|

काठमाडौं : हामी यतिखेर डिजिटल युगमा छौं। अहिले हरेक मान्छेको दैनिकी नै डिजिटल गतिविधिबाट सुरू हुन्छ। यसले देशको विकासमा पनि ठूलो भूमिका खेलेको छ।  प्रविधिको युगमा सेवा तथा वस्तुको बजारीकरण पनि डिजिटल माध्यमबाटै हुन थालेका छन्।

नेपालमा व्यवसायीक डिजिटल माध्यमहरूको उपस्थिति र सम्भावना कस्तो छ? डिजिटल माध्यमहरूलाई देशको विकाससँग कसरी जोड्न सकिन्छ? थाहाखबरले यसबारे स्विफ्ट टेक्नोलोजीका संस्थापक सुवास शाहीसँग कुराकानी गरेको छ। 

स्विफ्ट टेक्नोलोजी के हो? यसले के काम गर्छ? 

यो एक सफ्टवेयर इन्जियनियरिङ कम्पनी हो। हामीले हङकङ, सिंगापुर र मलेसियाजस्ता देशका सफ्टवेयर कम्पनीहरूलाई दक्ष इन्जिनियर उपलब्ध गराउने काम गर्छौं। उनीहरूका फरक–फरक अपेक्षा पुरा गर्न हामीले नेपाली सफ्टवेयर इन्जिनियरहरूमार्फत् सेवा दिँदै आएका छौं। घरबाट नै काम गर्न सकिन्छ। 

यो प्रविधिको युग हो, नेपालको अर्थतन्त्रमा यसको भूमिका महत्वपूर्ण रहेको छ। अहिले कति कर्मचारीहरूलाई रोजगार दिइरहनुभएको छ? 

अहिले हामीसँग १ सय भन्दा बढी इन्जीनियर हुनुहुन्छ। उहाँहरूले हाम्रा क्लाइन्टहरूको सबै काम हेरिरहनु भएको छ। 

यसरी नेपालबाट विदेशी कम्पनीहरूलाई सेवा दिँदा के कस्ता समस्या आउँदा रहेछन् ? 

सबैभन्दा ठूलो समस्या देशबाट विदेशमा पैसा पठाउन नमिल्ने रहेछ। यदि कसैले यहाँ आएर काम गरेर नाफा लैजान्छु भन्दा धेरै झमेला रहेछ। विदेशबाट यहाँ काम गर्नेहरू ज्यादै कम रहेछन्। जसले गर्दा गुगलजस्ता ठूला–ठूला व्यापारिक संस्थाहरू नेपालमा आएर संस्था खोल्दैनन्। नेपालमा नै संस्था खोलिदिने निति नियम बनाउनुपर्ने हो । विश्वको प्रविधिमा नेपालको खास नाम छैन। विदेशी संस्थासँग हाम्रा इन्जिनियरको हेलमेल नभएकाले हाम्रो वर्किङ कल्चर पनि विकसित भएको छैन। अन्तर्राष्ट्रिय ट्रेण्ड नबुझेको जस्तो देखिन्छ, जसले अन्तर्राष्ट्रिय मार्केटमा हामी पिछडिएका छौं कि भन्ने लागेको छ।

यताबाट  पैसा पठाउन समस्या रहेछ भन्नुभयो। यताबाट पठाउनुपर्ने आवश्यकता किन पर्छ?

सफ्टवेयर इन्जिनियरिङका लागि कहिलेकाहीँ डलर तिर्नुपर्ने हुन्छ, त्यसपछि मात्र सफ्टवेयर चलाउन पाइन्छ। सामान्य गुगल प्ले स्टोरमा एप अपलोड गर्नुपर्‍यो भने  पनि डलर तिर्नुपर्छ। यो अवस्थामा विदेशमा हुने आफन्तलाई गुहार्नुपर्छ। 

हुन त अहिले बैंकहरूले क्रेडिट कार्डको व्यवस्था गरेका छन्। तर, यो एकदमै सानो पैसाका लागि मात्र हो। सानो रकमको व्यापार गर्दा सानो व्यापारी बनिन्छ। ठूलो रकमको कारोबार गर्दा ठूलो व्यापारी बनिन्छ। 

तपाईंको अफिस हङकङकेन्द्रित छ। तर नेपालमा बसिरहनुभएको छ नि?

म सँग धेरै विकल्पहरू छन्। तर, माटोको माया लाग्ने रहेछ। हङकङमा बसेर काम गर्दा मलाई देशमा नै गएर किन नगर्ने भन्ने लाग्यो। यसकारण म नेपालमा बसेर काम गरिरहेको छु।

तपाईंकोमा काम गर्न चाहनेलाई कसरी छनौट गर्नुहुन्छ? 

हामीले हेर्ने भनेको उहाँहरूको कामको अनुभव नै हो। रेगुलर कम्पनीहरूले जसरी गर्छन्, त्यहि नै हो। 

नेपालमा अहिले कुन–कुन प्रोडक्टमा आबद्ध हुनुहुन्छ? 

