|

बागलुङ :  जैमिनी नगरपालिकाको तीनवटा वडाको संगमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुंगाले छाएको मन्दिर छ।

मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भागहरू राखिएको छ। भुरे टाकुरे राजाहरूले तत्कालिन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप संकटमा परेको छ। 

जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको गलकोटे राजाहरूसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ। 

कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग वि.स. २०३० सालमा खेतमा भेटिएपछि  स्थानीयले पुन: बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन्।

जैमिनी नगरपालिका–१० राङ्खानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको संगमस्थलमा रहेको १८औं शताब्दीमा स्थापना गरिएको थन्थाप माईको मन्दिरमुनिको डाँडामा रहेको कोत घर र कोत घरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरवीर थापाले बताए।

'कोतमा भुरे टाकुरे राजाहरूले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोपको केही कोत मन्दिरभित्र  गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ’,थापाले भने, ’पुरानो सत्तल स्थानीयको पहलमा मर्मत सम्भार गरिएको छ, पुरातत्व विभागले अनुसन्धान गरेपछि तोप संरक्षणमा कुनै चासो दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्न सके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनु पर्दछ।’

मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भएपनि तोप हराउने सम्भावना उत्तिकै छ। स्थानीयले तोप हराउने भएकाले गाडेर राखेका हुन्।

थन्थाप माई मन्दिरदेखि एक किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्ग जस्तै भएको छ। तत्कालिन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको हो।

तत्कालिन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्रम स्थल, रानीको सयन कक्ष तथा पुजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिए। कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिढी, ओखाल लगायतका संरचना झाडीले पुरेर रूख उम्रेको आचार्यको भनाइ छ।

’यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन् गर्ने र केही जानकारी सहितको सूचना बोर्ड स्थापना गर्ने लगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्’, आचार्यले भने, ’कुनै सानो कुराको प्रचारप्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरूले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरू हराई सकेको अनुमान छ, राज्यले संरक्षणमा लगानी गरे कोतघरलाई पुरानै स्वरूपमा जीर्णोद्दार गर्न सकिन्छ।’

त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडीको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिए।

थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालीन सेनाले निर्माण गरेका बंकरहरू केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतको लागि निर्माण गरेका सत्तलको भंगावशेष देख्न सकिने सचिव थापाको भनाइ छ।

ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचिनकालका मौलीक सामाग्रीहरू मासिँदै गएको स्थानीयको गुनासो छ।

तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरू समेत चोरी भइसकेकाले तत्कालै संरक्षण्को पहल गर्नुपर्ने  सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, औसेलुको लगायतका विरुवाको झाडी बनेको छ। दरबार, चौपारी जीर्ण भएका छन्। दरवार क्षेत्रदेखि करिव एक सय मिटर पूर्वपट्टी रानीले घाम ताप्दै कपाल कोर्न गरेको चट्टान जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुंगाको नामले पहिचानसमेत गरिएको छ।

तीन वर्ष अघि गण्डकी प्रदेश सरकारले साढे छ लाख र वडा कार्यालयको दुई लाख लागतमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको भए पनि मुख्य कामहरू जस्तै उत्खनन्, सूचना बोर्ड र जिर्णोद्वारा गर्न बाँकी रहेको सचिव थापाको भनाइ छ।

कोतमा बडादशैँ र चैतेदशैँमा विशेप पूजा हुन्छ। उक्त क्षेत्रमा खानेपानी तारबार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनःनिर्माण, सूचना मूलक बोर्ड तथा उत्खनन्को काम बाँकी छन्।

गढी क्षेत्रको संरक्षण, पुनःनिर्माण, उत्थनन्को लागि राज्यले विशेष ध्यान दिन सके पर्यटनको विकास हुनुका साथै इतिहासको अध्ययन स्थलको रुपमा विकास गर्न सकिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।

शर्माले नगरपालिकाले पर्यटन पर्बद्धनका लागि ल्याएको योजना त्यही कोत मन्दिर र थन्थापमाईको मन्दिर संरक्षण र जीर्णोद्वारमा केन्द्रित हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.