घोराही : सल्यान कपुरकोट गाउँपालिका-३ निवासी तुल्सीराम शर्माले घोराही उपमहानगर-१६ रावतगाउँमा करिब ३ करोडको लगानीमा साबुन उद्योग सञ्चालन गरेका छन्।
दुई दशकअघि कपुरकोटमा निजी विद्यालय सञ्चालन गरी उनी शिक्षा क्षेत्रमा लागेका थिए। सशस्त्र द्वन्द्वकालमा विद्यालय बन्द गराइदिएपछि उनी रोजगारीका लागि विदेश गए।
केही वर्ष विदेश बसेपछि उनी फेरि नेपाल आएर कपुरकोटमा मोबाइलको पसल गरे। त्यसपछि उनी कपुरकोटबाट दाङको घोराही आएर विभिन्न कम्पनीका मोबाइलको डिलर लिएर व्यवसाय गरेका थिए।
त्यसबाट पनि सन्तुष्ट हुन नसकेपछि आफू उद्योगी बन्ने हुटहुटी जागेपछि मेलिना मल्टिपल प्रालि नाम फर्म दर्ता गरेर स्मृति साबुन बजारमा ल्याएका छन्। उनका अनुसार साबुन उद्योग आम्दानीको स्रोत बन्ने र धेरै बेरोजगारलाई रोजगार दिने योजनामा रहेका छन्।
उद्योगबाट अहिले दैनिक करिब एक कार्टुन साबुन उत्पादन गर्दै आएको उनले बताए। उद्योगमा अहिले ९ जनाले रोजगारी पाएको समेत उनले बताए।
भारतबाट कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गर्ने गरेको उनले बताए। उनका अनुसार आगामी दिनमा आफ्नै उद्योगमा कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरिएकाले स्मृति साबुन निकै भरपर्दो रहेको पनि उनको भनाइ छ। अरूभन्दा कडा मैलिएका कपडा सजिलै निखार्ने उनको दावी छ।
अहिले उत्पादित साबुन बुटवलदेखि पश्चिम क्षेत्रका बजारमा जाने गरेको पनि उनले बताए। बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका मुख्य शहरसहित पश्चिम नेपालका पहाडी जिल्लामा स्मृति साबुन जाने गरेको उनले बताए।
अहिले कपडा धुने साबुन मात्र उत्पादन गरिएको भन्दै उनले आगामी दिनमा नुहाउने साबुन, सरफ, भाडा माझ्ने साबुन र हर्पिक उत्पादनको तयारी समेत रहेको समेत बताए।
उनले भने, ‘विदेश तथा मोबाइल व्यवसायमा वैदेशिक रोजगारीबाट त्यति सन्तुष्ट हुन नसकेपछि आफ्नै देशमा केही गर्ने आशाका साथ नेपाल फर्किएर मोबाइल व्यवसायमा लागेँ। त्यसबाट पनि सोचे जस्तो भएन। अनि साबुन उद्योगतिर लागेको हुँ। हरेक क्षेत्रमा प्रतिस्पर्धा छ। जति राम्रो सामान उत्पादन गरे पनि विश्वास दिलाउन समस्या छ।’
अन्य उद्योगमा उत्पादन हुने साबुनभन्दा आफ्नो उद्योगबाट उत्पादन भएको साबुनमा कुनै कमी नभएको भन्दै पनि बताए।
यस्तै उनले आफ्नो ठाउँमा केही गरौँ भन्ने युवालाई राज्यले केही अनुदान दिनुपर्ने समेत बताए।
उनले भने, ‘पछिल्लो समय युवाहरूले देश छोड्ने क्रममा बढ्दो छ। यहाँ राम्रो गर्छु भन्नेले राज्यबाट केही पाउँदैन्। हरेक क्षेत्रमा बिचौलिया हुन्छन्। जसले गर्दा वास्तविक व्यक्तिले राज्यबाट अनुदान पाउन सक्दैन्। जसले गर्दा स्वदेशमै केही गरौँ भन्नेहरू पनि बाहिर जान बाध्य हुन्छन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।