|

गौर : रौतहट प्रहरीले छापा मारेर ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरेको छ। प्रहरीले गौर नगरपालिका वडा नं–५ मा रहेको फूलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारी ठूलो परिमाणमा अखाद्य वस्तु बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका वडा नं–५ मा रहेको फूलतारा डेरी उद्योेगमा मंगलवार छापा मारेका हुन्।

बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य वस्तु ठूलो परिमाणमा बरामद गरेको छ। उक्त कार्यमा संलग्न डेरीका सञ्चालक राजपुर नगरपालिका वडा नं–१ भगवानपुर घर भएका महम्मद मतिउल्लालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सञ्चालक मतिउल्ला सहित त्यहाँ कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार सोधपुछका क्रममा भैंसी सहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट विभिन्न चोेर बाटो भएर नेपालमा भित्र्याइएको बुझिएको छ।

उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, हेटौंडा, नारायणगढ, काठमाडौं सहित मुलुकको विभिन्न स्थानमा सप्लाइ गर्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले प्राप्त सूचनाको आधारमा प्रहरीले छामा मारेको बताएका छन्। उनले त्यहाँ बरामद भएको अखाद्य वस्तुको परीक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम सञ्चालक सहित दोषीलाई कारबाही गरिने बताएका छन्।

परीक्षण गर्न खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सर्लाहीलाई खबर गरिसकेको उनले बताए।

यता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव शरीरलाई हानि पुर्‍याउने खाद्य पदार्थमा अखाद्य बस्तु मिसावट गरेर विक्री वितरण गर्दै आएको उजुरी परेपछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा फूलतारा डेरी उद्योगमा छापा मारिएको बताए।

बरामद भएका बस्तुको परीक्षण गरेर कानुन बमोजिम कारबाही हुने उनको भनाइ छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.