|

काठमाडौं : जापानले कीर्तिपुर आँखा अस्पताललाई आँखा उपचार तथा शल्यक्रियामा आवश्यक विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री दिएको छ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानीहरूका तर्फबाट नेपाल नेत्रज्योति संघअन्तर्गतको कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएका आँखा स्वास्थ्यसम्बन्धी उपकरण हस्तानान्तरण गरेका हुन्।

करिब १ करोड ८५ लाख नेपाली रूपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीहरू जापान सरकारको सहयोग  कार्यक्रमअन्तर्गत अनुदानमा प्रदान गरिएको हो। ती स्वास्थ्य उपकरण तथा सामग्रीहरू रेटिनासँग सम्बन्धित रोगको उपचारमा प्रयोग हुन्छन्।

उनले कीर्तिपुर आँखा अस्पतालमा बुधबार आयोजित कार्यक्रममा ती उपकरण तथा सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

पाल नेत्रज्योति संघले विसं २०७२ सालमा स्थापित आँखा उपचार केन्द्रलाई नै विसं २०७४ सालमा कीर्तिपुर आँखा अस्पतालमा स्तरोन्नति गरिएको थियो। स्थापनाको शुरुवातदेखि नै अस्पतालले सर्वसाधारणलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा दिँदै आएको छ।

अस्पतालको सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरण प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा विसं २०७७ साल कात्तिक १९ गते नेपालस्थित जापानी दूतावास र नेपाल नेत्रज्योति संघबीच हस्ताक्षर भएको थियो।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनाको आँखा उपचार गरेको थियो भने हालसम्म अस्पतालले करिब ७ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिसकेको छ। तीमध्ये करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो।

अस्पतालले हाल काठमाडौं र ललितपुरमा गरी ४ वटा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा लुभु आँखा उपचार केन्द्र सञ्चालनमा छ।

काठमाडौंका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकाली आँखा उपचार केन्द्र र चन्द्रागिरी नगरपालिकामा चन्द्रागिरि आँखा उपचार केन्द्र रहेका छन्।

हाल नेत्रज्योति संघले देशभरि २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।

संघले आर्थिक अभावमा कुनै पनि नेपालीले दृष्टिविहीन जीवन बिताउनु नपरोस् भनेर घरदैलोमै सहज, सुलभ र सस्तो गुणस्तरीय उपचार प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियानसमेत सञ्चालन गर्दै आएको छ। यसबाट गरिबीको रेखामुनि रहेका धेरै नेपालीले निःशुल्क आँखा उपचार तथा शल्यक्रियासमेत गराइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.