भिसी हुनसक्छन् तर यही गतिमा विश्वविद्यालय गएमा काम छैन। भवन बन्दै गएका छन् तर  विद्यार्थी घट्दै गएका छन्। यस्तै भइरहे यसलाई भिसी, रजिष्ट्रार, रेक्टर,  डाइरेक्टर राख्नुभन्दा अध्ययन संस्थानका रूपमा बिउँझाउनु पर्छ।’

उनका अनुसार राज्यले विश्वविद्यालय सञ्चालनमा वार्षिक करिब एक अर्ब खर्च गरेको पनि बताए। उनले यति धेरै खर्च गरेर विश्वविद्यालयबाट राम्रो सक्षम आचार्य पास गरेका १० जना विद्यार्थी निस्कन समेत शंका भएको बताए।

उनले भने, ‘परीक्षा नियन्त्रण कार्यालयमा धेरै जना पास भएको देखिन्छ। तर १० जना पनि एकदमै राम्रा विद्यार्थी निस्कने अवस्था छैन। त्यसैले मैले अब राम्रो मान्छे निक्लियौ भनेर खुला विज्ञापन गरेको हो। त्यसै कारण गर्दा विश्वविद्यालयमा तालाबन्दी भएको हो तर त्यसको समाधान प्रक्रियामा गए पनि यो बारम्बार बल्झिरहन्छन्।’

यो समस्या क्यान्सर रोग जस्तै भएको पनि उनको भनाइ छ। क्यान्सर भए पनि अलिकति किमो दिएर सेक्दा ठिक भए जस्तो हुन्छ तर फेरि उस्तै भइरहन्छ। यो तालझुण्डी रोग पनि बल्झिरहने बताए।

कार्यक्रममा शिक्षाध्यक्ष भीम खतिवडाले संस्कृति निर्माण गर्ने कुरामा विश्वविद्यालयले पाठ्यक्रममा समय अनुकूल परिमार्जन गरिरहेको पनि बताए। विश्वविद्यालयमा १६/१७ वटा शास्त्रीय विषय रहेको र आचार्य विद्यावारिधिको पठनपाठनको व्यवस्था गरेको पनि बताए। नयाँ पुस्तालाई संस्कृतको बारेमा जानकारी दिन जरुरी रहेको बताए। उनले आफू २०४८ सालमा बेलझुण्डीमा पढ्न आउँदाको अवस्था र अहिलेको अवस्था उस्तै रहेको उल्लेख गरे।

उनले विश्वविद्यालयले वास्तुशास्त्र पनि पढाउन थालेको बताए। उनले भने, ‘अब छोराछोरीलाई कक्षा ११-१२ विज्ञान पढेपछि त्यसपछि वास्तु शास्त्र पढाउनुहोस्। त्यो विज्ञान हो। त्यसैले अब वास्तुशास्त्रमा छोराछोरीलाई पढाऔँ।’

यस्तै उनले हामीसँग भएको साँघुरो विचार धारालाई फराकिलो बनाउन आवश्यक रहेको पनि उल्लेख गरे। उनले संस्कृत विश्वविद्यालयमा बाहुनले मात्र पढ्छन् भन्ने बुझाइ रहेको भन्दै कुनै जातिले मात्र नभई सबैले पढ्न सकिने पनि बताए।

यस्तै विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले आयुर्वेद अध्ययन संस्थानअन्तर्गत प्राकृतिक चिकित्सा सञ्चालन गर्न लागेको पनि बताए। उनका अनुसार करिब २ सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी रहेको छ।

एक सय शय्याको आयुर्वेद र एक सय शय्याका प्राकृतिक चिकित्साको अस्पताल हुने पनि उनले बताए। यो निर्माण गर्न करिब ७० करोड खर्च लाग्ने र अहिले भवन डिभिजन कार्यालयमा १० करोड र प्रदेश पूर्वाधारमा ८ करोड ३० लाख आएको पनि उनले बताए।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी अध्ययनका लागि बेलझुण्डी आएको पनि उनले बताए। पहिले संस्कृत पढ्नका लागि आउने गरेको र अहिले आयुर्वेद पढ्न आएको उनको भनाइ छ। अहिले विभिन्न ठाउँमा संस्कृतको पढाइ हुन थालेपछि विद्यार्थी कम भएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.