|

म्याग्दी : उत्तरतिरका सेता हिमाल फुस्रा देखिन थालेका छन्। हिउँले ढाकिएर चाँदी जस्तै देखिने यी हिमालहरु अहिले काला पहाड जस्ता देखिन्छन्। यो वर्ष हिउँदमा अहिलेसम्म पानी नपर्दा माटो सुख्खा छ। कृषि उत्पादनमा कमी हुने र डढेलोसम्मको जोखिम बढेको छ।

मध्य हिउँद कटिसक्दा पनि न हिउँ परेको छ, न वर्षा नै भएको छ। सामान्यतयाः हरेक हिउँदमा एक–दुई खेप झमझम् पानी दर्किन्थ्यो। गड्याङगुडुङ मेघ गर्जनसहित पर्ने झरी कहिले त दुई तीन दिनसम्मै लम्बिन्थ्यो। यसले जाडो बेस्सरी बढाउँथ्यो। तर, यो वर्ष जाडोयाम सकिन लाग्दा पनि न हिउँ परेको छ न पानी।

म्याग्दीमा मध्य असोजदेखि नै पानी परेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो ३० वर्षको औसत हिउँदे वर्षाको तुलनामा यो वर्ष अहिलेसम्म करीब पाँच प्रतिशत मात्रै पानी परेको छ।

मध्य मंसीरदेखि मध्य फागुनसम्म (१ डिसेम्बरदेखि फेब्रुअरी अन्तिमसम्म) का तीन महीनालाई हिउँद मानिन्छ।

दक्षिण एशियाली क्षेत्रको हिउँदे पानीलाई प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिले असर गर्ने जल तथा मौसम विज्ञान विभागको ठहर छ। जल तथा मौसम विज्ञान विभागका डा. इन्दिरा कडेलका अनुसार प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट नेपाल छिरेपछि त्यसले हिउँदे वर्षा गराउँछ।

तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरमा यो वर्ष पानीको तापक्रम औसतभन्दा कम हुनपुग्यो, जसले हावाको बहावमा परिवर्तन गरेर पश्चिमी वायुलाई सक्रिय हुन दिएन। यसलाई प्राविधिक भाषामा ‘लालिना प्रणाली’ विकसित भएको भनिने कडेलले जानकारी दिए। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घटेर वर्षा कम भएको बताइएको छ।

मौसम वैज्ञानिकहरुले गरेको जलवायु प्रारुपका आधारमा यो वर्ष प्रि–मनसुनको शुरुआत अर्थात फागुन र चैतमा वर्षाको सम्भावना सरदरभन्दा कम रहेको बताएका छन्।

नेपालमा हुने सरदर वार्षिक वर्षामध्ये करीब ८० प्रतिशत मनसुन याम (जुन–सेप्टेम्बर)मा हुन्छ। बाँकी वर्षा मनसुन पूर्व र पछिका महीना तथा हिउँदमा हुन्छ। जलवायु परिवर्तनका कारण दीर्घकालमा हिउँदमा हुने वर्षाको दर घट्दै जाने र वर्षा तथा सुख्खायामबीचको विषमतालाई अझै चर्काइदिने जोखिम रहेको केही जलवायुविज्ञको अनुमान छ।

हिउँदमा वर्षा कम हुँदा वातावरण, प्रकोप र कृषिका क्षेत्रमा विभिन्न प्रभाव पर्छ।  हिउँदे वर्षा नहुँदाको सबैभन्दा ठूलो प्रभाव कृषि उत्पादनमा पर्छ। कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीका अनुसार, हिउँदे वर्षा नहुँदा सबैभन्दा बढी मार गहुँ बालीलाई पर्छ। देशमा सिँचाइ हुने क्षेत्रफल कम रहेकाले अधिकांश किसान आकाशे पानीमा भर पर्छन्। गहुँ बालीलाई पानी चाहिने बेला घर्किसके पनि अझै पानी नपरेकाले यो वर्ष उत्पादन खस्किने आँकलन गरिएको छ।

वर्षा नहुँदा सिंचाइ अभाव

दसैँयता वर्षा नभएपछि म्याग्दीमा लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ। समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, फापर,आलु ,तोरी लगाएतका हिउँदे बालीलार्ई सिँचाइको अभाव भएको हो।

सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन्। ‘मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारकोजस्तै तलै छन्। यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ’, स्थानीय किसान पदमपाणी शर्माले भने। हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको संकट हुने उनको भनाइ छ।

रत्नेचौर,ज्यामरुककोट,पुलाचौर,सिंगा,भकिम्ली,अर्मन,पाखापानी,दोवा,हिस्तान,ताकम लगाएतका स्थान बढी प्रभावित भएका छन्। यी क्षेत्रमा सिँचाइ नभएको आकाशे पानीमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन्।

माघमै फुल्यो लालीगुराँस

सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेको छ।

यस वर्ष माघ दोस्रो सातादेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगल राता देखिन थालेका छन् भने काफल र ऐँसेलुजस्ता जंगली फल पनि बेमौसममै फल्न सुरु भएको छ। म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जंगलमा लालीगुराँस फुलेको हो।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन्। जिल्लाका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जंगली फलफूल र कन्दमूल पाक्न थालेका थिए। यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमानअर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्ले बताएका छन्।

लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजंगल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ। ‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, बेनी नगरपालिका–२ ज्यामरुककोटका वृद्ध वेदप्रसाद उपाध्यायले भने।

वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।

लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विकले उल्लेख गरे। ‘अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र गुराँस फुलेको देख्नपाइएको छ’, उनले भने।

वातावरणविद् सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्। उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.