|

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो।

५० वर्षीय घलेलाई उनकै श्रीमती ४३ वर्षीया हिताकुमारीले मिर्गौला दिएकी हुन्। दुवै मिर्गौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको देव्रे मिर्गौला प्रत्यारोपण गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।

वैदेशिक राजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको बिदामा गत वैशाखमा नेपाल आएका थिए। नेपाल आएको केही समयपछि उनमा खुट्टा सुनिनेलगायत समस्या देखियो। स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मिर्गौलामा समस्या देखिएपछि केएमसीमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो।

केएमसीले धनराजबाटै पहिलोपटक मिर्गौला प्रत्यारोपण थालेको हो। मिर्गौला प्रत्यारोपणका लागि केएमसीमा विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ।

अब मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतेन्द्रनाथ श्रेष्ठले बताए। ‘विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर केएमसीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेका हौं,’ श्रेष्ठले भने, ‘पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ, अब यसलाई निरन्तरता दिन्छौँ।’

मिर्गौला प्रत्यारोपणका लागि करिब एक दर्जन बिरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ। डा.सुनिल शर्माको प्रवेशपछि केएमसीले नयाँ सेवा विस्तारलाई तीव्रता दिएको हो। डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.