हामीले सयपत्री भन्ने पेमेन्ट सिस्टम तयार पारेका छौं। हामीले त्यो निकाल्नुको कारण के थियो भने एउटा इको–सिस्टममा हार्डवेयर पेमेन्ट सिस्टमको कमी थियो। त्यो समस्या मैले देखेपछि म आफैले त्यस किसिमको सफ्टवेयर बनाएको छु। त्यसले के गर्छ भने कुनै एप खोल्नुपर्दैन। कार्डले सबै काम गर्छ। जस्ट ट्याप एण्ड गो भन्ने खालको छ।  यो कार्डलेस र कार्डबोथ सिस्टम हो। 

अहिले चलिरहेको क्यूआर पेमेन्ट र तपाईंहरूले बनाएको सफ्टवेयरमा के कस्ता भिन्नता छन्? 

 क्यूआर प्रयोगकर्तासँग इन्टरनेट हुनैपर्ने भयो। तर, हाम्रोमा भने युजरसँग इन्टरनेट नहुने तर मर्चेण्टसँग इन्टरनेट हुने हुन्छ। कहिलेकाही इन्टरनेट नहुँदा युजरलाई आपत परिरहेको हुन्छ। तर, हाम्रो सफ्टवेयरमार्फत इन्टरनेटबिना पनि पेमेन्ट गर्न सकिन्छ। प्रविधिको ज्ञान नहुनेले पनि यो प्रणाली लागू गर्न सक्छन्। 

यसमा बच्चाहरूलाई मोबाइलको आवश्यक पर्ने भएन। हजुरबुबा हजुरआमालाई पनि सहज हुने भयो। 

तपाईंहरूको नेपालमा कार्यालय छ वा छैन? 

कोरोना कालअगाडि नेपालमा अफिस थियो। अहिले छैन। किनभने कोरोनाको असर देखियो। त्यसले घरमा नै बस्ने माहोल देखायो। त्यसपश्चात् कर्मचारीहरूले पनि  घरमा नै बसेर काम गर्न रुचि देखाएपछि अफिस बन्द गरेका हौं। अफिस जाने समय बचत भयो। अहिले हरेक कुरा रिमोटबाट हुन्छ। कार्यालयमा बस्दा बढी गफ हुने तर घरमा हुँदा काममा दत्तचित्त भएको मैले महसुस गरेको छु। उनीहरूले कसरी काम गरिरहेका छन् भन्ने पनि टेक्नोलोजीकै माध्यमबाट निरीक्षण भइरहेको हुन्छ। घरमा बसेर पनि राम्रो काम हुन सक्छ भन्ने हामीले देखाइरहेका छौं।

नेपालमा सर्भर डाउनको समस्या भइरहन्छ। अस्ति भर्खर पनि सरकारी सर्भरमा समस्या आयो। तपाईंको सर्भरमा पनि यस्तो समस्या आउँछ? समस्या आउनुको कारण के हो? 

हामीकहाँ १०-५ को माइण्डसेट छ। ह्याक दिउँसो मात्र हुने होइन। नेपालमा मात्र होइन, विश्वभर ह्याकिङको समस्या छ। आइटीमा दक्ष मान्छे राख्न नसक्नु नै सर्भर ह्याकको मुख्य समस्या हो। सरकारले दक्ष आइटी विज्ञहरू राख्न सक्दैन। सर्भरको निगरानीमा दक्ष जनशक्ति राख्न आवश्यक छ।  आइटीमा दक्ष मान्छे राख्न नसक्नु नै समस्याको मूल जरो हो। अनि अर्को, कम मुल्यमा धेरै काम लगाउन खोज्नु सरकारी समस्या हो। कर्मचारीको आवश्यकता परिपूर्ति सरकारले गरिदिने हो भने दक्ष मान्छेहरू सरकारको आइटी सेक्टरमा काम गर्थे। क्षमताअनुसार प्रतिफल नदिएपछि उनीहरू प्राइभेटमा सर्छन्। सरकारी सर्भरहरूमा यसको असर देखिन्छ।

सर्भर ह्याक नियन्त्रणका लागि तपाईंहरू सरकारसँग समन्वय गर्न चाहनुहुन्न या अवसर पाउनुभएन? 

हामीलाई अवसरको कमी हो। सरकारले फेयर रुपमा टेण्डर दिदैँन। यहाँ नेताले चाहेको व्यक्तिले पाउने हो। टेण्डरमा गर्नुपर्ने झमेलाका कारण हामी सधैँ पछाडि पर्छौं। सरकारले गर्ने टेण्डरमा शुद्धता हुने हो भने आइटीमा अन्तराष्ट्रिय स्तरमा काम गरेका व्यक्ति तथा संस्थाहरूले अवसर पाउने थिए। ह्याकिङको समस्या पनि दीगो रुपमा समाधान हुन सक्थ्यो। हामीले स्टाण्डर्ड मेन्टेन गरिदिन सक्थ्यौ‌ं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.