|

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कुनै पनि कार्यक्रम गर्दा आसन ग्रहणका नाममा समय खर्चिन र आयातित फूल मालाको प्रयोग नगर्न आह्वान गरेका छन्।

उद्योग वाणिज्य संघ पर्वतको मूल आयोजनामा पर्वतमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय सातौँ पर्वत महोत्सवमा बोल्दै उनले यस्तो बताएका छन्। कार्यक्रम समापनको औपचारिक समारोहमा प्रमुख अतिथिका रूपमा बोलाइएका मुख्यमन्त्रीले अधिकारी आसन ग्रहणमा सबैको नाम पढ्दा र हरेक व्यक्तिलाई सम्झिँदा समय खेर जाने भएकाले मुख्य केहीको नाम भने पनि सबैको नाम लिन आवश्यक नरहेको बताए।

‘आसन ग्रहणमा सबैको नाम पढ्नु पर्दैन। यो लामो हुन्छ समय खेर जाने मात्रै हो, घण्टौँ लगाउनुपर्दैन। मन्त्री होस वा अरू कोही भन्नै पर्ने दुई-चार वटा नाम ठिकै हो। सबैको नाम पढ्नु पर्दैन, मञ्चमा बस्नुभएका मन्त्री ज्यूहरू भने भइहाल्यो’, उनले भने, ‘मैले यहाँ देखिरहेको छु सबैले लगाएको माला पनि आयातित नै होला। यहाँको पैसा बाहिर पठाएर आयातित माला केलाई लगाउनुपर्‍यो? हामीसँग यहीँका माला छन् भने लगाऔँ। नत्र माला लगाउनै पर्छ भन्ने के छ र? नलगाए पनि हुन्छ।’

‘पोडियम’ पाउँदासाथ लामा भाषण गरेर नागरिकलाई जबरजस्ती भाषण सुनाउने प्रचलनकाबीच मुख्यमन्त्री अधिकारीले त्यसलाई पनि ‘ब्रेक’ गरे। ‘माइक्रोफोन’ पाएपछि लामै बोल्ने अड्कलकाबीच दर्शकहरू ‘भाषण सुन्न नचाहेको’ भन्दै आपसमा कानेखुसी गर्दै थिए।

समाचार संकलनका लागि पुगेका पत्रकारहरू ‘क्यामेरा’ खोल्ने तयारीमा के थिए, मुख्यमन्त्रीले महोत्सव सफल भएकोमा खुसी व्यक्त गर्दै सबैलाई बधाई र आगामी दिनका लागि पनि सफलताको शुभकामना दिँदै आफ्नो मन्तव्य अन्त्य गरे। मन्तव्यको क्रममा थोरै शब्दमा मात्रै उनले आर्थिक समृद्धि र व्यापार व्यवसायका कुरा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.