|

पथलैया : भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ। भारतको गोरखपुर मन्दिर परिसरमा विशेष हवन र पूजापछि देवशिला बुधबार अयोध्यातर्फ पठाइएको हो।

धार्मिक विधिअनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले गोरखपुरमा देवशिलाको हवन पूजाआजा गरेका थिए। गोरखपुरस्थित गोरखनाथ मन्दिरमा मंगलबार राति ल्याइएका शिलालाई स्थानीयले स्वागत गरेका थिए।

आज बिहान गोरखपुरमा गरिएको हवनपछि सञ्चारकर्मीसँग नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल-भारतको सांस्कृतिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। 

उनले यो काम सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए।

शिला बिदाई कार्यक्रममा गोरखनाथ मन्दिर प्राङ्गणमा स्थानीय तथा श्रद्धालुको उपस्थिति रहेको थियो। शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वरदास, राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलगायत हिन्दू स्वयंसेवक संघ, विश्व हिन्दू परिषद् नेपालका पदाधिकारीको सहभागिता रहेको छ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते आइतबार शिला अयोध्यातर्फ पठाइएको थियो। शिला बुधबार साँझ अयोध्या पुग्नेछ। त्यहाँ नेपालका तर्फबाट कांग्रेस नेता निधि र जानकी मन्दिरका महन्थ दासले शिला हस्तान्तरण गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.