|

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)का सांसद एवम पूर्वमन्त्री रघुजी पन्तले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान र कानुन विपरित प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अस्वीकार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका मन्त्री पाण्डेले गृहजिल्ला चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। 

संविधान र कानुनको परिधिभित्र रहेर मन्त्रीहरु चल्नुपर्नेमा त्यस विपरित जानु मुलुकको लागि हितकर नभएको बताए। उनले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरुलाई डेढ घण्टासम्म भएपनि उपस्थित हुने व्यवस्था गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराए । 

‘यो संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरुले आफ्नो गतिविधिलाई, अभिव्यक्तिहरुलाई अगाडि बढाउनु पर्दछ । संविधान अनुसार सपथग्रहण गर्नु भएको, संविधान र कानुन अनुसार चल्छु भनेर सपथ लिनु भएको मन्त्रीज्यूहरुले प्रधानमन्त्रीज्यूसँग यसरी आफ्ना कुरामा अन्तरविरोध गर्न मिल्दैन,’ सांसद पन्तले भने, ‘प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरुबीच यसरी सार्वजनिक रुपमा विवादमा आएको राम्रो होइन । यस्तो विषयमा उहाँहरुबीच छलफलको जरुरी छ भने क्याविनेट वा उहाँहरुबीच बसेर छलफल गर्ने हो । तर सार्वजनिक गर्न मिल्दैन। सार्वजनिक अभिव्यक्तिहरुमा प्रधानमन्त्री र मन्त्रीज्यूहरुको अभिव्यक्ति बाझिनु राम्रो कुरा होइन।’

सांसद पन्तले संसदको गरिमालाई उचो राख्न पनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरुले केही समय दिनुपर्ने तर्क समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.