|

वृन्दावन : वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलका कारण सो नगरपालिकामा रहेका सरकारी विद्यालयका शिक्षकहरू समस्यामा परेका छन्।

वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलका कारण नगरपालिकाअन्तर्गतका सबै विद्यालयका दिवा खाजा कार्यक्रम प्रभावित भएको छ। अधिकृत भुजेलले चालू आवको ६ महिनाको भुक्तानी नदिँदा दिवा खाजा प्रभावित बनेको हो।

सो नगरपालिकामा रहेको एउटा विद्यालयका प्रधानाध्यापकका अनुसार ६ महिनादेखि दिवा खाजाको रकम भुक्तानी नदिँदा दिवा खाजा कार्यक्रम नै बन्द गर्ने अवस्था आएको छ।

नाम खोल्न नचाहेका ती प्रधानाध्यापकले भने, ‘उधारोमा पसलवालाहरूसँग खाजाको समान ल्याउँदै आएको र अब उधारो दिन पसल साहुहरू आनाकानी गर्न थालेका छन्। अब भुक्तानी नदिए दिवा खाजा कसरी चलाउने सकस भयो।’

समाचार स्रोतका अनुसार भुजेलले कमिशन नपाएका कारण दिवा खाजाको भुक्तानी रोकिएको हो। उनले कमिशन दिनेलाई खुरुखुरु भुक्तानी दिने र कमिशन नदिनेको भुक्तानी रोक्ने गरेको समाचार स्रोतको दावी छ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भुजेल कार्यालय समयमा कार्यालयमा नबस्ने गरेका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेलले मेयर र उपमेयरबीच फाटो ल्याउने काम गरेकाले मेयर-उपमेयरबीच बोलचाल नै बन्द भएको छ।

कमिशन बिना कामै नगर्ने बाँनी परेका भुजेलका कारण नगरपालिकासमेत अस्तव्यस्त बनेको भन्दै सो नगरपालिकाका निर्वाचित केही जनप्रतिनिधि भुजेलको सरुवाको माग गर्दै मन्त्रालयसम्म पुगेको समाचार स्रोतले बताएको छ।

यसभन्दा पहिला रौतहटकै ईशनाथ नगरपालिकाको प्रमुख हुँदा भुजेलले त्यहाँ समेत मेयर र उपमेयरबीच फाटो ल्याएर आफ्नो दुनो सोझ्याउने काम गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.