|

विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले हाताहती काम गर्नुपर्नेमा जोड दिएका छन्।

विराटनगरमा आजदेखि शुरु भएको सिआइएन कोशी एक्स्पोको उद्घाटन समारोह सम्बोधन गर्दै अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँदै छ भनेर नहुने बताएका छन्।

उनले पुस १० गतेयताको सवा महिनामा देशको अर्थतन्त्र सुधार भएको दाबी गर्दै अदालतको परमादेशपछि बनेको सरकारको कारण अर्थतन्त्र डामाडोल बनेको आरोप लगाए।

उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक पुग्न लागेको आरोप लगाउँदै आगामी दिनमा त्यसलाई सुधार गरिने समेत बताए।

उनले अघिल्लो सरकारलाई इंगित गर्दै त्यही हिसाबले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था रहेको दाबी गरे।

उनले भने, ‘त्यसयताको सवा महिनामा गरेको प्रयासले केही सकारात्मक कदम चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन कदम चाल्ने काम भएको छ।’

उनले अहिले जुहारी खेल्ने वेला नरहेको भन्दै व्यङ्ग्यात्मक भाषामा उनले कुराले च्यूरा नभिज्ने समेत बताए।

उनले अहिलेको औद्योगिक व्यावसायिक क्षेत्रको कुरा पनि त्यही रहेको बताउँदै सरकारको कुराले उद्योगीको च्यूरा नभिज्ने बताए।

ओलीले पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता माधवकुमार नेपालको अभिव्यक्तितर्फ औँल्याउँदै भने, ‘एकजना मान्छेले भन्थे– नगदानगदी, हाताहाती भन्ने गर्थे। त्यो उनको पदको कुरा हो। म पदको कुरा होइन, समस्या समाधानको कुरा गरिरहेको छु।’

उनले भने, ‘कुरा सुनेर के पशुपतिलाई सुनाएको हो? यस कुरालाई यो जवाफ यसको समाधान यो भनेर दिनुपर्छ।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध आक्रोश व्यक्त गर्दै डेढ वर्षमा अर्थतन्त्र ध्वस्त भएको आरोप लगाए।

उनले यस्तो निराशा कहिल्यै नआएको बताउँदै अब पुनः अर्थतन्त्र उभो लाग्नेमा जोड दिए।

‘हाम्रा ऋषिमुनिहरू डेढ वर्ष त तपस्या गरेरै बिताउँथे। अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने ?’‚ उनले भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ। सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काहीँ लाग्यो होला।’

उनले परमादेशबाट आएको ग्रहणले डेढ वर्ष छोप्यो भन्दैमा आत्महत्या गर्न नहुनेमा जोड दिए।

उनले आफूले विगत स्मरण गर्दै भने, ‘मलाई डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा राखेर बुट र लाठी मात्रै हान्थे र त्यति गर्दा पनि कहिल्यै पनि हिम्मत हारिनँ।’

४ वर्ष चिसो सिँढीमा राखेर मन्त्री हुन लागेका होइन भन्दै लात्ताले हान्ने गरेको बताउँदै उनले भने, ‘हुनत प्रधानमन्त्री हुन परेको रहेछ।’

उनले आफ्नै भोगाइका कुरा सुनाउँदै आत्महत्याको बाटो कहिल्यै पनि नरोज्न भन्दै उद्योगी व्यापारीलाई सुझाए। चिसो छिडीमा बेलुका बस्दा चिसो पानी खन्याइरहेको हुने र सुकुलमा बस्यो। तलबाट पानी हाल्ने त्यस्तो जिन्दगी पनि आफूले बिताएको बताए।

उनले भने, ‘तर आत्महत्याको बाटो कहिल्यै सोचिनँ।’

उनले बाँचुन्जेल हिम्मत हार्न नहुने बताउँदै उनले भने, ‘ज्यूँदो मान्छे त मान्छे जस्तै हुनुपर्‍यो नि। बिनामुद्दा थुनेको थुन्यै गरेको अवस्था त भोगेर आइयो।’ राजनीतिमा मात्रै नभएर ग्रहण भनेको सबै ठाउँमा लाग्न सक्ने बताउँदै सबै आशावादी हुनुपर्नेमा जोड दिए।

उनले उद्योगी व्यापारीको समस्या समाधानका लागि आफूले निरन्तर छलफल गरिरहेको समेत बताए।

उनले आफूले चीनतिरबाट पनि बाटो खोलेको बताउँदै कुनै पनि मौसममा नरोकीन डबल लेनको हाइवे किमाथांका–विराटनगर बाटो बन्ने बताए।

उनले भने, ‘मैले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग पनि कुरा गरेको छु। उहाँले तपाईंहरू जति उत्पादन गर्नुहुन्छ। जे जे कुरा उत्पादन गर्नुहुन्छ यहाँ पठाउनुहोस् हामी किन्छौं भन्नुभएको छ।’

उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि कुरा गरेको बताए। उनले अहिले भारतको एउटा बौद्धिक टोली नेपाल आएको बताउँदै नेपाल, भारत, बंगलादेश र म्यान्मा चारवटा देशको कनेक्टिभिटी, व्यापार, सडक पूर्वाधारको विषयमा अध्ययन गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.