|

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीय स्थल बसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ।

गाउँपालिकाले वडा नम्बर ४ चापोट जनजाति संग्रहालयदेखि बसन्तापखोरसम्म जोड्ने गरी पदमार्ग बनाउन शुरु गरेको हो। गाउँपालिकाले चालू आर्थिक वर्षबाट पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए।

उपाध्यक्ष थापाले प्रचारप्रचार अभावमा ओझेलमा परेको बसन्तापखोरको प्रचार गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न पदमार्ग निर्माण थालिएको बताए। उनले धेरै संभावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझलमा परेकाले पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको बताए।

उपाध्यक्ष थापा भन्छन्‚ ‘पदमार्गले दुई वटा गन्तव्यलाई जोड्नेछ, तल जनजाति संग्रहालय छ, शिरमा बसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय गन्तव्यलाई जोड्ने हुँदा भविष्यमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेछ भन्ने लागेको छ, अहिले पदमार्ग निर्माणको शुरुवाती चरणमा छौँ, निरन्तर बजेट व्यवस्थापन गर्दै जाने र पदमार्गलाई पूर्णता दिने छौँ।’

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको २ लाख रूपैयाँबाट पदमार्ग निर्माण थालिएको काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले बताए। उनले यस वर्ष करिब २ सय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए।

जनजाति संग्रहालयदेखि करिब १२ सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै–थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसलाई पूर्णता दिने वडाध्यक्ष पुनले बताए।

‘यस वर्ष बजेट निकै थोरै थियो, धेरै काम गर्न नसके पनि शुरुवात गरेका छौँ, केही वर्षमा यसले पूर्णता पाउँछ, चापोटदेखि बसन्तापखोरसम्म पुग्न एक घण्टा पैदल यात्रा गर्नुपर्छ,’ वडाध्यक्ष पुनले भने‚ ‘पदमार्ग निर्माणपछि बसन्तापखोरसम्म पुग्न धेरै सहज हुनेछ, यसले पर्यटन प्रवर्द्धन गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरेका छौँ।’

गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिँड्ने गरेको भन्दै पदमार्गले सहज गराउने उनको भनाई छ। गाउँका बाटाघाटासमेत आफूहरूले व्यवस्थित बनाउन थालेको पुनले बताए।

बसन्तापखोर अग्लो पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ भने बागलुङ लगायतका धेरै ठाउँहरु देख्न सकिन्छ। यस ठाउँमा शौचालय, खानेपानी लगायतको व्यवस्थापन गाउँपालिकाले गरेको अध्यक्ष पुनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.