|

चन्द्रौटा : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अहिलेको सरकारको पहिलो प्राथमिकता सुशासन रहेको बताएका छन्। देशमा सुशासन भएमा विकासले फड्को मार्न समय नलाग्ने जिकिर उनको थियो।

नेकपा माओवादी केन्द्र शिवराज नगर समिति कपिलवस्तुले शनिबार चन्द्रौटामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा माओवादीप्रति जनताको भरोसा रहेकोले अहिलेको सरकारलाई धेरै जिम्मेवारी रहेको बताए।

निर्वाचनपश्चात् माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेकोले पार्टीलाई मजबुत बनाउँदै देश र जनताको काममा सबै नेता कार्यकर्ता लाग्न आग्रह गरे। पार्टी कमजोर भएमा एजेन्डाहरूलाई स्थापित गर्न नसकिने भन्दै सबैभन्दा पहिलो काम भनेको पार्टी बलियो बनाउनु रहेको बताए।

मन्त्री मोदीले अहिले सङ्घीय कर्मचारी ऐन ल्याउने विषयमा केन्द्रित रहेको जिकिर गरे। प्रशासनमा बेथितिहरू रहेकाले सुधार गर्दै अन्यायमा परेका कर्मचारीहरूलाई न्याय दिनुपर्नेमा जोड दिए।

‘सुगममा बस्नेहरू दुर्गममा जानै नमान्ने दुर्गममा सेवा गरिरहेका कर्मचारी सधैँ दुर्गममै बस्नुपर्ने अवस्था परिवर्तन गर्न आवश्यक छ,’ मन्त्री मोदीले भने, ‘राष्ट्रसेवक कर्मचारी कुनै दलका हुँदैनन्, उनीहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्छन्।’

कुनै पनि कर्मचारीले जनताको काम नगरेमा खबर गर्न उनले आग्रह गरे। राष्ट्रसेवक कर्मचारी भएर जनताको काम गर्दिनँ भन्न पाउने अधिकार नभएको भन्दै सहज रूपमा नागरिकहरूले सेवा पाउनुपर्ने आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए।

मन्त्री मोदी मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगलगायतको टोलीले कपिलवस्तुको विजयनगरमा विभिन्न क्षेत्रको अवलोकन समेत गर्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.