एकजनाको मृत्यु भएपछि कम्पनीले औषधि फिर्ता लिँदै

|

भारतीय औषधी कम्पनीले उत्पादन गरेको आँखामा हाल्ने आई ड्रप प्रयोग गर्दा अमेरिकामा एकजनाको मृत्यु भएको छ।

भारतीय कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले उत्पादन गरेको एज्री केयर नामको आर्टिफिसियल टियर्स लुब्रिकेन्ट (कार्बोक्सिमिथाइलसेलुलोज सोडियम) आँखामा हाल्ने ड्रप प्रयोग गर्ने ५५ जनाभन्दा बढी बिरामीमा संक्रमण देखिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो आर्टिफिसियल टियर्स ड्रप प्रयोग गर्ने अधिकांश बिरामीमा अन्धोपनको लक्षणसमेत देखा परेपछि अमेरिकाले औषधी प्रयोग नगर्न चेतावनी दिएको छ। अमेरिकाको औषधी नियामक निकाय यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले भारतमा बनेको उक्त आई ड्रपको प्रयोगबाट संक्रमण, अन्धोपन र मृत्युसमेत हुने जोखिम रहेको बताएको छ।

अमेरिकाको चेतावनीपछि चेन्नईस्थित कम्पनी ग्लोबल फार्माले बजारबाट औषधी फिर्ता लिने निर्णय गरेको छ। कम्पनीले यस विषयमा अनुसन्धान गर्न अमेरिकी सरकारका एजेन्सीहरूलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ। भारतीय कम्पनीले औषधी निर्माणमा अपनाउनुपर्ने मापदण्डलाई बेवास्ता गरेको आरोप अमेरिकाले लगाएको छ।

एफडिएको चेतावनीपछि भारतीय शहर चेन्नईस्थित उक्त कम्पनीले सो आई ड्रपको उत्पादन बन्द गरेको छ। युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सिडिसी) ले ग्लोबल फर्माले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपको नखोलिएका बोतलहरूको परीक्षण गरेको थियो।

परीक्षणपछि सिडिसीले एफडिएलाई उक्त ड्रपको उपयोग गर्नु जोखिमपूर्ण भएकाले प्रतिबन्ध लगाउन सिफारिश गरेको थियो।

ग्लोबल फर्माले चेन्नईस्थित कारखानामा विभिन्न कम्पनी वा देशसँग गरेका सम्झौताअनुसार औषधी उत्पादन गर्छ र अन्य कम्पनीका माध्यमबाट विदेशी बजारमा औषधी आपूर्ति गर्ने गर्छ।

यो ड्रप भने भारतमा नबेचिने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.